हरेक प्रस्ताव रिजेक्ट हान्ने अपराध गर्दैछु म

अभागी खप्पर, जता जान्छु उतै ठक्कर । सानैमा आमा बितिन्, बुवाले आमा भएर हुर्काउनुभयो, बढाउनु र पढाउनुभयो । ठूलो भएँ, ५ दाजु भाइ अटेको घरमा मचाहिँ अटिनँ । त्यो घर मेरै कारण साँघुरो भएझैँ गर्न थाल्नुभयो आफन्तले । ठूलो भएपछि छोरी पराइ घर जानैपर्ने रीत । विवाह गर्न मानिनँ, त्यही अपराध भयो । त्यही कारण घर ‘घर’ जस्तो रहेन । धेरै पढ्ने इच्छा थियो । त्यही कारण करिअर सम्झेर विद्रोह गरेँ । सायद आमा भइदिनुभएको भए मेरो विद्रोही मनलाई बुझ्नुहुन्थ्यो ।
म तीन वर्षको हुँदा उहाँ बित्नुभयो । आमाको माया सानैमा दैवले खोसेर लगेपछि टुहुरा भएका हामीलाई बुवाले जसोतसो हुर्काउनुभयो । समाजमा कहानी सुनिन्थ्यो श्रीमती बितेको ४५ दिनमै श्रीमान्ले अर्की भित्र्याउँछन् तर अपवाद बुवाले कान्छी ल्याउनुभएन । ६ जनाको छानो बनेर हुर्काउनु, बढाउनु, पढाउनुभयो । तर, आमाबिनाको परिवार चमकबिनाको दियोजस्तै हुनेरहेछ । ०७८ सालमा गाउँकै विद्यालयबाट एसएलसी उत्तीर्ण गरेँ । गाउँकै स्कूलबाट प्लस टु पार लगाएँ । काठमाडौं गएर थप पढ्न चाहन्थेँ तर आर्थिक स्रोतबिना कसरी पढुँ ? पढ्न बन्द गरेर विवाह गर्न परिवारबाट दबाब आयो । बुवा, दाइ सबैले बिहे गर भनेर कचकच गर्न थाले ।
आमाबिनाको घर सैतानको डेराजस्तो लाग्न थाल्यो । काठमाडौंबाट एउटा धनाढ्य गाडी लिएर घरमै माग्न आयो । पछि थाहा भयो फुपूले पठाउनुभएको रहेछ । ‘अहिले बिहे गर्दिनँ, पढ्छु’ भनेँ । केटाले बिहेपछि पढाइदिन्छु भन्यो । मैले इन्कार गरेँ । केटी माग्ने र लैजाने उनीहरूको बहाना मात्र थियो यो । दुलही बनाएर भित्र्याएपछि घरभित्रै धन्दामा दलाउने यो नेपाली समाजदेखि म धेरै पर बस्न चाहन्थेँ । र, त्यसैले सरकारी जागिरे, नेपाली सेनामा कार्यरत केटो, व्यापारी हुँ भन्दै माग्न आउँदा पनि मान्दै मानिनँ । यति राम्रो कुटुम्ब पाउँदा पनि नमानेपछि बुवाले ‘घर छाडेर जा’ भन्दै बचन लगाउनुभयो । बुवाबाटै यस्तो वचनवाण प्रहार भएपछि परिवारको बोझ बनेर कति बसुँ ? अनि परिवारदेखि टाढिएँ । कैयौँपटक काल खोज्न गएँ तर कालले लगेन मलाई । बुवा, दाजु भाइहरूले बोल्न छाडे । घर ‘घर’ जस्तो लाग्न छाड्यो । जाने ठाउँ कहीँ कतै थिएन । काठमाडौँ आएँ ।
नेपालटारमा फुपू हुनुहुन्थ्यो । त्यहाँ आएपछि गाउँघरबारे सोधपुछ हुने नै भयोे । मैले सबै ठीकै छ भनेँ । परीक्षा सकिएपछि केही दिन घुम्न आएको भनेर फुपूलाई ढाँटेँ । केही दिन नबस्दै फेरि हात माग्न आए । म छक्क परेँ, ‘जता गए पनि यी पिचासहरूले नछाड्ने भए ।’ फुपूले ‘लाहुरे परिवारको हो, खान्दानी छन्, जीवनभर सुखसँग बस्न पाउँछेस् । अब त तेरो उमेर पनि हो’ भन्दै सम्झाउन थाल्नुभयो । तर, मैले पढेर केही गर्नु छ, अहिले बिहे गर्दिनँ भने । फुपूले बिहे गरेपछि पनि जे भन्छेस् त्यही पढाइदिन्छन् रे भन्दै फकाउन थाल्नुभयो । मलाई थाहा थियो, ‘यो त भैँसीको आङमाथि चढेर मुखतिर घाँस देखाई हिँडाउने उपाय हो ।’ फुपूले पनि निकै बचन लगाउनुभयो ।
बिहे भनेको करकाप र सम्पत्तिमा हुने हो र ? बिहे परिवारको खुशीका लागि गर्ने हो र ? बिहे समाजमा देखाउनलाई गर्ने हो र ? बिहे भनेको पुरुषलाई मात्रै सुख दिन हो ? अनि महिलाको सुख ? के महिला भनेको खाली सन्तान उत्पादन गर्ने यन्त्र मात्र हो ? बिहे आफू खुशी हुनु मात्र होइन दुवै खुशी हुन गर्ने हो । त्यसका लागि एकअर्कालाई चिनेको हुनुपर्छ । भनाइ छ नि– मान्छे जोख्नु एकचोटी, खसी जोख्नु सय चोटी । केटी मान्छे त खसी बाख्रा होइन होला नि मोलमोलाई गर्नलाई ! तर, समाजले केटीलाई खाली मोलमोलाइ गर्ने वस्तु सम्झिने रहेछ ।
घरपरिवार मात्र होइन, फुपूले समेत खसी बाख्रा सम्झनुभएपछि केही नभनी बेलुकी दिदीको (कान्छा बुवाको छोरी) को घरमा गएँ । उनैले आश्रय दिइन् । पेशाले स्टाफ नर्स हुन्, वीर अस्पतालमा कार्यरत छिन् । गौरीघाट बसाइ, पशुपति क्याम्पसमा भर्ना भएर पढ्न थालेँ । बिहान कलेज, दिउँसो एउटा कन्सल्टेन्सीमा काम गर्थें तर कामअनुसारको ज्याला नपाएपछि छाडेँ । अरुतिर कामको खोजी गरेको महिनौं बित्यो तर भनेजस्तो नपाइने । कोठाभाडा, पकेट खर्च दिदीले दिनुहुन्छ तर हात पसार्न लाज लाग्ने । त्यही कारण पकेट खर्चकै लागि कामको खोजीमा थिएँ । अहिले एउटा पार्लरमा काम पाएकी छु ।
यो स्वार्थी शहरमा यदी दिदी नभएको भए हालत के हुन्थ्यो होला ? साथ दिने दिदी र कान्छो भाइ छ । ऊ नै मेरा लागि सबथोक हो । मेरो मनको व्यथा बुझिदिने, आफैंलाई भन्दा माया गर्ने ऊबाहेक अरु कोही छैन मेरा लागि । गाउँघरको हालखबर दिने, मलाई अघि बढ्न प्रेरणा दिने उसैले हो । गाउँ छाडेपछि फर्केर त्यो माटोमा पाइला टेक्दिनँ भनी हिँडेको मलाई भाइले अनेक तरहले सम्झायो, फकायो । बुवालाई पनि उसैले फकायो । र, दशैँमा घर गएँ । एक हप्ता गाउँ बसेर आएँ । भाइले सम्झाएको हुनाले बुवाले केही भन्नुभएन । तर, दाइले नमीठो बचन लगाउनुभयो, ‘तँ जिउँदै मरेकी होस् हाम्रोलागि, किन आएको ?’ बरु गोलीको वाण लागे औषधोपचार होला, वचनको घाउ निको नहुने रहेछ ।
मेरो विवाहकै विषयलाई लिएर कान्छो भाइ र दाइबीच लडाइँ नै पर्यो । दाइले मलाई यस्तो बचन लगाएपछि भाइले सहन सकेन । जाइलाग्यो । मेरो कारण दाजुभाइ लडेको देख्दा मन कटक्क खायो । अनेक रोइकराइ गरेपछि दुवै साम्य भए । त्यसको भोलिपल्टै म बुवा र भाइसँग बिदा मागेर काठमाडौं फर्कें । अब गाउँ फर्कन मन छैन, पुग्यो । गाउँबाट फर्केर काठमाडौं आउँदा छेउमा गाउँकै दिदी कोठा सरेर आउनुभएको रहेछ । उहाँ पनि मजस्तै पीडित । जबर्जस्ती बिहे गरेर गएपछि श्रीमान्ले फिटिक्कै माया नगर्ने । घरमा माग्न आउँदा जे भन्छ्यौ त्यही पढाइदिने भनेर बिहे गरेकी उनै दिदी बिहे गरेको केही दिनमै श्रीमान्सँग डिभोर्स गर्न बाध्य भएकी रहिछन् । त्यसपछि काठमाडौं आएकी, अहिले ब्युटीपार्लर चलाइरहेकी छन् ।
उनै सपना दिदीकोमा काम गर्न थालेको छु । उनी कोठामा ब्वाइफ्रेन्डसँग बस्छिन् । ऊसँगै पढेको साथी हो । केटाले दिदीलाई खुबै माया गर्छ । घरभित्र र बाहिर सघाउँछ । दिदीले पनि खुबै माया गर्छिन् । परिवारले नमान्दा दिदीले त्यतिबेला जबर्जस्ती अर्कै केटासँग बिहे गरे पनि अहिले उनले आफैँले चाहेको केटासँग बस्न पाएकी छन् । केही पैसा कमाएर बिहे गर्ने रे ! यो पो हो त प्रेम र विवाह । दुवैले एक अर्कालाई बुझेका छन् । गल्ती भए पनि माफी दिएकै छन् । यदि, सपना दिदी त्यही पहिलेकै केटासँग हुन्थिन् भने उनको जिन्दगी अहिलेजस्तो रंगीबिरंगी हुन्थ्यो त ? ती दिदी पनि मलाई आफ्नो व्यथा सुनाएर दह्रो बन्न सुझाव दिन्छिन् । हामी दुवैको कथाव्यथा एउटै छ, भोगाइ छुट्टै ।
मलाई सपना दिदीझैँ व्वाई फ्रेण्ड राख्नु छैन, त्यस्तै जिन्दगी चाहिएको पनि होइन । म त आफ्नै खुट्टामा उभिएपछि मात्र विवाह गर्न चाहन्छु, यस्तो चाह राख्नु मेरो अपराध हो ? हो, भने जबसम्म आफ्नो खुट्टामा उभिन सक्दिनँ, हरेक विवाहको प्रस्ताव रिजेक्ट हानिरहन्छु, त्यही अपराध दोह्रोर्याइरहन्छु ।
– पार्वता न्यौपाने
टिप्पणीहरू