शुक्रबारसम्ममा रविबारे आदेश आउने सम्भावना
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा जिल्ला अदालत कास्कीमा बयान जारी छ । रविलगायत आधा दर्जनमध्ये एक जनाको बयान आज सकिएर सम्भवतः आजै अपरान्हदेखि थुनछेक बहस हुनसक्छ ।
थुनछेक बहस सकिएपछि ढिलोमा शुक्रबारभित्र आदेश आउने अदालत स्रोतले जानकारी दियो । यता,रविका समर्थकहरुले युट्युब, टिकटकलगायत सामाजिक सञ्जालमा ट्रोल गर्दै ‘राईको छोरोले न्याय दिने’ हल्ला पिटाएका छन् । कात्तिक २ गते काठमाडौंमा पक्रेर पोखरा पुर्याइएपछि सरकार,प्रमुख राजनीतिक दलका नेता तथा स्वयम् न्यायाधीशहरुमाथि अनेक लाञ्छना लगाउन तल्लिन उनीहरुले गत सातादेखि न्यायाधीश नितिज राईको हकमा सामाजिक सञ्जालमा प्रशंसाको बाढी चलाएको देखिन्छ ।
कान्छा न्यायाधीश राईसँग सर्वोच्च अदालतको प्रशासनमा लामो समय बसेको अनुभव छ । उनी अधिकृत हुँदा गोपाल पराजुलीको सचिवालयमा थिए । उनका बुबा पनि न्यायाधीश रहेको र २०६५ तिर अवकाश पाएको बताइन्छ । उनका सबै सोसल साइट बन्द अवस्थामा छन् यसर्थ अहिले जिल्ला अदालतको वेवसाइटमा राखिएको उनको फोटो झिकेर टिकटक र युट्युबमा प्रचार गर्न थालिएको छ ।
गत कात्तिकमा न्यायाधीश कृष्णजंग शाहले पक्राउ पुर्जी जारी गरेपछि सामाजिक सञ्जालमा रवि समर्थकहरुले उनको दोहोलो काढेका थिए । कतिपयले उनको परिवारलाईसमेत थर्काएपछि पुलिसले सुरक्षा दिनुपरेको थियो ।
मुलुकी फौजदारी कार्यविधि संहिताको ७३ नम्बरका आधारमा जिल्ला अदालतले पुनरावेदनको मार्ग प्रशस्त गर्दै पुर्पक्षको निम्ति खोरमा पठाउने सम्भावना सबैभन्दा बढी देखिन्छ । संगठित अपराध अन्तर्राष्ट्रिय अपराध भएकाले यो आरोपमा धरौटीमा छुुट्ने सम्भावना निकै क्षीण हुन्छ ।
यता सासू आमा बित्दा पनि न्यायाधीश राई पोखराबाट काठमाडौं आउन सकेका छैनन् । ललितपुरको सातदोबाटोमा बस्दै आएकी श्रीमतीलाई आमा बितेको दुःखमा समेत भेटेर सान्त्वना दिन नपाएको अवस्था छ । ‘अहिलेको अवस्थामा मुद्दा नछिनी भाग्यो भन्ने आरोप लाग्छ भनेर मात्रै न्यायाधीश काठमाडौं नआएका हुन्,’श्रोतको दाबी छ । राईको पुर्ख्यौली थलो ओखलढुंगा हो ।
थुनछेक बहसपछिको सम्भावित आदेशबारे पनि अनेक अड्कल काटिँदै छ । स्रोत भन्छ, ‘रविलाई यस्तो आरोप लागेको छ कि जिल्ला न्यायाधीशहरुले सामान्यततया धरौटीमा छुटाउने हिम्मत गर्दैनन् ।’
यसनिम्ति रविका नेता तथा कार्यकर्ता र समर्थकले न्यायाधीश र न्यायालयलाई चेतावनी दिँदै आन्दोलन गर्नु नै महाभूल भएको बताइन्छ । बेतुकको आन्दोलन नगरेर अनुसन्धानमा सघाउँछौं भनेको भए अहिले परिस्थिति अर्कै हुनसक्ने रास्वपाका नेताहरुको निचोड छ । एक जना नेताले कुरै कुरामा भने, ‘हाम्रा कार्यकर्ताले गुलेली ताकेर बसेको न्यायाधीशहरुले देखेका छन् नि ।’
मुलुकी फौजदारी कार्यविधि संहिताको ७३ नम्बरका आधारमा जिल्ला अदालतले पुनरावेदनको मार्ग प्रशस्त गर्दै पुर्पक्षको निम्ति खोरमा पठाउने सम्भावना सबैभन्दा बढी देखिन्छ । संगठित अपराध अन्तर्राष्ट्रिय अपराध भएकाले यो आरोपमा धरौटीमा छुुट्ने सम्भावना निकै क्षीण हुन्छ ।
अर्कोतर्फ तीन वर्षभन्दा बढी कैद सजाय हुने अभियोगमा धरौटीमा नछुटाउने अदालती मान्यता रहिआएको छ । त्यसैले रविलगायतलाई संगठित अपराधमा पुर्पक्षमा पठाउने निश्चित रहेको धेरैको विश्लेषण छ । अर्कोतर्फ धरौटीमा छुटाउने आदेश भएमा सवा अर्ब नै तिर्न पर्दा पनि रविका हकमा दु:ख नहुने रास्वपाका नेताहरुको दाबी छ ।
अर्का एकथरीले यो मुद्दालाई न्यायाधीश नितिजको अग्नि परीक्षाको रुपमा पनि लिएका छन् । गत वर्ष विनोद चौधरीका दाजुभाइले हडपेको बाँसबारीको जग्गा काण्डमा मुद्दा दुई दिनभित्र बुझाउन आदेश दिएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञ आचार्यलाई मुगुु धपाइएको थियो । त्यसैगरी मीनबहादुर गुरुङलाई छाडेवापत कर्णाली पुर्याइएका भोला ढकाललाई कास्की र आचार्यलाई अहिले केही महिनापछि मधेश प्रदेश ल्याइसकिएको छ ।
पहिलेका कतिपय मुद्दा फरफारकमा तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठका पिए राजकुमार भट्ट मुछिने गरेका थिए । ती भट्ट र रविका पिए दीपक बोहोरा दुबै डडेलधुराका हुन् । अहिलेका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले ती भट्टलाई हटाएर सचिवालयमा नयाँ सेट खडा गरेका छन् ।
टिप्पणीहरू