हिजो बसपार्क धपाइएका गाडी आज चौबीसकोठीमै लाम

हिजो बसपार्क धपाइएका गाडी आज चौबीसकोठीमै लाम
सुन्नुहोस्

चौबीसकोठी चोकमा हिजो बिहान लफडा भएपछि बसपार्कतिर लखेटिएका यात्रुवाहक साना तथा ठूला गाडीहरु फेरि पुरानै ठाउँमा लाइन लाग्न थालेका छन् । पार्किङको विषयमा विवाद भई पश्चिम-चितवन रुटमा चल्ने गाडीवाला आपसमा जुधेर तनावको स्थिति सिर्जना भएपछि ट्राफिक व्यवस्थापनका लागि हिजो उनीहरुलाई त्यहाँबाट धपाइएको थियो । 

चौबीसकोठी चोकको मुखैमा अगाडिपट्टि सधैं म्याजिक गाडी रहँदै आएको ठाउँमा गीतानगर रुटमा चल्ने सिटीबसले यात्रु भरेपछि विवाद शुरु भएको थियो । सिटीबस हिँडाउनै लाग्दा म्याजिक गाडी बाटोमा तेस्र्याएर अवरोध खडा गरिएपछि हात हालाहालको अवस्था बनेको थियो । 

झडपको स्थिति निम्तिएपछि सबैलाई भरतपुर बसपार्क पठाइएको थियो भने त्यहाँ खटिएका ट्राफिक प्रहरीले एकैछिन मान्छे चढाउन बाहेक धेरैबेर कुनैपनि गाडीलाई रोक्न दिएका थिएनन् । 

हिजै यसबारे जिज्ञासा राख्दा उतिबेलै ट्राफिक प्रहरी कार्यालयमा फोनसम्पर्क गरी जिल्ला प्रहरी प्रमुखले अब गाडीहरु भरतपुर बसपार्कमै राख्ने र चौबीसकोठीबाट पिक एण्ड ड्रप मात्रै गर्ने सहमति भएको भन्ने जानकारीमा आएको जनाएका थिए । तर, फेरि आजैबाट यहाँ गाडीहरु पहिलेजसरी नै यात्रु भर्न उसैगरी क्यू लागेको पाइएको छ ।

‘हिजो विवादको विषय थियो र उता पठाइयो’, यसबारेको जिज्ञासामा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक गायत्रीराज शर्मा भने, ‘आज विवाद मिल्यो होला नि त उनीहरुको ।’ 

– अजय गोर्खाली

टिप्पणीहरू