चौधरीले यतिसम्म पाप चिताए

विश्वकै अर्बपतिहरूको सूचीमा आफ्नो नाम समावेश गराउन सफल एक मात्र नेपाली व्यापारी विनोद चौधरीले कानुन पालना गरी सरकारको इज्जत राख्न खोज्दा कसरी प्रथम श्रेणीका एक जना राष्ट्रसेवक कर्मचारीको उठिबास लगाए भन्ने तथ्य फेला परेको छ । नवलपरासीस्थित चौधरीका विभिन्न खाध्य उद्योगहरूको उत्पादनमा देखिएको गुणस्तर र मापदण्डविपरीत क्रियाकलापका कारण २०६७ सालदेखि दायर नौ थान मुद्दा जिल्ला प्रशासन कार्यालयमा त्यत्तिकै थन्केर बसेका थिए ।
नयाँ सिडिओले नयाँ ऐनअनुसार ती फाइल खोले र कारबाही अगाडि बढाए । त्यस्ता एक दर्जन बढी मुद्दाहरूको फाइल खोलेर उचित जरिवाना तिराउने निर्णय गर्दैै थिए, तत्कालै बुढानिलकण्ठको दबावमा गत हप्ता रातारात लखेटिनुपर्यो । यसअघि यस्ता मुद्दामा १०–१५ हजार जरिवाना गराउने र फाइल बन्द गर्ने काम हुँदै आएको थियो । तर, मुद्दाको प्रकृति र त्यसको घनत्वका आधारमा एउटा घटनाबराबर ३–४ लाख रुपैयाँ धरौटी तोक्ने र गल्तीअनुरूपको नसिहत दिने युवा प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलको यात्रा आरजु म्याडमसम्म चौधरीको सिधा पहुँचका कारण अधुरै रहन पुग्यो ।
सिडिओले भन्ने गरेका थिए, ‘यस्तो बेथिति हेरेर बस्न सकिन्न । आवश्यकताअनुसार दोषीलाई जेल हाल्नेसम्मको निर्णय गर्न मलाई बारबन्देज छैन ।’ उनको त्यही चेतावनी अहिले भारी भएको र त्यसकै कारण हाल गृहमन्त्रालयको अतिरिक्त समूहअन्तर्गत बरण्डामा सेकिनु परेको अवस्था छ । उनीसँगै नयाँ पोस्टिङ पाएर जिम्मेवारी सम्हाल्न गएका अन्य सहकर्मी कसैलाई पनि सरकारले फिर्ता बोलाएको छैन । न त उनलाई झिक्नुपर्ने कुनै आधार र कारण नै सतहमा देखिएको छ ।
चौधरीको वाइवाइ चाउचाउ, जुसलगायत केही खाद्य उत्पादनमा गम्भीर प्रकृतिका समस्या देखाउँदै उजुरी परेका थिए । समाचार स्रोत भन्छ, ‘तिनै उजुरीका आधारमा सरोकारवाला व्यक्तिलाई पक्राउ गर्ने र कारबाही अगाडि बढाउने योजनामा सिडिओ लागिपरेका थिए तर यसरी आफ्नो कमसल उत्पादनको राज खुल्ने र राज्यको जिम्मेवार निकायले नै गल्ती ठम्याउने स्थिति बन्नुपूर्व नै चौधरीले आफ्नो पहुँच प्रयोग गरिदिए ।’ चौधरीको कारबाहीमा परेर आफै फिर्ता हुनुअघि ती सिडिओले सरकारी वकिल र खाद्य तथा गुणस्तर नियन्त्रण कार्यालयका कर्मचारीहरूलाई तुरुन्तै प्रतिवेदन पेश गरी मुद्दा प्रक्रिया अगाडि नबढाए उनीहरुमाथि नै कारबाही हुने चेतावनी दिएका थिए । त्यो चेतावनी तुरुन्तै चौधरीको हेडक्वार्टरमा सम्प्रेषित भएको र उनलाई रातारात हटाउने तानाबाना बुनिएको श्रोतले जनाएको छ ।
खासमा खाद्य तथा गुणस्तर विभागले यस्तो घटना हेर्नुपथ्र्यो । तर, लामो समयदेखि त्यो निकायले यसप्रति चासो देखाइरहेको थिएन । जब नयाँ सिडिओले यसमा सक्रियता देखाए तब उनी चौधरीको निशानामा परे । उनीसँगै कास्की गएका भरतमणि पाण्डे र बर्दियाकी रुद्रादेवी शर्मा भने यथावत् छन् । त्यसभन्दा अघि नै लमजुङ गएका बुद्ध गुरुङ पनि त्यतै छन् । यस्तो भएपछि चोर, डाँका, लुटेराको पैसा खाएर खुरुखुरु ड्युटी गर्न छाडी काल पल्काउन को अग्रसर हुने ? अनि ब्युरोकेसीले कुन मोरालका साथ सुशासन कायम गर्ने ?
टिप्पणीहरू