रक्षा मन्त्रालयको त्रुटीपूर्ण निर्णय सच्चाउन अमेरिकालाई चीनको आग्रह
संयुक्त राज्य अमेरिकाले केही चिनियाँ फर्महरुलाई सैनिक कम्पनीको आक्षेप लगाएपछि भनेकोमा चीनले आपत्ति जनाएको छ । चिनियाँ वाणिज्य मन्त्रालयले अमेरिकी रक्षा मन्त्रालयले केही चिनियाँ कम्पनीलाई सैनिक कम्पनीको सूचीमा राखेपछि चीनको असन्तुष्टी बाहिर आएको छ ।
मन्त्रालयको वक्तव्यमा भनिएको छ, ‘अमेरिकाले चिनियाँ फर्महरुलाई अन्यायपूर्ण तरिकाले दमन गर्न विश्व व्यापार संगठनको नियम र बजार सिद्धान्तविरुद्ध राष्ट्रिय सुरक्षालाई अपव्याख्या गरेको, राज्य शक्तिको दुरुपयोग गरेको र चीनको सैनिक नागरिक एकीकरण रणनीति विरुद्ध आधारहीन आरोपहरु लगाएको छ ।’
अमेरिकाको उक्त कदमले अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापार व्यवस्थालाई बिथोलेको भन्दै चीनले विश्वको औद्योगिक तथा आपूर्ति श्रृंखलालाईसमेत नजरअन्दाज गरेको ठहर गरेको छ ।
चीनले अमेरिकालाई पुनः एक पटक तथ्य र प्रचलित कानुनको सम्मान गर्न, आफ्ना गलत व्यवहार रोक्न र चिनियाँ फर्महरुलाई उचित, न्यायपूर्ण तथा भेदभावरहित व्यवहार गर्न आग्रह गरेको छ । अमेरिकाको पछिल्लो निर्णयलाई आफूले नजिकबाट नियालिरहेको उल्लेख गर्दै आफ्ना कम्पनीहरुको हित र वैधानिक अधिकारको रक्षा गर्न आवश्यक कदम चालिने चीनको दृढ अडान छ ।
चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार यो साताको शुरुमा अमेरिकी रक्षा मन्त्रालयले बृहत चिनियाँ प्रविधि कम्पनी टेन्सेन्ट तथा ब्याट्री निर्माता सिएटीएललाई चिनियाँ सैनिक कम्पनीको सूचीमा समावेश गरेको छ । त्यसपछि ती दुवै कम्पनीले अमेरिकाको उक्त कदमलाई ‘त्रुटीपूर्ण’ भनेका छन् ।
टिप्पणीहरू