शिक्षकले धोका दिएको कर्मचारीको आरोप, आन्दोलन नरोक्ने

शिक्षकले धोका दिएको कर्मचारीको आरोप, आन्दोलन नरोक्ने

सरकार र नेपाल शिक्षक महासंघबीच भएको ९ बुँदे सहमतिप्रति विद्यालय कर्मचारीले असन्तुष्टि जनाएका छन् । आज विज्ञप्ति सार्वजनिक गर्दै नेपाल विद्यालय कर्मचारी परिषदले हिजो बेलुकाको उक्त सहमति अस्वीकार गर्ने बताएको छ । 

व्यक्तिगत स्वार्थका लागि महासंघ नेतृत्वले विद्यालय कर्मचारीलाई प्रयोग गरेको जिकिर गर्दै परिषद्ले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएको छ । 

‘प्रस्तुत विषयका सम्बन्धमा नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिद्धारा घोषित दोस्रो चरणको सडक आन्दोलनको २९ औं दिनपश्चात् मिति २०८२–०१–१७ गतेका दिन नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच भएको वार्ता र फिर्ता गरिएको आन्दोलनको कार्यक्रमको विषयमा नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिको पूर्णरुपमा असहमति रहेको व्यहोरा सबैमा जानकारी गराउँदै नेपाल विद्यालय कर्मचारी परिषद्को संस्थागत धारणाबाहेकका सहमतिको घोर भर्त्सना गर्दछौं’, विज्ञप्तिमा उल्लेख छ । 

महासंघका पदाधिकारीहरुले सहमतिका क्रममा विद्यालय कर्मचारीलाई बिर्सिएको परिषद्का अध्यक्ष गंगाराम तिवारीले बताए । विद्यालयका कर्मचारीको तलब बढाउने विषयमा महासंघले कुरै नगरेको उनको भनाइ छ । 

‘हामीहरुले आन्दोलनको शुरुवातमै उहाँहरुलाई अवधारणा पत्र बुझाएका थियौं । उहाँहरुसँगै हामी २९ दिन आन्दोलनमा होमियौं । हिजो सहमतिका क्रममा उहाँहरुले हाम्रो मागलाई नजरअन्दाज गर्नुभयो । मैले बैठकमा कुरा उठाएपनि उहाँहरुले सुनेको नसुन्यै गर्नुभयो । सहमतिमा हाम्रो कुनैपनि माग समेटिएको छैन् । यसविषयमा हामी समिक्षा बैठक बस्दैछौं । उहाँहरुले आन्दोलन रोकेपनि हामी माग पुरा नभएसम्म रोकिँदैनौं’, उनले भने ।  

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै गत चैत २० गतेदेखि आन्दोलनरत शिक्षकहरुले सरकारसँग नौं बुँदे सहमतिपछि आन्दोलन फिर्ता लिएका छन् ।
 

टिप्पणीहरू