झण्डै ढले रविका पार्टनर

झण्डै ढले रविका पार्टनर

बुटवलको सुप्रिम बचत तथा सहकारी ठगी प्रकरणमा भैरहवा जेल पुगेका रास्वपा सभापति रवि लामिछाने र सहकारी सञ्चालक गितेन्द्रबाबु (जी.बी.) राईका साझेदार पूर्वडिआइजी छविलाल जोशी बञ्जाडेको स्वास्थ्यमा समस्या देखिएपछि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । 

जोशीको प्रेसर छिनछिनमै बढ्ने, चिडचिडाहट देखिने लक्षणका साथै डिप्रेसनमा जाने सम्भावना भएपछि अस्पतालकै क्याबिनमा राखेर उपचार गर्न अनुमति दिइएको हो । तीन महिनाअघि सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रूपन्देहीले उनलाई थुनामा पठाएको थियो । जोशीले नियमित औषधि सेवन गर्दै आएका थिए । एउटै प्रकरणमा समातिएका रास्वपा अध्यक्ष रवि लामिछानेलाई जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो भने जोशीलाई थुनामा पठाएको थियो । स्रोतका अनुसार जेलमा हुँदा हर्ट एट्याक भई ढलिएलाजस्तो भएपछि उनलाई पछिल्लो पटक अस्पताल लगिएको हो । 

उच्च अदालत तुलसीपुरले लामिछानेलाई पनि पुर्पक्षका लागि थुनामा राख्न आदेश जारी गरेको भोलिपल्टैदेखि छविमा डिप्रेसनको लक्षण देखिएको बताइन्छ । उनले उच्च र सर्वोच्च अदालतमा कि रवि लामिछानेलाई पनि थुन, कि मलाई पनि छोड भन्ने जिकिर लिँदै आएका थिए । उच्च अदालतले लामिछानेलाई पनि जेल पठाउन आदेश गरेपछि जोशीमा एकाएक डिप्रेसन बढेर गएको बताइन्छ । उच्च  लामिछानेलाई चैत २२ गते उही कारागारमा पठाएको हो । 

एउटै प्रकरणअन्तर्गत थुनामा रहेका पार्टनरमध्ये लामिछानेलाई जेलभित्र अलग्गै कोठामा राखिएको छ । उनी जेलभित्र पुस्तक पढ्नमा रमाउन थालेका छन् । लेख्नभन्दा बोल्न सिपालु लामिछानेलाई जेलमा भेटघाट गर्न बेलाबेला रास्वपाका सीमित कार्यकर्ता पुग्ने गरेका छन् ।
 

टिप्पणीहरू