हिरासतमा डा.निकोलसलाई कसले हुल्यो ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा सुतिराखेको भनिएको एउटा तस्वीर यतिबेला सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छ । तस्वीरमा एकजना व्यक्ति ओछ्यानमा सुतिरहेको देखिन्छ भने छेउमा रहेको टेबलमाथि केही पुस्तक छन् ।
हिरासतजस्तो देखिने कोठामा सिरक ओढेर एक जना सुतिरहेको उक्त तस्वीरबारे प्रहरीले आधिकारिक रुपमा प्रष्ट नपर्दै सामाजिक सञ्जालमा भने 'रविको फोटो' भनेर भाइरल बनाइएको छ । रास्वपाका नेता-कार्यकर्ता र समर्थकले उक्त फोटो आफ्ना सभापतिकै भएको दावी गर्दै हिरासतमा रहेका व्यक्तिको तस्वीर बाहिर ल्याएको भन्दै आपत्ति जनाइरहेका छन् ।
आखिर हिरासतमा रहेका रविको फोटो कसले खिच्यो र कसरी सार्वजनिक भयो ? प्रश्न उठिरहँदा आफूलाई सामाजिक अभियन्ता दावी गर्ने निकोलस भुसालले तस्वीर सार्वजनिक गरेको खुलेको छ । उनले दुई दिनअघि तस्वीर सार्वजनिक गर्दै 'नागरिक विद्रोह'मा सहभागी हुन अपील गरेका थिए । भुसालले अहिले फेसबुकबाट उक्त फोटो हटाइसकेका छन् ।
भुसालले ‘क्यामेरामा भए पनि हेर्न मिल्छ होला नि’ भनेर अड्डी कसेपछि प्रहरीले सिसिटिभीमा देखाएको थियो । सोही बेला उनले आफ्नो मोबाइलबाट तस्वीर खिचेको बुझिएको छ ।
उनी आफैँले यसबारे पुष्टि गर्दै भनेका छन्, ‘यो फोटो मैले नै खिचेको हो । गल्ती भएको हो,माफी चाहन्छु । कसैलाई दोष लगाउने खराब नियत थिएन । भ्रममा नपर्न अनुरोध । म स्वास्थ्य अवस्था बुझ्न र हौसला प्रदान गर्न गएको थिएँ ।’
बताइएअनुसार भुषाल केही दिनअघि लामिछानेलाई भेट्न कास्की हिरासतमा पुगेका थिए । तर, त्यतिबेला लामिछाने सुतिरहेको कारण प्रहरीले भेट्न दिएन । भुसालले ‘क्यामेरामा भए पनि हेर्न मिल्छ होला नि’ भनेर अड्डी कसेपछि प्रहरीले सिसिटिभीमा देखाएको थियो । सोही बेला उनले आफ्नो मोबाइलबाट तस्वीर खिचेको बुझिएको छ ।
यो घटनाले हिरासतभित्र आरोपितलाई भेट्न गएका व्यक्तिलाई मोबाइल लैजान किन दिइयो ? भन्ने प्रश्न उठेको छ । यसबारे अनुसन्धान गरिरहेको बताउँदै कास्की प्रहरीले भनेको छ, ‘हामीले पनि सामाजिक सञ्जालमा फोटो देखेर थाहा पायौँ, उहाँ (भुसाल)ले कसरी फोटो लिन भ्याउनु भयो ? मोबाइल कसरी भित्र लग्नुभयो ? हामी अनुसन्धान गरिरहेका छौँ ।'
लामिछानेको तस्वीर भाइरल भएपछि रास्वपाका नेता तथा कार्यकर्ताले भने प्रहरी प्रशासनमाथि प्रश्न उठाइरहेका छन् । ‘रवि हिरासत कक्षमा सुतेको सीसीटीभीको यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेको होला ?’ केन्द्रीय सदस्य दिपक बोहराले प्रश्न गरेका छन् ।
के उद्देश्यका लागि फोटो सार्वजनिक गरियो ? प्रश्न गर्दै उनले भनेका छन्, 'कति हो यो फोटोको मूल्य ? न्याय मरेको छैन भने कसैले न कसैले त यसको मूल्य चुकाउनु पर्ला ।’
टिप्पणीहरू