जग्गाको किचलो मिल्यो, प्राक्टिकल अगाडि बढ्यो
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् अन्तर्गत सञ्चालित स्कूल अफ हेल्थ साइन्सका विद्यार्थीहरु अस्ति बिहीबार भरतपुर अस्पतालमा देखिए ।
जग्गाको किचलोले केही समय प्रभावित हुन पुगेको विद्यार्थी प्राक्टिकल सुचारु भएको हो । स्कूल अफ हेल्थ साइन्सका विद्यार्थीहरुको भरतपुर अस्पतालमा प्रयोगात्मक अध्ययनका लागि भएको पाँच वर्षको सम्झौता गत महिना सकिएपछि नवीकरणमा समस्या भइरहेको थियो ।
अस्पतालले आफ्नो स्टोर भवन बनाउन स्कूलसँग जग्गा मागिरहेको थियो । जग्गा भरतपुर अस्पतालकै नाममा भएपनि आफूले भोगचलन गर्दै आएको जमिन यसपटक खुरुक्क दिइहाल्न तत्काल स्कूल तयार भएन । यसअघि पनि पटक–पटक गरेर एकबिघा भन्दा बढी जमिन छोडिसकेको हुँदा अब नदिने, आफ्नो गल्र्स होल्टेल र स्टाफ क्वाटरसमेत रहेको ठाउँ दिनै नसकिने भनाइ स्कूलबाट आएपछि अस्पतालले उसको विद्यार्थी प्राक्टिकलको सम्झौता नवीकरण गरिदिएको थिएन । जग्गा नदिएसम्म रिन्यु नगर्ने शर्त अस्पतालले तेस्र्याइदिँदा स्कूल अप्ठ्यारोमा परेको थियो ।
बताइएअनुसार गत माघ ७ गतेसम्म सम्झौता नवीकरण गरेर स्कूलले आफ्ना विद्यार्थीहरुलाई प्राक्टिकलमा पठाइहाल्नुपर्ने थियो । अस्पताललाई जग्गा नदिएरै कसैगरी विद्यार्थी प्राक्टिकलको व्यवस्था मिलाउन स्कूलबाट सक्दो प्रयास र पहलहरु नभएको होइन । तर यसमा उसको धेरै जोड चल्न सकेन । अन्ततः जग्गा दिन स्कूल सहमत भएर अहिले अस्पतालबाट पनि विद्यार्थी प्राक्टिकलका लागि अनुमति दिइएको हो ।
केही दिनअघि सिडिओ कार्यालयमा भएको छलफलमा दुई पक्षबीच सहमति जुटेपछि स्कूल अफ हेल्थ साइन्सका विद्यार्थीहरु फागुन १ गतेदेखि भरतपुर अस्पतालमा क्लिनिकल क्षेत्र अभ्यासमा सरिक छन् ।
यस सम्बन्धमा जिज्ञासा राख्दा भरतपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्णप्रसाद पौडेलले भने, ‘हामीलाई स्टोर बिल्डिङ बनाउन आवश्यक एक कठ्ठा १२ धुर जग्गा छुट्याइदिए, त्यसपछि फुकुवा भयो । कुरो त्यही त हो ।’ तर कति वर्षका लागि नवीकरण गर्ने भन्नेचाहिँ अस्पताल विकास समितिको बैठक बसेर निर्णय गर्ने जनाइएको छ ।


टिप्पणीहरू