धादिङमै प्रधानमन्त्रीका मान्छेबीच दुई धार

धादिङमै प्रधानमन्त्रीका मान्छेबीच दुई धार

पार्टी नेतृत्वमा एकलौटी हावी हुँदाहुँदै पनि गुटबन्दी रुचाउने एमाले अध्यक्ष केपी शर्मा ओली समर्थकबीच नै जिल्ला–जिल्लामा उपगुट देखा पर्न थालेका छन् । यसको ताजा उदाहरण धादिङ एमालेलाई लिन सकिन्छ । स्रोतका अनुसार त्यहाँका दुवै गुट अध्यक्ष ओली समर्थक र पक्षधर मानिए पनि त्यसभित्रै उपगुट देखिएको छ । जसमध्ये एक गुटको नेतृत्व अध्यक्ष भूमि त्रिपाठी र अर्को खेमाको केन्द्रीय सदस्य खेम लोहनीले गरेका छन् ।

लोहनी खेमालाई  बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल (रामेछाप) पक्षको समर्थन छ । यो गुटमा १५ प्रतिशत मात्रै देखिएका छन् । बाँकी त्रिपाठीतिर छन् । त्रिपाठीलाई जिल्ला अध्यक्षमा उपाध्यक्ष सुरेन्द्र पाण्डेको दश भाइ भनिने गुटले काँध थापेको थियो । त्यसबखत त्रिपाठी मुश्किलले २६ भोटको अन्तरमा उम्किएका थिए । दश भाइको समर्थन नपाएको भए उनी त्यसबेला डा. रामकुमार अधिकारीसँग पराजित हुन्थे । त्यसो त त्रिपाठी युवाहरूमाझ लोकप्रिय पनि छन् । 

यसबीच, उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समर्थकबाट सहयोग खोजे पनि पाउन सकेका छैनन् । सचिवालयमा त्रिपाठी पक्षको झिनो बहुमत मात्रै छ । यस समूहमा मीनराज कँडेल, देवप्रसाद त्रिपाठी, जगन्नाथ तिमिल्सिना, मैदी गाउँपालिकाको अध्यक्षमा पराजित रामप्रसाद सिलवाल र साना किसान सहकारीका अध्यक्ष खेम पाठकलगायत छन् । अध्यक्षको चुनावमा त्रिपाठीसँग पराजित डा. रामकुमार अधिकारी पनि सुरेन्द्र पाण्डेकै खेमामा मिसिएका छन् । अधिकारी केपी ओलीको हुन सकेनन् । यतातिर पुराना र चिनिएका एमाले धेरै छन् ।खेम लोहनीको साथमा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीका पूर्वपिए रमेश आचार्य, नीलकण्ठका अर्जुन गोर्खाली, राधिका सापकोटालगायत रहेको बताइन्छ । सापकोटा धादिङ पत्रकार महासंघका अध्यक्ष सीताराम अधिकारीकी पत्नी हुन् । 

त्यसैगरी, भूमि आयोगको अध्यक्षमा दोहोर्‍याउने आश्वासनसहित एकीकृत समाजवादीबाट प्रवेश गराइएका कृष्ण अर्याल जिल्याइएका छन् । जसरी भए पनि तपाईंलाई अध्यक्ष बनाउँछु भन्दै पार्टी प्रवेशको लागि वातावरण तयार गर्ने त्रिपाठी आश्वासन पूरा गर्न असफल देखिए । अर्याललाई अध्यक्ष बनाउने त्रिपाठीको प्रयासलाई काउण्टर दिँदै लोहनी र रमेश आचार्य खेमाले हरि पन्तलाई नियुक्त गराइदियो । 

प्रचण्ड धादिङबाट उठ्ने ?

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्ड चितवन, सिरहा, गोर्खा हुँदै २०८४ सालको आमनिर्वाचनमा धादिङबाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारी गरिरहेको बुझिएको छ । अध्यक्ष प्रचण्ड धादिङ जिल्लामा पर्ने राजमार्ग आसपासका नगर तथा गाउँपालिकामा बारम्बार आतेजाते गरिरहेकाले यस्तो लख काटिएको हो । प्रचण्ड लड्ने निर्वाचन क्षेत्रअन्तर्गत बेनीघाट रोराङ, गजुरी, धुनिबेँशी, थाँक्रेलगायत ठाउँ छन् । अहिले सांगठानिक रूपमा धादिङका ४ गाउँपालिकामा माओवादी केन्द्रको शक्ति सुदृढ मानिन्छ । उसलाई नेकपा (एकीकृत समाजवादी)सँगको सहकार्यले राम्रो फाइदा पुगेको छ । धादिङमा स्ववियुको निर्वाचन अखिल क्रान्तिकारी र एकीकृत समाजवादी मिलेरै लडेका छन् । 

एमालेभित्र देखिएको उपगुट र कांग्रेसभित्र विभिन्न गुटका कारण धादिङमा माओवादी केन्द्र बलियो देखिन थालेको छ । हाइवे क्षेत्रबाट माओवादीका शालिग्राम जमरकट्टेलले एकीकृत समाजवादीका राजेन्द्र पाण्डेलाई २०६४ सालमा हराएका थिए । २०७९ सालको आम निर्वाचनमा भने पाण्डे ३४ हजार मत ल्याएर विजयी भए । बेनीघाट रोराङ, मलेखु र ताल्ती माओवादी केन्द्रले जितेका क्षेत्र हुन् । एमालेले बैरेनी र गल्छीको अध्यक्ष मात्रै जितेको छ भने धुनिवेंशीमा एकीकृत समाजवादीका मेयर छन् ।
 

टिप्पणीहरू