काँग्रेसमा जिम्मेवारी बाँडफाँड : प्रकाशशरणलाई महिलाहरुको, जीवनलाई दलित
नेपाली कांग्रेसले विभिन्न भातृ संगठनहरुको महाधिवेशन सम्पन्न गर्न ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’ बनाएको छ । सभापति शेरबहादुर देउवाले आज पार्टीको विधान, ०१७ (संशोधनसहित)को धारा २५(९) बमोजिम विभिन्न आठ वटा त्यस्ता समिति गठन गर्नुभएको हो । तीन सदस्यीय नवगठित समितिलाई चैत मसान्तसम्म अनिवार्यरुपमा अधिवेशन सम्पन्न गर्न, गराउन निर्देशन दिइएको छ ।
आज गठित ‘नेपाल दलित संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिमा’ सहमहामन्त्री जीवन परियार संयोजक तोकिएका छन् । केन्द्रीय सदस्य लक्ष्मी परियार र शान्ति परियारले दलित संघको महाधिवेशन गर्न उनलाई सहयोग गर्नेछन् ।
त्यस्तै, प्रवक्ता डा. प्रकाशशरण महतले नेपाल महिला संघको महाधिवेशन गराउने जिम्मेवारी पाएका छन् । उनी संयोजक रहेको ‘महिला संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति’ मा पुष्पा भुसाल र रुक्मिणी कोइराला सदस्य छन् ।
नेपाल किसान संघको महाधिवेशन सम्पन्न गराउन पूर्वमन्त्री तथा केन्द्रीय सदस्य रमेश रिजालको नेतृत्वमा राजेन्द्रकुमार केसी र अन्जनी श्रेष्ठ सदस्य रहेको समिति गठन भएको छ । नेपाल भूतपूर्व सैनिक संघको निर्देशन समितिमा पूर्व मन्त्रीसमेत रहेका केन्द्रीय सदस्य एनपी साउद संयोजक तोकिएका छन् । केन्द्रीय सदस्यद्वय टेकप्रसाद गुरुङ र महेन्द्रकुमारी लिम्बु सदस्य छन् ।
यता, नेपाल लोकतान्त्रिक खेलकुद संघको महाधिवेशन गराउने जिम्मेवारी पूर्वमन्त्री तथा केन्द्रीय सदस्य मोहन बस्नेतलाई दिइएको छ । सो समितिमा केन्द्रीय सदस्य उमेशजंग रायमाझी र गणेश लामा सदस्य छन् । केन्द्रीय सदस्य मधु आचार्यलाई ‘राष्ट्रिय लोकतान्त्रिक अपांग संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति’ को संयोजक बनाइएको छ । समितिमा सरस्वती वजिमय र मदनकृष्ण श्रेष्ठ सदस्य रहका छन् ।
उदयशमशेर राणा नेपाल थारु संघ र गोविन्दराज पोखरेललाई नेपाल प्रजातन्त्र सेनानी संघको महाधिवेशन गराउने जिम्मेवारी तोकिएको छ । थारु संघका लागि गठित समितिमा गोपाल दहित र योगेन्द्र चौधरी तथा प्रजातन्त्र सेनानीमा मुक्ताकुमारी यादव र कान्तिका सैजुवाल सदस्य रहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
टिप्पणीहरू