राजनीतिक रूपमा असरल्ल नेपाली काँग्रेस

राजनीतिक रूपमा असरल्ल नेपाली काँग्रेस

मुलकका प्रमुख राजनीतिक पार्टीका प्रत्येक कार्य, गतिविधि र क्रिया सार्वजनिक चासोका विषय हुन् । नेपाली काङ्ग्रेस पार्टीको विचार, कार्यक्रम, उद्देश्य, नीति तथा गतिविधिमा पनि आम नेपालीको चासो रहन्छ । यसर्थ काङ्ग्रेसले गाली र ताली दुवै खाँदै आयो । बढी भूमिका भएको ठूलो दलले अपजस पनि बढी खानु अनौठो होइन । यसैले हामी आलोचनात्मक ढंगले लेखिरहेका छौँ । बोलिरहेका छौँ । पढिरहेका छौँ र आलोचना पनि गर्दैछौं । 

गैर काङ्ग्रेस र नयाँ पुस्ताका धेरैले काङ्ग्रेसलाई बुझेका छैनन् । लोकतन्त्र प्राप्तिको आन्दोलनका क्रममा यो पंक्तिकार नेपाली काङ्ग्रेसका नेता उमेश जङ्ग रायमाझी सहितका विभिन्न नेताहरूसँग सँगसँगै प्रहरी नियन्त्रणमा बसेको थियो । त्यहीकारण लेखक काङ्ग्रेसको लोकतन्त्र र नागरिक स्वतन्त्रताप्रतिको अटल विस्वासमा शंका गर्दैन । धेरै मानिस त्यहाँ अहिले पनि त्यागी, निष्ठावान र आस्थावान छन् । यो साँचो कुरा हो । नयाँ पुस्तालाई त्यो सबै इतिहासको जानकारी हुँदैन । काङ्ग्रेसले ‘सुन्नेगरी’ भनेन । भन्न पनि जानेन । कसैले सोध्दा पनि सोधेन । 

प्रतिनिधि सभामा सीट संख्याको हिसाबले मुुलुकको सबैभन्दा ठूूलो पार्टी काङ्ग्रेसको गर्विलो आन्दोलनकारी, क्रान्तिकारी तथा परिवर्तनकारी इतिहास रहेको प्रष्टै छ । प्रजातन्त्रप्रतिको उसको निष्ठामा शंका गर्नु पर्दैन । ठीक हो त्यसको ‘साँवा र ब्याजसहित’ काङ्ग्रेस पार्टीले राजकीय तथा शासकीय भूमिकासमेत प्राप्त गर्दै आयो, गरिरहेको छ । जनताले भोटको माध्यमबाट समर्थन पनि गर्दै आएका छन् । राणा शासनको अन्त्य नगरेको भए, पञ्चायती निरंकुशताविरुद्ध नलडेको भए तथा निरंकुश राजतन्त्रविरुद्ध राजनीतिक, वैचारिक र संगठित प्रतिरोध नगरेको भए मुलुकले लोकतन्त्र प्राप्त गर्नसक्ने अवस्था थिएन । त्यो अर्थमा काङ्ग्रेसको भूमिका महत्वपूर्ण रह्यो । लोकतन्त्र प्राप्तिमा काङ्ग्र्रेस अडिग रह्यो । 

जेल, नेल र यातना सहेका नेताहरू त्यहाँ धेरै छन् । यो पक्ष काङ्ग्रेसको सकारात्मक पाटो हो । सोही कारण काङ्ग्रेस र एमाले जस्ता प्रमुख पार्टीसँग बढी अपेक्षा र आशा पनि गरिन्छ । जोसँग अपेक्षा र आशा बढी हुन्छ आलोचना, गाली तथा आक्षेप पनि त्यसैले सहनुपर्ने हुन्छ । यही इतिहास भएकाले होला आलोचना सहने शक्ति पनि काङ्ग्रेसमा बढी देखिन्छ ।

नेपाली राजनीतिको सार्वजनिक आलोचना र सामाजिक सञ्जालमा पढ्ने हो भने काङ्ग्रेस ‘सकिनै लागेको’ भान हुन्छ । ‘कुहिएको फर्सि’ भइसकेको अर्थ लाग्छ । मानिसहरू खुलेर आलोचना तथा गाली गर्दछन् । आमनागरिक र सामाजिक सञ्जालमा बढी अभ्यस्त भएकाहरू प्रधानमन्त्री ओली, काङ्ग्रेस सभापति देउवा र शीर्ष नेताहरूलाई सुन्नै नसक्नेगरी आलोचना नगरी सुत्नै सक्दैनन् । यस अर्थमा आलोचना सहनु र चुप रहनु देउवाको प्रमुख शक्ति बनिसकेको छ ।

अचम्म र उदेकलाग्दो विषय चाँही काङ्ग्रेसका शीर्ष नेताहरु नै देउवाको सार्वजनिक आलोचना गर्दै हिँडेका हुन्छन् । ‘देउवाबाट पार्टी चल्दैन’भन्नेहरु नै बिहान बूढानीलकण्ठ पुगेर ‘जय नेपाल दाइ’ भन्न भ्याउँछन् ।

अचम्म र उदेकलाग्दो विषय चाँही काङ्ग्रेसका शीर्ष नेताहरु नै देउवाको सार्वजनिक आलोचना गर्दै हिँडेका हुन्छन् । ‘देउवाबाट पार्टी चल्दैन’भन्नेहरु नै बिहान बूढानीलकण्ठ पुगेर ‘जय नेपाल दाइ’ भन्न भ्याउँछन् ।

पार्टी अव्यवस्थित बन्दै गएकाले जसलाई जे मन लाग्छ बोल्ने छुट काङ्ग्रेसमा रहेको छ । नीति, विचार, सिद्धान्त, दर्शन र मूल्यमा कोही बसेको देखिन्न । काङ्ग्रेस ‘पाँचखालको रातो आलु’ जस्तो भइसकेको छ, जेमा पनि मिल्ने । जुनसुकै प्रकारको ‘लाइफ स्टाइल’मा बाँच्न पाउने स्वतन्त्रता त्यहाँ छ । समुन्द्रमा खोला, हिलो, मैलो, धुलो, फोहोर सबै मिसिएजस्तो अवस्था छ काङ्ग्रेसमा । ‘दाइ वा दिदी’ भनेपछि पुग्यो । आफ्नो निजी पक्षधरता भयो भने उसलाई ‘सातखत माफ’ हुने परम्परा बसालियो । त्यसरी नै आफ्ना ‘भाइबैनी’ लाई सदस्यता बाँडिन्छ । पहिले चर्को आलोचना गर्नेहरू नै निर्वाचनमा रुखमा भोट पनि खसाल्छन् । ‘दाइ, भाइ र दिदी, बहिनी जय नेपाल’ भन्ने भाष्य आमरूपमा बोलिन्छ । 

जुनसुकै पेशा, व्यापार र व्यवसायबाट पैसा कमाउन सक्नेले अकुत कमाएकै छ । नेता धनी छन् । पार्टी चाहिँ गरीब छ । नेता नाफामा छन् । पार्टी घाटामा छ । काङ्ग्रेसमा आउन, जान, बस्न, छोड्न, बोल्न, आलोचना गर्न र आफूखुशी गतिविधि गर्ने ‘स्वतन्त्रता’ सबैलाई छ । अधिवेशन हुन्छ तर अर्काे अधिवेशन कुन समयमा हुने टुङ्गो हुँदैन । केन्द्रीय समिति बैठक कहिले बस्ने कुनै ठेगान हुँदैन । वर्षमा दुई पटक बैठक बसे पनि पार्टी चलेकै छ । 

केन्द्रमा विभाग छन् तर सदस्य छैनन् । पूर्णता नपाउँदै अर्काे महाधिवेशन आइपुग्दछ । भ्रातृ संगठन छन् । अधिवेशन गर्दैनन् । जिल्ला र वडास्तरसम्म कमिटी छन् । अपडेट छैनन् । नियमित बैठक हुँदैन । कसैले किन बैठक बसिनस भनेर प्रश्न गर्दैन  । बैठक नबसे पनि समिति कायम हुन्छ । बैठकमा नआए पनि सदस्यता कायम हुन्छ । समितिको खास आधिकारिक धारणा भन्ने नै हुँदैन । ‘दाइ वा दिदी’ले जे बोल्छन् त्यही हुन्छ । संस्था ‘जीवित’ छ । संस्थागत निर्णय केही छैन । देउवाले कहाँ कस्तो निर्णय गर्दछन् कसैलाई जानकारी हुँदैन । कसैको सल्लाह आवश्यक हुँदैन । संस्थागत निर्णय आवश्यक देखिँदैन ।

‘कालीमाटीको तरकारी बजार’ झैँ केन्द्रीय कमिटीको बैठक ‘लाइभ’ गरिन्छ । हल्ला गर्ने गरिरहन्छन्, उठ्ने उठेका छन् । बस्ने बसेका छन्, सुत्ने सुतेका छन् । बाहिर जाने गएका छन्, भित्र पस्ने पसेका छन् । क्यान्टिनमा चिया खाने उतै छन् । मोबाइल खेल्ने खेलिरहेका छन् । बोल्नेले बोल्छन्, सुन्ने कोही हुँदैनन् । यसरी पनि काङ्ग्रेस पार्टी चलेकै छ । लाग्छ काङ्ग्रेस विभिन्न ‘पेटी ठेकेदारहरू’को ‘दारु गफ गर्ने’ ‘महासंघ’ वा ‘पार्टी’ हो । यो त भयो कार्यशैलीगत, व्यवस्थापन र संगठनको तरिका । त्योभन्दा पनि गम्भीर अर्काे विषय छ । त्यो हो मुलुकको संवैधानिक, राजनीतिक र सार्वजनिक विषयमा नेपाली काङ्ग्रेस पार्टीको ‘दृष्टिकोण’ ।

मुलुकको सर्वाधिक संवेदनशील र गम्भीर मुद्दामा समेत काङ्ग्रेस पार्टी ‘गतिहीन’ र ‘दृष्टिकोणविहीन’ प्रकारले चल्दैछ । संवैधानिक र राजनीतिक प्रणाली निर्माणमा काङ्ग्रेसको अग्रणी भूमिका भए पनि जतिबेला संस्थागत निर्णय, प्रष्ट अडान र मुलुकको राजनीतिक, संवैधानिक र सार्वजनिक विषयमा दिशानिर्देश गर्नुपर्ने अवस्थामा चाहिँ काङ्ग्रेसमा ‘बाटोमा फुक्का छाडेको छाडा साँढे’ जस्तो बनिदिन्छ । बोल्नुपर्ने कुरामा ‘मौनता’ प्रदर्शन गरिदिन्छ । चर्काे राजनीतिक बहस भएको बेला देउवा देशभित्रै छन् वा देश बाहिर भन्ने थाहै हुन्न ।

नेपालको लोकतान्त्रिक संघीय गणतन्त्र काङ्ग्रेस, एमाले र माओवादीसहित तत्कालीन सातदल तथा नागरिक समाजको निरन्तरको संघर्षबाट प्राप्त भयो । २०६२/०६३ को जुलुसले मात्र गणतन्त्र आएको होइन । २००७ साल देखिको संघर्ष, बलिदान, द्वन्द्व र सशस्त्र संघर्षसमेत जोडिएको प्रष्टै छ । त्यहाँ काङ्ग्रेसले जनताको पक्षबाट लडेको हो । गाँठी कुरो चाहिँ जतिबेला मुलुकमा संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र र लोकतान्त्रिक संविधानमाथि राजावादी, प्रतिगामी र अराजकतावादीको प्रहार हुँदै गरेको हुन्छ भने काङ्ग्रेसको मूल नेतृत्व ‘मौन’ बसिदिन्छ । केन्द्रका पदाधिकारी र नेताचाहिँ आफूखुशी ‘भीडको चाहना’ भाषा बोलि दिन्छन् । आफूखुशी बोल्नेलाई कसैले प्रष्टिकरण पनि सोध्दैन । तराईमा गए एउटा कुरा बोल्ने, पहाडमा गए अर्काे । हिन्दूहरुक भएको ठाउँमा गए धर्मनिरपेक्षता हुनुपर्ने भन्ने नेता धेरै छन् । नेतापिच्छेका बोली सुनिन्छ । कुन नेतालाई जनताले विश्वास गर्ने भन्ने अन्यौल भएकै छ । 

देउवाको प्रतिस्पर्धी भनिएका नेता शेखर कोइराला ‘म त ज्ञानेन्द्रलाई राजा नै भन्दछु’ भन्छन् । कोही संघीयता खारेजै हुनुपर्ने अडानमा छन् । कोही गणतन्त्र काम छैन भनेर हिँडेका छन् । कोही हिन्दूराज्य बनाउनैपर्ने मान्यतमा अडिग देखिन्छन् । यस्तै छ काङ्ग्रेस पार्टीको ‘विचार र दृष्टिकोण’ । यसरी पनि चलेकै छ काङ्ग्रेस । नेतापिच्छेका गुट । नेताअनुसारका विचार । व्यक्ति अनुसारको धारणा । नेतापिच्छेका ‘रेस्टुरेन्टमा बैठक’ । नेतापिच्छेका भेला । सबै गर्ने ‘प्रजातान्त्रिक छुट’काङ्ग्रेसमा देखिन्छ । बैठकसमेत नगरी समय गुजारिएको पाइन्छ । सरकारमा पनि छ । सत्ताको प्रमुख निर्णायक शक्ति पनि हो । तर कुनै प्रष्ट विचार, दृष्टिकोण, व्यवस्थापन, अभिलेख र सिक्नलायक अभ्यास केहीपनि देखिन्न । 

तरपनि काङ्ग्रेस पार्टी विभिन्न नेताका ‘गुटको महासंघ’ जस्तै ‘पार्टी’ का रूपमा चलेको छ । आफू पनि गर्दैन । अरूबाट पनि सिक्दैन । व्यवस्थापन, कला, सीप, दक्षता र पार्टी सञ्चालनमा उत्कृष्ट देखिएको सहयात्री एमालेको संगतले पनि नसुधारिएको काङ्ग्रेस पार्टी कहिले सुध्रिएला ? जनता हेरेको हेर्यै छन् । लोकतान्त्रिक संघीय गणतन्त्रप्रति त प्रष्ट हुनसक्नुपर्ने बेलामा काङ्ग्रेस सभापति देउवा कुन ‘नशामा’ डुबेका छन् ?
 

टिप्पणीहरू