महासचिवको नाम जोड्दै तल तान्ने दाउ
बुटवलस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) लुम्बिनी प्रदेश कार्यालय दाङ सार्न खोजेपछि कर्मचारीहरू विरोधमा उत्रिएका छन् । परिषद्का निमित्त प्रमुख यादव सुवेदीले आफूलाई घरपायक मिलाउन कार्यालय सार्न दौडधुप गरिरहेको पाइएको छ । परिषद्को बाँकेको कोहलपुरमा आफ्नै भवन र बुटवलमा मुख्य कार्यालय छ । दाङमा सम्पर्क कार्यालय पनि छ ।
एमाले महासचिव शंकर पोखरेलको नाम जोडेर निमित्त प्रमुखले दाङमा मासिक १ लाख भाडा तिर्ने गरी घर व्यवस्थापन गर्न खोजेका छन् । कर्मचारी भने कार्यालय सार्नैपरे आफ्नै भवन रहेको कोहलपुरमा सार्नुपर्ने अडानमा छन् । परिषद् संघीय सरकार मातहतको कार्यालय हो ।
सिटिइभिटीले नर्सिङ, इञ्जिनियरिङलगायत कलेजको भर्ना, अनुगमन तथा परीक्षा सञ्चालन गर्छ । यसअन्तर्गतका अधिकांश नर्सिङ र इञ्जिनियरिङ कलेज सबै रूपन्देही आसपास छन् ।
कर्मचारीले बुटवलबाट कार्यालय सार्ने भए आफ्नै भवन रहेको कोहलपुर नै लैजान सुझाव दिए पनि सुवेदीले एमाले महासचिवको आडमा दाङ सार्न चलखेल गरिरहेका हुन् ।
तत्कालीन निर्देशक महेश भट्टराईसहितको टोलीले परिषद्को बुटवल कार्यालयलाई दीर्घकालीन रूपमा रंगशालाको भवनमा र तत्कालका लागि तामनगरस्थित कोरिया नेपाल बहुप्राविधिक शिक्षालयमा राख्ने गरी प्रतिवेदन बनाएको थियो । संघीय सरकारबाट परिषद् कार्यालय सार्न कुनै निर्णय वा निर्देशन छैन ।
‘हाकिम सावले किन खर्च बढाउन खोज्नुभएको हो, हामीले बुझेका छैनाैँ, निःशुल्क घर–जग्गा पाउँदा पनि सार्नैपर्ने अवस्था किन आयो खोइ !’ एक कर्मचारीले भने ।
नेपाल निजी प्राविधिक शिक्षालयका पूर्वकेन्द्रीय अध्यक्ष वसन्तराज खनालले सिटिइभिटी अन्तर्गतका अधिकांश कलेज यही क्षेत्रमा भएकाले अनुगमन बुटवलबाटै सजिलो हुने बताए । दाङ सार्नुपर्ने कुनै कारण नभएको खनालको दाबी छ ।
प्राविधिक शिक्षालय फोरम लुम्बिनीका पूर्वअध्यक्ष गोविन्द खनालको भनाइमा सिटिइभिटीको सम्बन्धन पाएका अधिकांश कलेज यही क्षेत्रमा रहेको र विद्यार्थी पनि धेरै यतैका भएकाले त्यसको नियामक निकायले यो क्षेत्र छाड्न खोज्नु अनुचित हो । कर्मचारीका अनुसार अहिले यो कार्यालयअन्तर्गत ७० वटा प्राइभेट कलेजमध्ये अधिकांश र धेरै विद्यार्थी पनि यही क्षेत्रका छन् ।
टिप्पणीहरू