बाजा बजाएर कहाँ आउँछ र दुर्घटना ?

दुई गाडी जन्ती लिएर सुन्दर बजार -८ अकलाका हरिचन्द्र कार्की परिवार बेहुली लिन तनहुँको सेपाबगैँचातर्फ जाँदै थियो । सुबोध अधिकारीलाई कार्की परिवारले भिडियोग्राफीका लागि भने पनि उनले नभ्याउने भएपछि सुरेश श्रेष्ठलाई बोलाएको थियो । १७ गतेसम्म बुकिङ भैसकेका सुरेशले ७ गतेको समय निकालेर सो बिबाहको भिडियो खिच्ने जिम्मासहित बिहानै भर्खर किनेको नयाँ स्कुटर लिएर त्यता गए । हुने हार दैव नटार भनेझैं त्यो दिन उनको लागि कालो दिन बनेर आयो । सङ्गै गएकी श्रीमती गुमाउन पर्यो भने आफू मर्नु न बाँच्नुको अवस्थामा पुगे ।
कालिका यातायात समितिका अध्यक्ष पूर्णलाल श्रेष्ठको माइक्रोबस चलाएका सिन्धुपाल्चोकका मानबहादुर घलेको सक्रियता कम्ता थिएन । सहचालकबाट चालक भएको पनि त्यत्ति धेरै भएको होइन । तर उनको गाडी हुँइकाइमा प्राय : यात्रु सन्तुष्ट नभएको यही ७ गते भएको दुर्घटनाबाट बाँचेकी २४ वर्षीय युनिशा गुरुङ बताउँछिन् । बिहान ६ बजेतिर काठमाडौंबाट छुटेको बा२ख ४०२२ नम्बरको माइक्रोबस ट्राफिकलाई छल्दै तीब्र गतिमा हुँकिएको थियो । उसलाई हतार पुनः काठमाडौं फर्कनको । शिक्षक आन्दोलनको छेको पारेर पैसा कमाउन हतारिएको उक्त माइक्रोबस अन्ततः डुम्रे बेसीशहर सडकखण्डको तनहुँ जिल्ला भानु नपा-१० नेपालडाँडामा दुर्घटना हुँदा दुई जनाको ज्यान गयो ।
बेसीशहरबाट सुन्दरबजार -८ अकला नजिकै हरिचन्द्र कार्कीका छोरा राम कार्कीको बिबाहमा भिडियोग्राफीको लागि हिंडेका बेनपा-८ का दिपेन्द्र श्रेष्ठ उर्फ सुरेश र उनकी श्रीमती अनिता थापा श्रेष्ठ सवार हप्ता दिनअघि मात्रै किनेको अप्रिला १६० सीसीको ग२६प नम्बरको स्कुटरलाई ओभर स्पीडमा आएको सो बसले ठक्कर दिंदा स्कुटरमा सवार अनिताको नालीको स्ल्याबमा टाउको ठोकिएर घटनास्थलमै ज्यान गएको थियो । ६ गते मात्रै आफ्नो जन्मदिन साथीहरूसंग मिलेर मनाएकी अनिताको मृत्युको खबरले बेसीशहर शोकाकुल बनेको छ । स्कुटर चालक सुरेशको घाँटी,छाती र गोडामा गम्भीर चोट लागेको छ । उनको चितवन मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
माइक्रोबसमा सवार शिक्षक ५६ वर्षीय मनबहादुर घलेको पनि ज्यान गएको छ । १८ दिनसम्म शिक्षक आन्दोलनमा सरिक भई ७ गते मनाङ फर्कदै गरेका नासौ गाउँपालिका-८ ताचैको जनविकास माविका प्रअ घले माइक्रोको अगाडि सीटमा थिए । ०४८ मा शिक्षण पेशामा प्रवेश गरेका घले ०५० सालमा स्थायी भएको स्कूल श्रोतले जानकारी गराएको छ । हप्तादिन पछि काठमाडौं फर्कने भन्दै मनाङ हिडेका घलेको सुनपा-९ सिउँडीबारस्थित नमुना सामुदायिक अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको थियो । उता अनितालाई प्रदेश अस्पताल दमौली पुर्याइएको थियो । माइक्रोमा सवार १७ जनामध्ये दर्जनजति यात्रु सख्त घाइते भएका थिए ।
यसरी घाइते हुनेमा बेनपाकी १४ बर्षकी पूजा गुरुङ,ओखलढुंगाका ५५ वर्षका प्रेम सुनार,लमजुङ दूधपोखरी-५ की २४ वर्षीय युनिशा गुरुङ,बेनपा-३ का लीलाप्रसाद बसौला,बेनपा-५ की ६७ वर्षीया राजकुमारी गुरुङ, ओखलढुङ्गाका ३५ वर्षीय अलिश शाही, सोलुखुम्बुका ३२ वर्षीय कुमार राई, गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ का ५१ वर्षीय धनबहादुर गुरुङ,ओखलढुंगा बस्ने ३५ वर्षीय अधिस राई,गोरखाका ५१ वर्षीय धनबहादुर गुरुङ छन् । दमौली अस्पतालमा पोस्टमार्टम गरी ८ गते बेलुका लमजुङ लगिएको अनिताको शवको मंगलबार अन्त्येष्टी गरिएको छ ।
टिप्पणीहरू