जुम बैठकमा सहभागी रास्वपा नेताहरु आक्रोशित, विज्ञप्तिमा सरकारको निन्दा

जुम बैठकमा सहभागी रास्वपा नेताहरु आक्रोशित, विज्ञप्तिमा सरकारको निन्दा
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा पुर्याइएको भन्दै सरकारको निन्दा गरेको छ । दिनभर चितवन जिल्ला सरकारी वकीलको कार्यालयमा बयान गराइएको र सुतेको व्यक्तिलाई मध्यरातमा सडक मार्ग हुँदै चितवनबाट राति ३ बजे पोखरा पुर्याइएको जनाउँदै उक्त कार्यलाई निकृष्ट, निन्दनीय भनेको छ ।

कार्यवाहक प्रवक्त मनिष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारको यो कदम राज्य संयन्त्रको दुरुपयोग गरी एक प्रतिस्पर्धी राजनीतिक दलको नेतालाई विभिन्न बहानामा यातना दिने अमानवीय, अपमानजनक तथा गैरन्यायिक चाल हो । यसैबीच सभापति लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको छ ।’ 

सरकारको उक्त कार्यले नागरिकको नैसर्गिक मानवअधिकार हनन गरेको रास्वपाको ठहर छ । रास्वपाले यसतर्फ राष्ट्रिय मानवअधिकार आयोग एवम् सम्पूर्ण राष्ट्रिय अन्तर्राष्ट्रिय मानवअधिकारकर्मी तथा मानवअधिकारवादी संघ संस्थाहरुको गम्भीर ध्यानाकर्षण गराउने बताएको छ । 

लेखिएको छ, ‘अनुसन्धानमा साथ दिइरहेको एक लोकप्रिय जनप्रतिनिधिलाई अपराधी जस्तो गरी प्रचार गरिनुका साथै सोही स्तरको व्यवहार हुनु नेपालको संविधानको धारा १८, धारा २२ तथा मुलुकी अपराध संहिता, २०७४ को दफा १६७ एवम् यातना र अन्य क्रूर, अमानवीय वा अपमानजनक व्यवहार वा सजाय विरुद्धको महासन्धि, १९८४ विपरीत समेत रहेको तर्फ सम्बन्धित सबैलाई सचेत गराउँछौं ।’

विज्ञप्ति जारीअघि रास्वपाको आकस्मिक सचिवालय बैठक बसेको थियो । भर्चुअल बैठकमा रातारात चितवनबाट पोखरा पुर्याइएको र सो क्रममा लामिछानेको डायरी गायब पारिएको विषयमा छलफल गरिएको बताइन्छ । उपसभापति डिपी अर्यालले डाकेको उक्त बैठकमा सहभागी पदाधिकारीहरुले सरकारप्रति चर्को आक्रोश पोखेको स्रोतको भनाई छ ।

टिप्पणीहरू