महाङ्काल मन्दिरको चारैतिर परम्परागत शैलीको सत्तल
काठमाडौं महानगरपालिकाले टुँडिखेलस्थित महाङ्काल मन्दिर परिसरको चौघेरामा सत्तल पुनःनिर्माण थालेको छ । सत्तल निर्माणको महानगरकी उपप्रमुख सुनिता डंगोलले आज जग पूजा तथा शिलान्यास गरेकी हुन् ।
परम्परागत शैलीमा चौघेरा सत्तलको पुनःनिर्माण थालिएको जनाउँदै उपमेयर डंगोलले मन्दिरको मौलिक शैली तस्बिरमा मात्र नभई वास्तविकतामा उतार्न लागिएको बताइन् । उनले भनिन्, ‘काठमाडौँका सम्पदाको प्राचीनता र मौलिकता तस्बिरमा होइन, वास्तविकतामा हेर्न मिल्ने बनाउँदैछौँ ।’
प्राचीनता जोगाउन सबै पक्षबाट सहयोग र समन्वयको अपेक्षा राखिएको जनाउँदै उपप्रमुख डंगोलले पुर्खाले दिएको नासो जोगाउने अभिभारालाई सबैले दायित्वमा रुपमा ग्रहण गर्नुपर्नेमा जोड दिइन् । काठमाडौं पूजारी संघका अध्यक्ष एवम् महानगरका पूर्व वडाध्यक्ष नीलकाजी शाक्य मूर्ति सम्पदासँगै अमूत सम्पदा जोगाउन महानगरले गरेका कामबाट नतिजा आएको बताउँछन् ।
महानगरका काममा सरोकारवाला निकायले अवरोध गर्न नहुने उनको धारणा छ । महानगरका अनुसार सत्तल पुनःनिर्माणका लागि २०८० फागुन ४ गते सार्वजनिक सूचना जारी गरिएको थियो । जसअनुरुप पाँच वटा प्रस्ताव पेश भएका थिए । तीमध्ये चार वटाको प्राविधिक प्रस्ताव अस्वीकृत भए । सत्तलको निर्माण अवधि २०८३ असार १९ गतेसम्म तोकिएको छ ।
मन्दिरको पूर्व, उत्तर र दक्षिण भागमा सत्तल हुनेछ । पश्चिमतर्फ पर्खाल र कलात्मक प्रवेशद्वार र सत्तल झिँगटीको छानायुक्त हुने छ । यसको विस्तृत परियोजना प्रतिवेदन सहरी योजना आयोगले तयार पारेको हो ।
टिप्पणीहरू