मृत्युदण्ड पाएकी राजकुमारीको महिमा

सन् १९१२ मा चीनबाट राजतन्त्र फालिँदा जिन पिहुइ मात्र ५ वर्षकी थिइन् । उनी मञ्चु राजवंशका राजकुमार सु (आइताङ) की पुत्री हुन् । आइताङका ५ पत्नी, २१ छोरा र १७ छोरी थिए, पिहुइ १७ मध्ये १४ औँ पुत्री थिइन् । चीनका अन्तिम सम्राट् पु यी उनीभन्दा १ वर्ष मात्र जेठा थिए । दुवै एउटै दरबारमा सँगै हुर्केका थिए । पु यीका पिता चुन पनि राजकुमार नै हुन् । क्रान्तिद्वारा २ सय ६८ वर्ष पुरानो छिङवंशको शासन अन्त्य गरिँदा पु यी मात्र ६ वर्षका थिए । उनी २ वर्षकै उमेरमा राजा बने । राजतन्त्रको अवसानपछि पनि पु यीलाई गणतान्त्रिक सरकारले बेइजिङस्थित राजदरबारमै रहन दियो । रोचक कुरा, बालक पु यीले आफू राजा नरहेको कुरा एक वर्षपछि मात्र थाहा पाएका थिए, त्यो पनि उनलाई पढाउने शिक्षकले भनेपछि ।
राजतन्त्रको अन्त्यपछि राजकुमार सु र उनको परिवारलाई जापानी मित्र नानिवा कावासिमाले भगाउन मद्दत गरे । उनले सुको परिवारलाई सुरक्षा मात्र प्रदान गरेनन् जापानी सेनाको सहयोगमा मञ्चु–मंगोल क्षेत्रमा पुनः शासन स्थापना गर्न खोजे । उक्त प्रयास असफल भयो र सुले ८ वर्षकी छोरी पिहुइलाई जापान लान कावासिमाको जिम्मा लगाए । कावासिमा पिहुइलगायत सुका आधा दर्जन सन्तानलाई लिएर जापान उडे । उनीहरूलाई आफ्नै घरमा राखेर पढाए । साथै, पिहुइको जापानी नाउँ योसिको कावासिमा राखिदिए । योसिको राजकुमारी थिइन्, जापान पुगिसक्दा पनि परम्परालाई त्याग्न सकिनन् । उनी स्कूल घोडा चढेर जान्थिन् । जुडो र केन्दोजस्ता मार्शल आर्टस सिकिन् । साथै, केटाको पहिरनमा हिँड्न थालिन्, कपाल पनि काटिन् ।
उनले यसो गर्नुको एउटा कारण नाबालिग हुँदै कावासिमाले पटक–पटक यौनिक व्यवहार र १७ वर्षको उमेरमा बलात्कार गरी पछि बिहे गर्न दबाब दिनु हो भनिन्छ । तीन पटक आत्महत्या गर्ने कोसिस नगरेकी पनि होइनन् । स्मरणीय छ, योसिको १६ पुग्दा उनका धर्मपिता कावासिमा ५९ का थिए । योसिकोले केटो जस्तो बन्न कपाल काटेको र उस्तै पहिरनमा हिँड्ने गरेको खबर जापानी पत्रिका आसाही सिम्बुनले समेत प्रकाशन गरेको थियो । समाचार आएको पर्सिपल्ट उनले पत्रकारलाई भने ‘ममा सानैदेखि तेस्रोलिंगीप्रति झुकाव छ, त्यसैले सामान्य महिलाको लक्षणलाई पछ्याउन सक्दिनँ । मलाई केटाहरूले जस्तै काम गर्ने इच्छा छ ।’
सन् १९२७ को नोभेम्बरमा उनीसँगै जापान पुगेका एक जना दाजु र धर्मपिताले भित्री मंगोलियाको सैन्य जर्नेलका छोरो गन्जुउर्जबसित बिहे गराइदिए तर यो ३ वर्षभन्दा बढी टिकेन, किनभने उनी बिहे गर्नै चाहन्न थिइन् । उनी मंगोलियाबाट फर्किन् र टोकियोमा लफाङ्गाकाे जीवन बिताइन् । दर्जनौँ धनी पुरुष र महिलासित शारीरिक सम्बन्ध राखिन् । स्पाइ माष्टर हायामी कावासामीबाट जासुसी तालिम पनि लिइन् र सांघार्ई पुगिन् । त्यहाँ ‘ब्ल्याक ड्रागन सोसाइटी’ नामक जापानी गोप्य संगठनको सम्पर्कमा पुगिन् । सोही संगठनले जापानी सैन्य जर्नेल र्युकुची तानाकासँग भेट गराइदियो । तानाका त्यसबखत मञ्चुरिया र भित्री मंगोलियामा जासुसी सञ्जाल विस्तार गर्न लागिपरेका थिए । उनले त्यहाँका कुलिन महिला पुरुषसित सम्बन्ध बढाउन योसिकोलाई प्रयोग गरे । सन् १९३२ को जनवरीमा सांघाईमा जापानी सेनाले निहत्था चिनियाँँ नागरिकमाथि सशस्त्र आक्रमण गर्दा उनी तानाकासँग सुतिराखेकी थिइन् । काम गर्दागर्दै उनी तानाकाको प्रेमिका बन्न पुगिसकेकी थिइन् । सांघाई बस्दै दुवै जना एउटै कोठामा सुत्थे ।
पछि तानाकालाई जापानले फिर्ता बोलायो तर उनीसँग सिकेको गुप्तचरीको काम योसिकोले छाड्न सकिनन् । र, जर्नेल केन्जी डोइहाराको मातहत काम गर्न थालिन् । केन्जीले उनलाई मञ्चुरिया बोलाए र गोप्य अभियान सञ्चालन गर्न लगाए । योसिको कहिले टम ब्वाइ त कहिले हिरोइन् जस्तो बनेर हिँड्थिन् । उनीमार्फत जापानले त्यो बेला कुलिन चिनियाँ महिला पुरुषको बीचमा ठूलो जासुसी सञ्जाल विस्तार गर्न सफल भएको थियो । योसिकोको सम्बन्ध चिनियाँ अन्तिम सम्राट् पु यीसित थियो । पु यी त्यसबेला मञ्चुरियाको राजा बन्ने कोशिसमा थिए । गणतन्त्रलाई कमजोर पार्न जापान पनि उनैलाई मञ्चुरियाको राजा बनाउने खेलमा लागेको थियो । अतः अपदस्थ राजा पु यी, अपदस्थ राजकुमारी योसिको र जापानी सैनिक मिले । पु यीलाई कठपुतली राजा बनाउने योजना थियो । योसिकोले जापानको यो अभियानलाई सार्थक बनाउन हरसम्भव कोसिस गरिन् । उनी त्यो बेला थ्यान्जिनमा बस्थिन् । यसर्थ राजपरिवारका सदस्यहरूलाई त्यतै बोलाइन् ।सन् १९३४ मा जापान पु यीलाई मञ्चुरियाको राजा बनाउन सफल भयो । योसिकोले पु यीको शासनलाई बलियो पार्न सहयोग गर्दै गइन् ।
पु यीको सैनिक सल्लाहाकार थिए हायाओ तादा । संगै काम गर्ने सिलसिलामा योसिको र तादा प्रेम गर्न पुगे । योसिकोले तादाको सहयोगमा ५ हजारजना सम्मिलित प्रतिक्रान्तिकारी सैनिक टुकडी गठन गर्न सफल भइन् । आफ्नो वंशको शासन समाप्त पारेकोमा गणतन्त्रवादीसित उनी निकै रुष्ट थिइन् । एक किसिमले मातृभूमिलाई घृणा गर्थिन् । त्यसैले नेक्कामा अवस्थित ग्रेट वाल खण्डमा आक्रमण गर्न जापानी सेनालाई उक्साइन् । त्यो बेलासम्म योसिको मञ्चुरियामा सबैमाझ लोकप्रिय बनिसकेकी थिइन् । राजकाज र प्रशासनमा उनको रजगज चल्थ्यो । जापानविरुद्ध लड्दै गरेको चियाङकाइ शेकको सरकार र छापामार युद्ध लड्दै गरेका कम्युनिष्टहरू दुबैको सूचना संकलन गरेर जापानी सेनालाई दिने गर्थिन् । उनी मञ्चुरिन रेडियोमा बोल्थिन्, गीत सुनाउँथिन् । स्थानीय पत्रपत्रिकाले पनि उनको बहादुरीबारे भए नभएको कथा बुनेर छाप्थे । चीनस्थित जापानी सेनाको ‘क्वान्तुङ’ फौजले पनि उनलाई भरपुर प्रयोग गर्दै थियो, उनीबाट चिनियाँहरूको एकएक सूचना लिने गथ्र्यो । अतः उनी जापानी सेना र राजतन्त्र समर्थक मञ्चुरियाका जनतामाझ झनझन् लोकप्रिय बन्दै गइन् ।
यसबीच, सन् १९३७ मा चीन र जापानबीच दोस्रो युद्ध भयो । यसबेला पिहुइले खेलेको भूमिका नराम्रोसित पर्दाफास भयो । जनताले उनको भूमिकालाई मन पराएनन् । किनभने उनको भूमिका मातृभूमिविरोधी थियो । ८ वर्षसम्म चलेको यो युद्धमा जापान पराजित भयो । चीन मुक्त भयो । जापान पराजित भएपछि समातिने डरले भाग्दै हिँडिन् । एक स्थानबाट अर्को स्थान लुक्दै हिँड्दाहिँड्दै युद्ध सकिएको दुई महिनापछि नोभेम्बर ११ मा पक्राउ परिन् । त्यसबखत पनि उनी केटाकै भेषमा थिइन् । उनलाई तत्कालै हेपेइस्थित मोडल जेलमा पठाइयो । उनीमाथि चिनियाँ सरकारले देशद्रोहीको आरोपमा मुद्दा चलायो । शुरुमा जापानी भनी मुद्दा चलाइएको थियो तर पछि सक्कली नाउँ जिन पिहुइ भन्ने थाहा पाइसकेपछि सोही नाउँमा मुद्दा अघि बढ्यो । अदालतमा उनले आफूमाथि युद्धबन्दीको व्यवहार गर्न माग गरेकी थिइन् तर अदालतले घरेलु देशद्रोही घोषणा ग¥यो । र, टाउको पछाडि गोली हानेर मार्ने फैसला सुनायो ।
सन् १९४८ मार्च २५ को दिन जेल बाहिरको खुला चौरमा लगियो । टाउको छोप्न लगाइयो । अनि सैनिकतर्फ हेर्दै उभिइरहेकी उनलाई पछाडि फर्कन भनियो । टाउको अर्कोतर्फ फर्काउनेबित्तिकै टाउकोमै पर्ने गरी गोली हानियो । उनलाई मार्न लानुअघि सैनिकले खल्तीमा एउटा कागज फेला पारेका थिए । जसमा एउटा कविता थियो, जुन उनले जेल बस्दा लेखेकी थिइन् । गोलीले क्षतविक्षत उनको लाश कैयौं दिनसम्म सार्वजनिकस्थलमा राखियो ताकि सर्वसाधारणले हेर्न सकुन् र भविष्यमा उनले जस्तै अरुले आफ्नै देशमाथि गद्दारी गर्ने हिम्मत नगरुन् । लाश कसैले उठाउन नआएपछि एक जना जापानी बौद्ध भिक्षुले लिएर गए । र, अन्तिम संस्कार गरे । अनि अस्तु जापानको मात्सुमोतो पठाइदिए, जहाँ उनका धर्मपिता र परिवार बस्थे । उनीहरूले उक्त अस्तु सोरिन्जी मन्दिरमा गाडे । उनी त्योबेला ४१ वर्षकी थिइन् । उनीबारे हङकङले एउटा चलचित्र पनि बनाएको छ– दि लास्ट प्रिन्सेज अफ मञ्चुरिया ।
टिप्पणीहरू