बालेनको हरेक साँझ भाङ र भतेर

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह कार्यालयमा भेटिँदैनन् । प्रवक्ता नवीन मानन्धरकै भनाइलाई आधार मान्ने हो भने पनि उनी नवमहाराजा बनिरहेका छन् । कार्यालय नआउने, जनतासँग भेटघाट नगर्ने, जनताको समस्या थाती राखेर सीमित घेराभित्रबाटै संस्था चलाउने ।
महानगरपालिका पुग्ने जोसुकैले मेयरलाई भेट्ने भनेको युट्युबले बनाएको फेक समाचारमा मात्रै हो । बालेनलाई निर्वाचित हुनुभन्दा अगाडि मात्र भेटेका हुन् जनताले । निर्वाचित भएपछि १० बजे कार्यालय आउने, ५ बजे कर्मचारीजस्तै फुत्त निस्कने ऐतिहासिक जनप्रतिनिधि हुन् । प्रमुख प्रशासकीय अधिकृतदेखि १० तहको विभागीय प्रमुखलाई पनि पिए भूपदेवले नै आदेश दिन्छन् । बजेट बढी भएको तथा राजश्व आउने विभागमा उनले भनेकै निर्णय हुन्छ । त्यही भएर पनि होला अधिकारभन्दा बाहिर गएर अख्तियारी दुरूपयोग गर्दै उनले सरोज गुरागाईंलाई कार्यालय प्रवेश गराएको दिन उपमेयर, वडाध्यक्षहरूसमेत जेल जान सक्ने अभिव्यक्ति दिएका थिए ।
भवन निर्माण, सार्वजनिक निर्माण, सूचना प्रविधि, वातावरण, राजश्व, सम्पदा र पछिल्लो समय शिक्षा विभागसमेत मालदार ठाउँ हुन् । यहाँबाट सेवा खरिदमा ५ लाख र अन्य कार्यको २० लाखसम्म कोटेशनमा काम हुने गर्छ । त्यही भएर पनि ती विभागमा बालेनले अवैतनिक सल्लाहकार राखेका छन् भने भूपदेवले श्रम बैंकमार्फत अन्य कर्मचारी खटाएका छन् ।
सम्पदा समितिको सदस्यसमेत रहेका वडा न.ं ५ का अध्यक्ष विनोद प्रजापति भूपदेवको इशारामा चल्ने मात्र होइन, हरेक दिन नक्सालको आधुनिक भट्टी पसलमा रसपानको व्यवस्था पनि मिलाउने गर्छन् । प्रजापति एमालेतर्फबाट निर्वाचित हुन् । तर, उनी ‘बा’ केपी ओलीलाई सात पुस्तासम्म पुग्ने गरी गाली गर्ने मेयर सचिवालयबाट टाढा हुन सक्दैनन् । बालेन र उनका सहयोगी सुनील लम्सालकै सेटिङमा भत्केको पुलस्थित सार्वजनिक जग्गामा करोडौं लगानीको खेलकुद पार्क निर्माण भइरहेको छ ।
वडा समितिको सहमति नहुँदा नहुँदै पार्क निर्माण र रेखदेख गर्ने जिम्मेवारी दिएका कारण प्रजापति बालेनप्रति नतमस्तक छन् भने, नरदे. हाँडीगाउँ शनिबारको कार्यक्रम, पार्क निर्माणलगायत सम्पदाको कमिशन उनले भूपदेवलाई सुम्पने गर्छन्। विद्यासुन्दर शाक्यका पालामा वडा नं. ४ का अध्यक्ष मोहन बिष्टले मेयरलाई बाइपास गर्दै तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेललाई विकास निर्माणबाट आएको कोशेली बुझाउँथे । पछि उनले आफ्नै घरसाँधको सार्वजनिक जग्गा अतिक्रमण गरेको समाचार सञ्चारमाध्यमले प्रकाशन गरेका कारण अध्यक्ष पद नै धरापमा परेको थियो । अब प्रजापतिको हालत पनि त्यस्तै हुने देखिन्छ ।
बालेनले ८४ को चुनावमा स्वतन्त्र उठाउने वचन दिएका कारण प्रजापतिले नियमित बस्नुपर्ने कार्यपालिका बैठकसमेत राखेका छैनन् । गुरागाईं आएपछि गैरकानुनी रुपमा ३ वर्षदेखि निमित्त एसएसपी बनेका राजुनाथ पाण्डेको फुली खोस्लान्, कानुनले नचिनेको श्रम बैंकमार्फत गैरकानुनी ढंगले राखिएका १५ सय कर्मचारीको व्यवस्थापन गर्लान् भन्ने सोचेको तर केही पनि गर्न नसकेको एमालेनिकट एक वडाध्यक्षले गुनासो पोखे ।
महानगरको उपमेयरलाई भिआइपी कक्ष किन ?
शक्तिको उन्मादमा मान्छेले मान्छेलाई चिन्दैन भन्ने कुरा काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलमा लागू हुन थालेको छ । मीस नेवाः भएपश्चात् केही समय क्यापिटल टेलिभिजन र नेपाल टेलिभिजनका बाल कार्यक्रम चलाउन पुगेकी डंगोललाई पूर्वमेयर विद्यासुन्दर शाक्यले शहरी योजना आयोगमा नेपाल भाषा विज्ञका रूपमा जागिर ख्वाए । उनै सुनिता अहिले न विद्यासुन्दर शाक्यलाई चिन्छिन् न महानगरका अन्य उच्च कर्मचारीलाई नै ! एमालेकै वडाध्यक्षहरूले भनेको कुरा पनि सुन्दिनन् ।
त्यही भएर पनि होला एमालेका जनप्रतिनिधिले मात्र होइन, कर्मचारीले पनि उनलाई ‘सानी महारानी’को संज्ञा दिन थालेका छन् । उनै सानी महारानी पूर्व प्रदेश सांसद अजयक्रान्ति शाक्य र उनकी श्रीमती राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यको निर्देशनमा चल्ने गर्छिन् ।
‘यता ठिक्क, उता दिक्क’ भनेझैँ छ स्वभाव । तीन वर्ष अघिसम्मको जीवन भुलिसकेकी सुनितालाई केपी ओलीले भावी मेयरका रूपमा प्रस्तुत गरेका कारण पहिलो पटक मेयर बालेनलाई कोठामा बसेर कार्यालय नचलाउन भनेकी हुन् । हरेक महिनाजसो विदेश जाने अवसर भने मेयर बालेनकै कृपा हो । बालेनका लागि आएको कतिपय भ्रमणमा उनै सहभागी हुन्छिन् । उनी पनि फुरुंग पर्दै भिआइभी कक्ष प्रयोग गर्दै विदेश शयर गर्छिन् । तर, बालेन सचिवालय टिमले उनी कतिपटक विदेश गइन्, भिआइपी कक्ष प्रयोग किन गरिन् ? खर्च कति गरिन् भन्ने डाटा लिएर बसेको छ । उनले अधिकारभन्दा बाहिर गएर गरेका काम, दुई–दुई वटा सवारी साधनको प्रयोगजस्ता विवरण पनि राखेका छन् ।
गुरागाईं आएपछि गैरकानुनी रुपमा ३ वर्षदेखि निमित्त एसएसपी बनेका राजुनाथ पाण्डेको फुली खोस्लान्, कानुनले नचिनेको श्रम बैंकमार्फत गैरकानुनी ढंगले राखिएका १५ सय कर्मचारीको व्यवस्थापन गर्लान् भन्ने सोचेको तर केही पनि गर्न नसकेको एमालेनिकट एक वडाध्यक्षले गुनासो पोखे ।
उपमेयरले कुनै दिन बालेनको विपक्षमा बोल्न थालिन् भने यी सबै कुरा एकै छिनमा युट्युबमा भाइरल हुनेछ । जसरी अहिले प्रवक्ता नवीन मानन्धर र वडाध्यक्ष ख्याम तिवारीको ५ करोड घुसकाण्ड सार्वजनिक भएको छ । मेयर बालेन सुनिताका पक्षमा होइन, पर्ख र हेरको अवस्थामा छन् ।
विदेश भ्रमणकै प्रसंगमा महानगरपालिकाको उपप्रमुखलाई अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्ष किन भन्ने प्रश्न नआएको होइन । तर, पहिलो पटक विदेश जाँदा बालेनकै अनुरोधमा भिआइपी कक्ष प्रयोग गर्न दिइएको स्रोतले बताएको छ ।
मापदण्डअनुसार भिआइपी कक्षको सूचीमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सरकार प्रमुख, प्रधानन्यायाधीश, सभामुख, पूर्वराष्ट्रप्रमुख, उपप्रधानमन्त्री, मन्त्री, संसद्का विपक्षी दलका नेता, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख, उपसभामुख, राज्यमन्त्री छन् । त्यस्तै, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, प्रज्ञा प्रतिष्ठानका कुलपति,उपकुलपति, सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषद्का सदस्य, सहायक मन्त्री, सांसद, संवैधानिक निकायका प्रमुख तथा सदस्य, महान्यायाधिवक्ता, मुख्यसचिव, प्रधानसेनापति, संसद्का महासचिव, उच्च अदालतका मुख्य न्यायाधीश, योजना आयोगका सदस्य, गभर्नर, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारीले भिआइपी कक्ष प्रयोग गर्न पाउँछन् ।
यसबाहेक नेपालस्थित विदेशी राजदूत, नेपाली राजदूत, सार्कका महासचिव, सर्वोच्च अदालतका रजिस्ट्रार, नायब महान्यायाधिवक्ता, पुनरावेदन अदालतका न्यायाधीश, रथी, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, मुख्य अनुसन्धान निर्देशक, नेपालस्थित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका आवासीय संयोजक, सुरक्षा निकायका विशिष्ट श्रेणीका कर्मचारी र राष्ट्रिय नागरिक उड्डयन सुरक्षा समितिका सदस्यसचिवले भिआइपी कक्ष प्रयोग गर्न पाउने उल्लेख छ । निर्णयमा नभए पनि प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री, सभामुखलाई पनि भिआइपी कक्ष प्रयोग गर्न दिने गरिएको छ । सुनिता डंगोललाई भिआइपी कक्ष प्रयोग गर्न दिँदा अन्य पालिकाका उपप्रमुखलाई दिने कि नदिने ? विमानस्थल प्रशासन संकटमा परेको छ ।
टिप्पणीहरू