चिया तथा कफी बोर्डमा हाकिम नियुक्त गरिँदै

चिया तथा कफी बोर्डमा हाकिम नियुक्त गरिँदै

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशक नियुक्तिको प्रक्रिया झण्डै छ महिनापछि पुनः थालिएको छ । बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले छनौट प्रक्रियाका बाँकी कार्यहरु सूचारु गर्ने निर्णय भएको जानकारी दिएको छ ।

यसअघि बोर्डले दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्ता गत असार १९ गते तोकेको थियो । तर, अन्तिम समयमा समितिले स्थगन गरेको हो । समितिले छनौटका प्रक्रिया सुचारु गर्ने निर्णय भएसँगै उम्मेदवारहरुलाई व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्ताका लागि पनि बोलाएको छ । 

त्यसका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा यही पुस ८ गते र ९ गते समयावधि तोकिएको छ । ‘समितिको मिति २०८१–०९–०१ गतेको बैठकबाट छनौट प्रक्रियाका बाँकी कार्यहरु सूचारु गर्ने निर्णय भएबमोजिम उम्मेदवारहरुको कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्ताको मिति, समय र स्थान निर्धारण गरिएको...’ सूचनामा उल्लेख छ ।     

समितिले गत जेठ ८ गते बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि आवेदन माग गरेको थियो । असार २७ गतेसम्म आवेदन पेश गर्ने समय तोकिएकोमा समितिले १३ गते सात जनाको नाम सिफारिस गरेको थियो । गौरव लुइँटेल, नवराज सापकोटा, फाइन्द्रराज पाण्डे, मनोज बस्नेत, राजेन्द्र श्रेष्ठ, रामचन्द्र ढकाल र डा.विष्णुप्रसाद भट्टराई सिफारिसमा परेका छन् ।

टिप्पणीहरू