रविको फोटो भाइरल बनाउने डा. निकोलसलाई समात्ने तयारी

रविको फोटो भाइरल बनाउने डा. निकोलसलाई समात्ने तयारी
सुन्नुहोस्

हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको तस्वीर सार्वजनिक भएको विषयमा प्रहरीले प्रतिक्रिया दिएको छ । 

जिल्ला प्रहरी कार्यालय कास्कीले विज्ञप्ति जारी गर्दै प्रहरीको व्यावसायिकतामा आँच आउनेगरी सामाजिक सञ्जालमा सम्प्रेषण भएको तस्वीरप्रति ध्यानाकर्षण भएको जनाएको हो । तस्वीर खिच्ने र सार्वजनिक गर्ने डा. निकोलस भुसाललाई कारवाही गर्ने प्रहरीको भनाई छ । 

डिएसपी वसन्तकुमार शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरको तथ्यपूर्ण अनुसन्धानलाई समेत नकारात्मक प्रभाव पार्नेगरी डा.  निकोलस भुसालको फेसबुक पेजबाट प्रकाशित भई प्रहरीको व्यावसायिकतामा आँच आउने किसिमले विभिन्न सामाजिक सञ्जालहरूमा सम्प्रेषण भएको अनधिकृत तस्वीरप्रति यस जिल्ला प्रहरी कार्यालय कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

भुसालले लामिछानेको तस्वीर सार्वजनिक गरेर सूचनाको हकसम्बन्धी ऐन, २०६४ मा व्यवस्था भएबमोजिम अपराध अनुसन्धान, तहकिकात तथा अभियोजनमा गोपनीयता कायम गर्नुपर्ने व्यवस्था र प्रचलित साइबर अपराधसम्बन्धी कानुनी प्रावधानलाई समेत उल्लंघन गरेकाे प्रहरीको ठहर छ । 

अहिले भुसालको खोजी कार्य भइरहेको जानकारी दिँदै डिएसपी शर्माले भने, ‘जो कोही व्यक्तिलाई पनि कानुनी दायरामा ल्याई कानुनबमोजिम अनुसन्धान तथा कारबाही गरिने र नेपालको संविधान एवं प्रचलित ऐन कानुनबमोजिम फौजदारी न्याय प्रणालीका मूल्य–मान्यताको अनुशरण गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्की सदैव प्रतिबद्ध रहेको  व्यहोरा अनुरोध गर्दछ ।’

गोपनीयता कायम राख्नुपर्ने विषयमा संवेदनशील रही सूचना र समाचार सम्प्रेषण गरी अनुसन्धान कार्यमा सहयोग गर्न प्रहरीले सबैलाई आग्रह पनि गरेको छ ।

टिप्पणीहरू