यौन दुराचार नगर्ने सैनिकलाई  अफ्रिका जान छुट

यौन दुराचार नगर्ने सैनिकलाई  अफ्रिका जान छुट

नेपाली सेनाले दक्षिण सुडान र मध्य अफ्रिकी गणतन्त्रमा शान्ति स्थापना कार्यको लागि तैनाथ हुन जाने टोलीको चयन थालेको छ । आगामी भदौ दोस्रो सातापछि दक्षिण सुडानमा राष्ट्रसंघीय शान्ति मिसनमा खटिन नयाँ गोरख गणको १५ औं डफ्फामा सहभागी हुन योग्य अधिकृत र अन्य दर्जाका सैनिक छनौट गरिएको सैनिक सचिव विभागले जनाएको छ ।

विभागले अस्ति जंगी अड्डाका सबै विभाग,निर्देशनालय,पृतना हेडक्वार्टर,ब्यारेकलाइ गरेको सर्कुलरमा आजसम्म वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा प्रतिवेदन गर्न निर्देशन दिँदै ४३ जना अधिकृतको नाम चयन गरेको हो । उनीहरुलाई ‘नफ्रि वितरण बोर्ड २०८१’, शान्ति सेना छनौट कार्यविधि २०७५ र सैनिक सेवा नियमावली २०६९ को परिच्छेद ४ को ४८ बमोजिम झण्डै चार जना अधिकृत छनौट गरिएको बताइएको छ ।

उता जानेमा रणचण्डी गणका सेनानी सुरेन्द्र श्रेष्ठ, राष्ट्रिय सेवा दल मध्य पूर्वी तालिम शिक्षालयका सेनानी जनक राई, राजदल गणका सेनानी राजिब खड्का, आर्टिलरी तालिमका सेनानी कविराज थापा, भगवतीदल गणका सेनानी उमेश खड्का लजिष्टिक अधिकृत (भारत), मध्य पूर्वी पृतना हेडक्वार्टरका सेनानी श्यामबहादुर चौधरी र  युद्धकवच गणका सेनानी रगेन थापामगर हुन् ।

यस्तै चण्डीदल गणका सेनानी बिष्णु भक्त श्रेष्ठ, सैनिक ईन्जिनियरिङ विभाग (काज : काठमाण्डौ–तराई/मधेश द्रुतमार्ग सडक आयोजना प्रमुख) का सेनानी निरज राना, पूर्वी पृतना हेडक्वार्टरका सेनानी मिनबहादुर सोडारी, पुरानो गोरख गण (काज ः काठमाण्डौ तराई÷मधेश द्रुतमार्ग सडक आयोजना) का सेनानी गोपीलाल लामा, रणदल गुल्मका सेनानी उज्जवल गोतामे, नयाँ गोरख गणका सेनानी विनोद अधिकारी, पूर्वी एयरवेसका प्राध्यापक सेनानी सुमेश श्रेष्ठ, छापाखाना शाखाका प्राविधिक सेनानी निलेश मानन्धर, स्थपति निर्देशनालयका लेखा सेनानी संजिब श्रेष्ठ पनि सुडान जाँदै छन् ।

सहसेनानीहरुमा भवानीदल गणका नुलबहादुर गुरुङ्ग, कृष्णदल गणका रिम बहादुर थापा, रणचण्डी गणका कृष्ण सिंह ठगुन्ना, भगवतीदल गणका नारायण चौलागाई छानिएका छन् । वीरेन्द्र अस्पतालका प्राविधिक सेनानी दिपककुमार कार्की, विद्युत तथा यान्त्रिक सेवा केन्द्रका अर्का प्राविधिक दानबहादुर बोहरा, सैनिक कमाण्ड तथा स्टाफ कलेजका डा. सानुकाजी बस्नेत र वन तथा पर्यावरण सुरक्षा गणका देवबहादुर श्रेष्ठ पनि टोली सदस्य हुन् । 

उपसेनानीहरुमा नयाँ गोरख गणका प्रवेश सुवेदी, जगदल गणका सुकवीर बुढामगर, युद्धकवच गुल्मका असिम शाही, रणबम गणका राजिवकुमार मगर, चन्दननाथ गणका भुवनबहादुर सिंह, नम्बर २ राजदल गणका सागर अधिकारी, वीरदल गणका समीर तेम्बे, भवानीबक्स गणका एल्जिना राई, नम्बर ७ युद्धकवच गुल्मका मनिष पुडासैनी, नरसिंहदल गणका विजय ठकुरी, संग्राम शार्दुल गुल्मका दिपेश शाही, अर्जुनवाण गणका सबिन बोहरा, नयाँ रणभीम गुल्मका सन्तोष उचही, नम्बर २ राजदल गणका शेखर सापकोटा, सूर्यदल गणका सरोज खत्री, वीरभद्रजंग गुल्मका विपिन विश्वकर्मा, सर्वेश्वर गणका सरोज अधिकारी, नम्बर १ फिए गुल्मकी डा. भूमिका पराजुली, र बज्रदल गणकी डा. श्रद्धा खड्कालाई छनोट गरिएको छ ।

आगामी भदौ दोस्रो साता मध्य अफ्रिका गणतन्त्रमा शान्ति स्थापनार्थ जाने सैनिक प्रहरी युनिट (शान्ति सेना) एघारौं डफ्फामा जाने टोलीमा १० जना अधिकृत छानिएका छन् । प्राप्त विवरणअनुसार उत्तर पश्चिम पृतना हेडक्वार्टरका सेनानी प्रताप विष्ट, अरिदमन गणका सेनानी गिरिजाप्रसाद भट्ट, नम्बर ६ युद्धकवच गुल्मका सह सेनानी ज्ञानेन्द्र खड्का र एकीकृत सैनिक बन्दोबस्ती शिक्षालयकी सहसेनानी स्मृति केसी छनौटमा परेका छन् । 

अन्यमा उपसेनानीहरु बरख गणका लालबहादुर खत्री, श्रीमेहर गणकी सुभद्रा कार्की, गोरखबहादुर गणका सञ्जय थापामगर, रणभीम गणका सिरोज श्रेष्ठ, सिंहशार्दुल गुल्मका अचल राज तिमसिना र सैनिक अस्पताल नेपालगञ्जका प्राविधिक उपसेनानी डा. विकास खत्री छन् ।

यी सबैलाई यौनदुराचार तथा यौन व्यभिचारमा हालसम्म दाग नलागेको, आर्थिक अनियमितता नगरेको, बहुविवाह नगरेको, दुर्व्यर्सनी नभएको, सरकारी सम्पत्तिको हिनामिना नगरेको र हालसम्म सैनिक ऐनबमोजिम सजाय नपाएको सैनिक सचिव ध्रुवकुमार कार्कीले दाबी गरेका छन् ।

टिप्पणीहरू