प्रेस काउन्सिल अध्यक्षको अस्ति शपथ, आज भ्रष्टाचार मुद्दा
मधेश प्रदेश प्रेस काउन्सिलका नवनियुक्त अध्यक्ष कमलकुमार उपाध्ययसहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपाध्ययसहित बाराको पचरौता नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव र लेखापाल हासिम मियाँ अन्सारीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
उपाध्याय दुई दिनअघि मात्र प्रेस काउन्सिलको अध्यक्ष नियुक्त भएपछि सपथ लिएका थिए । आर्थिक वर्ष ०७७/७८ मा सञ्चालन भएका ठेक्काको बोलपत्र आह्वानको सूचना राष्ट्रियस्तरको पत्रिकामा प्रकाशित गर्नुपर्नेमा प्रभाव दैनिक (स्थानीय पत्रिका)मा मात्र प्रकाशन गरेर गैरकानुनी रुपमा भुक्तानी भएको/लिएको आरोप पत्रमा उल्लेख छ ।
उपाध्याय अध्यक्ष रहेको केएस मल्टिप्रपोज प्रा.लि.ले तीन लाख ५२ हजार भुक्तानी लिएको पाइएको आयोग प्रवक्ता एवम् सहसचिव राजेन्द्र पौडेलले जानकारी दिए । नेपाल पत्रकार महासंघ बाराका पूर्व अध्यक्षसमेत रहेका उपाध्याय एमाले निकट प्रेस चौतारीमा आवद्ध छन् ।
टिप्पणीहरू