वीरको टेण्डर विवाद : उपकुलपतिले तलकालाई देखाउने, निर्देशक सम्पर्क बाहिर बस्ने
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति डा. भुपेन्द्र बस्नेत वीर अस्पतालमा चमेना गृह सञ्चालनको टेण्डर विवादमा आफू संलग्न नरहेको भन्दै टकटकिएका छन् । चमेना गृह सञ्चालनका लागि सात वटा फर्म छनोट भएकोमा प्रतिष्ठानले आधारभूत मापदण्डसमेत पूरा नगरेको फर्मलाई आशयपत्र दिएपछि टेण्डर प्रक्रिया नै विवादमा परेको छ ।
तर उपकुलपति बस्नेत भने चमेना गृह सञ्चालनको लागि दिइएको आशयपत्रको बारेमा आफूलाई केही थाहा नभएको जनाउँदै पन्छिएका छन् । फर्म छनोटसम्बन्धी कार्याविधिमा ‘विवाद उठेमा प्रतिष्ठानका उपकुलपतिको निर्णय दुवै पक्षको लागि मान्य र अन्तिम हुनेछ’ भनेर स्पष्ट उल्लेख गरिएको छ ।
चमेना गृह सञ्चालनको निम्ति १२ वटा फर्मले प्राविधिक तथा आर्थिक प्रस्ताव फारम खरिद गरेकोमा अनुगमन तथा मूल्याङ्कन समितिले सात वटा फर्मलाई छनोट गरेको थियो । समितिले फर्महरुको स्थलगत अनुगमन गरेर सबैभन्दा बढी अंकभार जि एण्ड बि क्याफेलाई दिएको देखिन्छ । त्यस्तै, दोस्रोमा आर.एस मल्टिप्रपोज प्रा.लि, तेस्रो नम्बरमा नारायणी चमेनागृह, चौथो नम्बरमा गुजेश्वरी होटल प्रा.लि र क्रमशः ग्रिनवर्डस बेकरी क्याफे, सुनिल क्यान्टिन र शिवांश फूड क्याटरिङ छन् । तर प्रतिष्ठानले अंकभारको आधारमा पहिलो नम्बरमा रहेको फर्मको सट्टा चौथो नम्बरमा रहेको गुजेश्वरी होटल प्रा.लिलाई आशयपत्र दिएको छ । जबकि, गुजेश्वरीले छनोटको निम्ति पूरा गनुपर्ने आधारभूत मापदण्डसमेत पूरा नगरेको बताइन्छ ।
आधारभूत मापदण्ड पूरा नगरेको फर्मलाई कसरी छनोट गरियो ? र, कसरी आशयपत्र दिइयो ? भनेर जनआस्थाले प्रतिष्ठानका उपकुलपति डा. बस्नेतसँग जिज्ञासा राखेको थियो । जवाफमा उनले भने, ‘त्यो मलाई थाहा भएन । यो सबै निर्देशक (डा. सन्तोष पौडेल) लाई थाहा होला । मूल्याङ्कन समितिले दिएको अंकभार र छनोट प्रक्रिया उहाँलाई नै थाहा छ ।’
कार्यविधिमा उपकुलपतिको निर्णय अन्तिम हुने भनिएको छ, यो त जिम्मेवारपूर्ण भूमिका भयो र ? भन्ने जनआस्थाको प्रतिप्रश्नमा उनले फर्काए, ‘त्यो त हो, तर यो विषयमा निर्देशकलाई नै थाहा छ, उतै कुरा गर्नुस् ।’
त्यसपछि बस्नेतले आफूलाई केही थाहा नभएको दाबी गर्दै फोन राखिदिए । निर्देशक पौडेललाई सम्पर्क गर्न खोजेको जनआस्थाको प्रयास भने सफल हुन सकेन । उनको मोबाइल नम्बरमा डायल गर्ने बितिक्कै ‘सम्पर्क हुन सकेन’ भन्ने दूरसञ्चार सिष्टमको जवाफ आउने गरेको छ ।
टिप्पणीहरू