अमेरिकी सहायक मन्त्रीको पहिले काँग्रेस सभापतिसँग भेटवार्ता, लगत्तै खुमलटार
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु दुई दिने नेपाल भ्रमणमा मध्यान्ह काठमाडौं आइपुग्दै छन् । मध्य तथा दक्षिण एसिया मामिला हेर्न सहायक विदेशमन्त्री लु श्रीलंकाको राजधानी कोलम्बोबाट मध्यान्ह १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम छ ।
श्रीलंकन एअरलाइन्सको उडान नम्बर युएल १८१ मा आउने लु होटलमा पुगेर दिवा भोजपछि नेपाली काँग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ताको लागि बूढानीलकण्ठ पुग्नेछन् । त्यसपछि ३ बजेको समयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ताको निम्ति दाहाल निवास खुमलटार पुग्ने भ्रमण तालिका रहेको बुझिएको छ ।
त्यहाँबाट भक्तपुर दरबार क्षेत्रको अवलोकनका लागि अमेरिकी सहायकमन्त्री भक्तपुर जानेछन् । उनको बस्ने प्रबन्ध बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा मिलाइएको छ ।
भोलि प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता र अन्य विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् । राष्ट्रपति उपचाररत र पराष्ट्रमन्त्री डा. आरजू राणा देउवा नेदरल्याण्डसको हेग गएकाले औपचारिक भेटवार्ता धेरै नभएको बताइन्छ ।
टिप्पणीहरू