बाहिरी सम्बन्ध र लिभिङ टुगेदरले निम्त्याएका आपत
जेठी श्रीमतीलाई देशमै छोडेर नेपालमा स्वास्नी बनाउँदै, महिला फेर्दै हिँड्ने एकजना भारतीय फन्दामा परेका छन् । चितवनको माडीमा अर्काकी श्रीमतीसँग बिहेगरी घरै बनाएर बसेका उमेश साह रौनियार परस्त्रीसँगकै सम्बन्धले फसादमा परेका हुन् ।
क्यान्सर गेटदेखि नेपालगञ्ज चल्ने गाडी सञ्चालन गर्दै आएका उनी भरतपुरमा अर्की महिलासँग पनि लागेका थिए । श्रीमान् विदेश अनि छोराछोरीसमेत भएकी ती महिलाको नाम र आफ्नो फोटो राखी सामाजिक सञ्जाल टिकटकमा उनले ‘मेरी मायालु, मायालुलाई भेट्न जाँदा...’ जस्ता कुराहरु लेखेर पोष्ट गरेको पाइएको छ ।
क्षेत्री थर लेख्ने ३१ वर्षीया ती महिलाले प्रहरीमा दिएको निवेदनमा रौनियारले आफ्नो र छोरीको फोटो राखी नक्कली आईडी बनाएर चलाएको आरोपसमेत छ । जिल्ला प्रहरी कार्यालय चितवनले हालै अभद्र व्यवहार मुद्दामा उनलाई हिरासतमा राखी अनुसन्धान तथा कारबाही अगाडि बढाइएको अवस्था छ ।
बताइएअनुसार रौनियारको भारतकी जेठी श्रीमतीपट्टि दुई छोरा छन् । माडीमा भर्खर बिहे भएकी अर्काकी श्रीमती भगाएर दोस्रो बिहे गरी बसेको पनि अहिले १४ वर्ष भइसकेको र उनीपट्टि पनि एक छोरा रहेको बुझिन्छ । भरतपुरमा एक छोरा एक छोरीकी आमासँग लागेको पनि करिब पाँच वर्ष हुँदै गर्दा सम्बन्धमा खटपट भएर मुद्दा चलेको हो ।
बाहिरबाहिरै पिरती गाँस्ने र लिभिङ टुगेदरमा बस्ने जस्ता सम्बन्धमा मिलुन्जेल चाटाचाट भएपनि नमिल्दा 'काटाकाट' हुँदै मुद्दामामिला र आपतको स्थिति आउने गरेको छ । भरतपुर–७ कटहरचोकमा लिभिङ टुगेदरमा बसेकी युवतीले पुरुष विदेशिएर सम्बन्ध टुट्दै गएपछि जबरजस्ती करणीको बात लगाएर पुरुषलाई फसाउन खोजेकी थिइन् । तर, प्रहरीले सबैतिर बुझ्दा उनीहरु पछि छुट्ने सहमति गरेरै केही समयका लागि सँगै बसेको पाइयो ।
भरतपुर–१० मा घर भई जेठी श्रीमतीतर्फका छोराछोरीबाट नातिनातिना समेत भएका एक पुरुषले भरतपुर–३ मा कान्छी लिएर बस्दै गर्दा कान्छीबाट पाएकी छोरी पनि अहिले १४ वर्ष भइसकिन् । तर कक्षा आठमा पढ्ने उनको जन्मदर्ता बनाउन समस्या भएको छ । पुरुष डेढ–दुई वर्षदेखि सम्पर्कविहीन छन् । बिहे दर्ता नभएको र आमाको नागरिकतासमेत नबनेकोले समस्या देखिएको छ ।
‘छोरी पढाइमा राम्रो छिन्, सेकन्ड गर्ल हुन्’ जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी सहायक निरीक्षक एलिना धानुकले भनिन्, ‘जन्मदर्ता नबनेको हुँदा अध्ययनमासमेत असर पर्ने देखिएको छ ।’ अहिले ती आमाछोरी दैनिक रुपमा प्रहरी र वडा कार्यालयमा धाइरहनुपरेको प्रसनि बताउँछिन् ।
भरतपुरमै अर्का एकजना पुरुष घरमा श्रीमती हुँदाहुँदै बाहिर अर्की महिलासँग लिभिङ टुगेदरको सम्बन्धमा पनि थिए । पछि स्वास्थ्य समस्या देखिएर चेकजाँच गर्दा बाहिरकी महिला र पुरुषलाई मात्र नभएर घरकी श्रीमतीसम्मलाई एचआईभी संक्रमण पाइएको प्रहरी कार्यालयबाट बुझिएको छ ।
यस्तै, तनहुँ आबुखैरहनीका एकजना पुरुष पनि घरकी जेठी श्रीमती र छोराछोरीलाई छोडेर सामाजिक सञ्जालमा चिनजान भएकी अर्की महिलासँग बिहे गरी भरतपुरमा पाँच वर्षजति सँगै बसे । ती कान्छीसँग सम्बन्ध बिच्छेद भएको पनि अहिले छ वर्ष लगभग भइसक्यो । फेरि अर्की महिलासँग लिभिङ टुगेदरमा रहन थाले । श्रीमानसँग डिभोर्स भएर बसेकी र छोरी अष्ट्रेलियामा भएकी ती महिलासँग पनि बिस्तारै मनमुटाव बढ्दै गएको स्थितिमा उनले महिलाको साइनमात्र भएको चेक लिएर गई पाँच लाख निकाल्न खोज्दा बैंकमा पैसा नभएपछि थप लफडा चर्कियो । आफ्नो सुनको सिक्री र औंठी पनि पुरुषले लगेको र चेकमार्फत् जुनसुकै तवरले फसाउन सक्छु भन्दै धम्क्याएको बताउँदै महिलाले प्रहरीमा उजुरी गरेपछि अहिले चेक र सुन फिर्ता भएको बताइन्छ ।
पछिल्लो समय चितवन प्रहरीमा लिभिङ टुगेदरसँग जोडिएका मामिला निकै आइरहेको महिला तथा बालबालिका शाखा प्रमुख प्रहरी निरीक्षक निलम तामाङ बताउँछिन् । लिभिङ टुगेदर सम्बन्धित अधिकांश केसहरुलाई प्रहरीले घरेलु हिंसा र लैंगिक हिंसामा राखेर कारबाही चलाउँदै आएको जनाइएको छ ।
डीएसपी ज्ञानकुमार महतोले नेपालमा अहिलेसम्म लिभिङ टुगेदरको कानुन नबनेको हुँदा यससम्बन्धी झमेला र अप्ठ्याराहरु बढ्दै गएको बताए ।
टिप्पणीहरू