छिमेकीले छेकेर घरमा छिर्न नदिँदा

छिमेकीले छेकेर घरमा छिर्न नदिँदा

असल छिमेकीलाई समाजको पथप्रदर्शक मानिन्छ । एउटा राम्रो छिमेकीले सिंगै समाजलाई सही बाटोमा हिँडाउन सक्छ । कूटनीतिमा चर्चित भनाइ नै छ– मित्र फेर्न सकिन्छ तर छिमेकी बदल्न सकिन्न । राष्ट्रिय जीवनमा छिमेकीको महत्व दर्साउने यो भनाइ व्यक्तिका हकमा पनि मेल खान्छ । जेनजी आन्दोलनका क्रममा सयौँ निजी संरचना ध्वस्त हुँदा केही घर छिमेकीले जोगाइदिएको सन्दर्भ हो यो । 

भदौ २४ गते आन्दोलनकारीको भेषमा विध्वंश मच्चाउँदै हिँडेको टोलीलाई छिमेकीले रोकेका कारण केही ‘टार्गेटेड’ नेता, पूर्वप्रधानन्यायाधीश, न्यायाधीश, सरकारी कर्मचारी, पूर्वप्रहरी प्रमुखलगायतको घर टुटफुट हुनबाट बचेको थियो । तत्कालीन सत्ताधारी नेकपा एमाले र कांग्रेससहित माओवादी केन्द्रका अधिकांश नेताको घर छानी–छानी आगो लगाइएको अवस्थामा केपी ओलीका प्रिय पात्रहरूकै घर छिमेकीले जोगाइदिएका थिए ।

यसरी जोगिनेमा उपमहासचिव प्रदीप ज्ञवाली, ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र पूर्वमन्त्री डा. युवराज खतिवडा पनि हुन् । बुद्धनगरस्थित ज्ञवालीको घर हान्न पटक–पटक प्रयास भएको थियो । तर, वरपरका मान्छे भेला भएर तोडफोड गरे पनि आगो नलगाउन अनुनय विनय गरेपछि आक्रमणकारीको समूह फर्कियो । घटनाको केही दिनपछि ज्ञवाली आफैँले एउटा सार्वजनिक कार्यक्रममा छिमेकीका कारण घर जल्नबाट जोगिएको बताएका थिए । 

जेनजी आन्दोलनका बेला प्रधानमन्त्री ओलीको सल्लाहकार रहेका रिमाल सबैभन्दा धेरै आक्रमणकारीको टार्गेटमा परेका पात्र हुन् । तर, उनकै घर जल्नबाट जोगियो । शान्तिनगरस्थित घना बस्तीमा जोडिएको घरमा आक्रमण गर्न पुगेको भीडलाई स्थानीयले रोकेका कारण दुर्घटना टरेको हो । रिमालको घरमा आगो लाग्दा जोडिएका अरू घरमा सल्केर टोलै सखाप हुने भन्दै छिमेकीले आगो नलगाउन पटक–पटक हात जोडेका थिए । केपी ओलीका अर्का प्रिय पात्र पूर्वमन्त्री डा. युवराज खतिवडाको धुम्बाराहीस्थित भव्य निवास पनि जोगिनुमा छिमेकीकै भूमिका रह्यो । उनको घरमा आक्रमण गर्न दलबलसहित पुगेको भीडलाई स्थानीयले सम्झाइबुझाइ गरेर फर्काएका थिए ।

त्यस्तै, छिमेकीका कारण घर जल्नबाट जोगिने अर्का पात्र हुन्, पूर्वमन्त्री जनार्दन शर्मा । हालै माओवादी छोडेर प्रगतिशील लोकतान्त्रिक पार्टी बनाएका उनी पनि जेनजी आक्रमणकारीको निशानामा थिए । सानेपा, रामबाघ महलस्थित सञ्चारकर्मी बन्दना राणाको घर किनेर बसेका शर्माको घर जलाउन पुगेको समूहलाई छिमेकीले रोकेपछि जोगिए । 

छिमेकीको साथ, सहयोग र सद्भाव पाएकै कारण सम्भावित ठूलो क्षति व्यहोर्नबाट जोगिनेमा तत्कालीन एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे र एमाले नेता अग्नि खरेल पनि पर्छन् । ओली अघिल्लोपटक प्रधानमन्त्री भएका बेला महान्यायाधिवक्ता रहेका खरेलको तीनकुनेस्थित निवासमा तोडफोड र आगजनी भएको थियो । तर, स्थानीयले तत्कालै पानी हालेर निभाएपछि घर पुरै खरानी हुन पाएन । भदौ २४ को घटनामा कतिपय टार्गेटेड व्यक्तिका घर पहिचान गर्न नसकेका कारण आक्रमणकारीको समूह अर्को घरमा पुगेको पनि देखियो । घट्टेकुलोस्थित एक घरलाई मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीको ठानेर पुगेको भीडलाई छिमेकीले यथार्थ बताएर फर्काएका थिए । 

जेनजी विध्वंशमा राजनीतिक पार्टीका नेतापछि बढी निशानामा परे न्यायाधीशहरू । सर्वोच्च अदालतदेखि बहालवाला न्यायाधीश र पूर्व प्रधानन्यायाधीशका निजी निवाससम्म खरानी बनाइँदा केही घर भने छिमेकीका कारण जोगिए । हुनेवाला प्रधानन्यायाधीश सपना मल्ल प्रधानको घर जलाउन पुगेको अराजक जत्थालाई स्थानीयले चलाखी गर्दै ‘उहाँ यहाँ बस्नुहुन्न’ भनेर जबर्जस्ती फर्काइदिएका थिए । 

पूर्व प्रधानन्यायाधीश हरिकृष्ण कार्की, पूर्व कामु प्रन्या दीपक कार्की र पूर्व न्यायाधीश डा. आनन्दमोहन भट्टराईको घर छिमेकीले नै पूर्ण क्षति हुनबाट जोगाइदिएका हुन् । लोकन्थलीस्थित हरिकृष्ण कार्कीको निवासमा आगो झोस्न पुगेकाहरू वरपरका मान्छेले सम्झाइबुझाइ गरेपछि रोकिए । दीपक कार्कीको तीनथानास्थित घर तोडफोड गर्न भ्याए पनि छिमेकीले आगजनी गर्न दिएनन् । डा. आनन्दमोहनको हकमा भने अवस्था अलि फरक रह्यो । त्यतिबेला आन्दोलनको मोर्चामा रहेकी अहिलेकी प्रधानमन्त्री सुशीला कार्कीसँग हारगुहार गरेर उनले आफैँ जोगाएका हुन् । बताइएअनुसार बानेश्वरस्थित संसद भवनपछाडि रहेको घरमा आगो लगाउन ठूलो भीड पुगेपछि भट्टराईले सुशीलालाई फोन गरेर जानकारी गराएका थिए । त्यसपछि सुशीलाले लगत्तै आक्रमणकारीलाई फोन गरेर ‘हाम्रो मान्छे हो, केही नगर्नू’ भनेपछि भीड तितरवितर भएको बताइन्छ ।

यता, अख्तियार प्रमुख प्रेम राईको घट्टेकुलोस्थित घर, कलंकीस्थित पूर्व शिक्षा सचिव विश्वप्रकाश पण्डितको कोलोनी, काठमाडौँका तत्कालीन सिडिओ छवि रिजालको तीनकुनेको घर र लोकबहादुर भण्डारीको जेभियर इन्टरनेशनल कलेज पनि छिमेकी आएर केही हदसम्म जोगाइदिए । सशस्त्रका पूर्व आइजीपी शैलेन्द्र श्रेष्ठ र नेपाल प्रहरीका एआइजी हिमालय श्रेष्ठको घर पनि छिमेकीकै कारण आगो लाग्नबाट बचेको थियो । अन्नपूर्ण मिडियाका मालिक क्याप्टेन रामेश्वर थापाको बूढानिलकण्ठ, हात्तीगौंडास्थित घर छिमेकीले हिम्मत नगरेको भए सायदै जोगिन्थ्यो ! 

भदौ २४ को विध्वंश नियन्त्रण गर्नुपर्ने जिम्मेवारीमा रहेको सुरक्षा निकायले हात बाँधेर बस्दा समाजमा केही यस्ता उदाहरणीय पात्र पनि देखिए, जसका कारण निजी निवासमात्र होइन, सरकारी संरचना र व्यापारिक प्रतिष्ठान आगजनी हुनबाट बचेको थियो । उदाहरणका लागि राष्ट्र बैंक र पुरातत्व विभागलाई लिन सकिन्छ । सँगै जोडिएको सर्वोच्च अदालत र अगाडिको स्वास्थ्य मन्त्रालय खरानी भएको अवस्थामा पुरातत्वका कर्मचारीले आँट गरेर आक्रमणकारीलाई फर्काएका थिए । बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालय आक्रमण गर्न पुगेको भीडलाई त्यहाँ कार्यरत कर्मचारीले ‘जेनजी आन्दोलन सफल भएपछि पनि पैसा चाहिन्छ’ भनेर आगो नलगाउन सहमत गराएका हुन् । 

पुल्चोकस्थित न्यायाधीश क्वार्टर जोगिनुमा पनि कर्मचारीको भूमिका महत्वपूर्ण रह्यो । मन्त्रीहरू भैंसेपाटी सरेपछि त्यहाँ सर्वोच्च अदालतका न्यायाधीशहरू बस्दै आएका छन् । तर, मन्त्री निवास ठानेर आगो लगाउन पुगेका आक्रमणकारीलाई स्थानीयको सहयोगमा कर्मचारीले रोकेका थिए । 

जेनजी विध्वंशमा अत्यधिक क्षति व्यहोरेको भाटभटेनी सुपरमार्केटका केही शाखा पनि स्थानीयको प्रयासमा जोगिए । त्यसमध्ये टोखाको भाटभटेनीलाई स्थानीयले रातभर गस्ती गरेर आक्रमणबाट बचाएका हुन् ।

(जनआस्था साप्ताहिकको मंसिर १० गते बुधबारको अंकमा प्रकाशित) 

 

टिप्पणीहरू