पूर्व पश्चिम राजमार्गमा यौन धन्दा छरपस्ट

पूर्व पश्चिम राजमार्गमा यौन धन्दा छरपस्ट

पूर्व पश्चिम राजमार्गमा पर्ने सानादेखि ठूला बजारहरूमा यतिबेला खुलेआम यौनधन्दा हुने गरेको छ । 

स्थानीय तथा भारतीय ग्राहकलाई लक्षित गरी राजमार्गका होटलहरूमा यौनधन्दा हुने गरेको स्थानीय स्तरबाट गुनासो आउन थालेको छ । 

पूर्व पश्चिम राजमार्गको सर्लाही खण्डमा पर्ने बागमती नगरपालिकास्थित पुतलीचोक यतिबेला यौनधन्दाका कारण डुङ डुङ गनाउन थालेको भन्दै स्थानीयले त्यसको विरोध शुरु गरेका छन् । 

पुतली चोकमा खुलेका साना तथा ठूला होटलहरूले धमाधम यौनधन्दा गराउन थालेपछि स्थानीयहरू आजित छन् । इलाका प्रहरी कार्यालय कर्मैया सर्लाहीकै मिलेमतोमा पुतली चोकमा खुलेआम यौनधन्दा हुने गरेको बताइन्छ । 

इलाका प्रहरी कार्यालय कर्मैया सर्लाहीले प्रति होटल १५ देखि २५ हजार रुपैयाँ मासिक लिएर यौन धन्दा गर्न छुट दिएको एक स्थानीय बासिन्दाले नाम उल्लेख नगर्ने शर्तमा जानकारी दिए । 

सइ सुभाष यादवले घुमुवा परिचालन गरेर ती होटलबाट मासिक पैसा बुझेको आरोप छ । 

सर्लाहीको नयाँ रोड,हरिओन,नवलपुर,लालबन्दी लगायतका स्थानमा होटलमा यौन व्यवसाय गराउँदै आएकाहरू पछिल्लो समय पुतली चोकमा आएर होटल खोल्न थालेको स्थानीयको भनाइ रहेको छ । पुतली चोकमा खुलेका होटलहरूले बालिकाहरूलाई समेत यौन व्यवसायमा लगाउने गरेको गुनासो बढ्दै आएको छ । यौन व्यवसाय गराउँदै आएका होटल सञ्चालकहरूले आफूले तलदेखि माथिसम्म सबै ठाउँमा सेटिङ मिलाइसकेकाले आफूहरूको धन्दामा कसैले बाधा अड्चन गर्न नसक्ने भन्दै धक्कु लगाउँदै हिँड्ने गरेको समाचार स्रोतले बताएको छ । 

नियमन र नियन्त्रण गर्नुपर्ने प्रहरीकै साथ सहयोगमा सर्लाहीका विभिन्न बजारहरूमा यौनधन्दा मौलाउँदै जान थालेको भन्दै स्थानीय स्तरमा प्रहरी प्रशासनको चर्को आलोचना हुन थालेको छ ।

टिप्पणीहरू