पत्रकारको चुनाव,खुमलटारमा खादा
प्रेस सेन्टरको तर्फबाट नेपाल पत्रकार महासंघको निर्वाचन जित्नेहरुलाई नेकपा माओवादी केन्द्रले सम्मान गरेको छ।
महासंघको केन्द्र,प्रदेश र जिल्ला शाखाका विभिन्न पदमा निर्वाचितहरुलाई आज बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा सम्मान गरिएको हो । उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटा,उपाध्यक्ष पम्फा भुषाल, सचिव लीलामणी पोखरेल,पत्रकार महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्यलगायतले खादा ओढाएर बधाई तथा शुभकामना दिएको प्रेस सेन्टरले जनाएको छ ।
महासंघको नयाँ नेतृत्व चयनका लागि गत मङ्सिर २८ सम्पन्न निर्वाचनबाट केन्द्रीय कोषाध्यक्ष,तीन प्रदेश र १५ जिल्ला अध्यक्षमा प्रेस सेन्टरका उम्मेदवारहरु निर्वाचित भएका छन् ।
त्यस्तै, प्रेस सेन्टरको समर्थनमा उम्मेदवार बनेका अन्य संगठनका सात जनाले जिल्ला अध्यक्ष जितेका छन् । सत्ताधारी नेपाली कांग्रेसको प्रेस युनियन र एमाले सम्वद्ध प्रेस चौतारीबीच देशभर गठबन्धन हुँदा पनि उल्लेखनीय जित हात पारेको भन्दै माओवादीपंक्ति उत्साहित देखिन्छ ।
प्रेस युनियनका विद्रोही रमेश विष्टलाई केन्द्रमा अध्यक्ष उठाएर समाजवादी प्रेस संगठनलगायत स्वतन्त्र पत्रकारहरुको समर्थनमा प्रेस सेन्टर चुनावमा होमिएको थियो ।
टिप्पणीहरू