सम्झौतापछि समीक्षा गर्दै शिक्षकहरू

सम्झौतापछि समीक्षा गर्दै शिक्षकहरू फाइल फाेटाे

झण्डै एक महिनादेखि आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच हिजो सम्झौता भएको छ । मुलुकभरका सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरेर राजधानी ओइरिएका उनीहरुको आन्दोलनमा केही शिक्षक घाइते भएका छन् ।

हिजो साँझ भएको शिक्षकका सेवासुविधा र वृत्ति विकाससम्बन्धी ९ बुँदे सहमतिलाई रातिको क्याबिनेट बैठकले अनुमोदन गरेपछि महासंघले आन्दोनल फिर्ता लिएको छ । शिक्षकहरु विद्यार्थी भर्ना, नियमित कक्षा सञ्चालन र परीक्षा सञ्चालनमा जुट्ने र सरकार असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्न प्रतिबद्ध देखिएका छन् ।

हिजोसम्म भएको आन्दोलनमा नेपाल राहत शिक्षकहरु पनि सहभागी थिए ।  उनीहरुले हिजो अबेर भएको सम्झौता आन्दोलनको मूल मर्मअनुसार भयो वा भएन भन्नेबारे आज समीक्षा गर्न लागेका छन् । काठमाडौमा रहेका राहत शिक्षकहरुको संगठनका सबै केन्द्रीय तथा जिल्ला समितिका पदाधिकारीहरुलाई बैठकमा उपस्थितिको लागि अनुरोध गरिएको छ ।

समीक्षा दिउँसो १ बजे पुतलीसडकस्थित पद्यमोदय माध्यमिक विद्यालयमा हुने बताइएको छ । कतिपय शिक्षकहरुले महिना दिनसम्म चलेको आन्दोलनको उपलब्धि न्यून भएको प्रतिक्रिया दिएका छन् । शिक्षकहरुको आन्दोलनका कारण गतसाता शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिनुपरेको थियो ।

टिप्पणीहरू