बराह क्षेत्रले जे देखाउँछ, जे बोल्छ

बराह क्षेत्रले जे देखाउँछ, जे बोल्छ

सुनसरी जिल्ला भएर बग्ने कोशी र कोका नदीको संगमस्थल बराहक्षेत्र एक धार्मिक स्थल मात्र होइन, पृथ्वीको आदि चेतनासँग जोडिएको अनौठो शक्तिकेन्द्र पनि हो। विष्णु भगवानको बराहअवतार यही स्थलमा प्रकट भई पृथ्वीलाई जलमग्नताबाट उद्धार गरेको विश्वास प्राचीन ग्रन्थमा पाइन्छ ।

हिन्दू शास्त्र, रामायण, महाभारत र सबै पुराणमा यस स्थानको महिमा विस्तारले गाइन्छ । किराँत समुदायले समेत यस क्षेत्रलाई पवित्र स्थल मानेको छ । पौराणिक र वैज्ञानिक दुवै दृष्टिले रहस्य बोकेको महत्वपूर्ण धार्मिक स्थल बराहक्षेत्र ‘धर्तीको पहिलो तीर्थ’ भनेर चिनिन्छ । नदीको सुगन्ध, मन्दिरको घण्टी र पूजामा तल्लीन अनुहारहरू, मुख्य मन्दिरमा बराहको मूर्ति कुनै सामान्य प्रतिमा होइन—चन्दनरूपी शिलामा निर्मित बराह भगवानको स्वरूप, शीर बँदेल र शरीर मानवीय, कम्मरमा दुवै हात, शान्त मुद्रा, सालको पातले ढाकिएको गहिरो दिव्यता—यी सबैको दर्शन गर्दा आत्माको गहिरो तलाउ हल्लिन्छ ।

पौराणिक कथाअनुसार, जब हिरण्याक्ष नामको दैत्यले पृथ्वीलाई जलमा डुबाउन खोजे, तब भगवान विष्णुले बराहको रूप लिएर पृथ्वीलाई बचाए र त्यही भूमिमा बिराजमान भए, त्यही भूमि हो बराहक्षेत्र । धर्मले जसरी यस घटनालाई ‘उद्धार’ को कथा बनाएको छ, विज्ञानले पृथ्वीको पुनर्संरचना र उत्थानसँग जोडेको देखिन्छ । बराहक्षेत्रको अर्को महत्वपूर्ण पौराणिक पक्ष हो समुद्रमन्थनपछि प्राप्त अमृतको रक्षा । अमृतको थोपा जोगाउँदै भगवान विष्णुले त्यसको एक भाग यही बराहक्षेत्रमा सुरक्षित राखेको भनिन्छ ।

जसरी त्रिवेणी संगम प्रयागराज प्रसिद्ध तीर्थ बनेको छ, त्यसरी नै बराहक्षेत्रलाई पनि परमश्रेष्ठ तीर्थ मानिएको छ । त्यहाँका सन्तको कथनअनुसार, कोशी नदीका सात धाराहरू र चन्द्रमाकी छोरी कोकाको संगममा स्नान गर्दा मात्र पाप क्षय हुन्छ, पितृहरूको नाम उच्चारण गर्दा मुक्तिको मार्ग खुल्छ । विज्ञानले यस्तो जलसंगमलाई प्राकृतिक ऊर्जाको केन्द्र मान्दछ ; जहाँ पृथ्वीको चुम्बकीय तरंग क्रियाशील हुन्छन्, जसले ध्यान, शुद्धता र मानसिक शान्ति हासिल गर्ने मार्गदर्शन गराउँछ ।

बराहक्षेत्रमा दैनिक पूजा भइरहेका प्राचीन मूर्तिहरू—लक्ष्मी, पञ्चायन, गुरुबाराह, सूर्यबराह, कोकाबराह, नागेश्वर आदिले हामीलाई सांस्कृतिक एकताको सन्देश दिन्छन्। मन्दिर परिसरको हालको स्वरूप १९९१ सालमा जुद्धसमशेरले पुनर्निर्माण गराएका रहेछन्, जुन नेपालको धार्मिक सम्पदामा उनको योगदानको साक्षी बनेर रहेको छ । नदीकिनारमा बसेर एकछिन त्यो बहाव, त्यो स्वर र त्यो दृश्यलाई शान्त भावले हेर्दा त्यो समयमा हामी त्यहाँ आफैँलाई हराएजस्तो पायौं ।

बराहक्षेत्र ऐतिहासिक अथवा पौराणिक स्थलमात्र नर्भ चेतनाको थलो हो, जहाँ मान्छेले आफ्नो उत्पत्तिको, जीवनको र आत्माको अर्थ खोज्न सक्छ । यो नियात्रा कुनै पर्यटकीय घुमफिर थिएन, यो एक दृश्यभित्रको अदृश्य यात्रा थियो अर्थात् धर्तीबाट आत्मासम्म जीवितै पुगेको अनुभूति गराउने दिव्य भ्रमणजस्तो,आहा गीतमा सुनेको शब्दजस्तै सुन्दर, शान्त, विशाल, हाम्रो देश नेपाल ।

टिप्पणीहरू