नेपाली दूतावास पुगे भारतीय विश्वविद्यालयका प्रतिनिधि

नेपाली दूतावास पुगे भारतीय विश्वविद्यालयका प्रतिनिधि

भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा साह मृत भेटिएको घटनाबारे नेपाली दूतावासले विश्वविद्यालयका प्रतिनिधिसँग सोधपुछ गरेको छ । 

नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले आज बिहान केआईआईटीका प्रतिनिधिसँग दूतावासमा घटनाबारे सोधपुछ गरेको जनाएको छ । जारी विज्ञप्तिमा भनिएको छ, ‘यस राजदूतावासले केआईआईटीमा रहेका नेपाली विद्यार्थीलगायत भारतको केन्द्रीय सरकार एवं ओडिसाको मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित भारतीय निकायहरुसँग निरन्तर सम्पर्क एवं समन्वय गरिरहेको छ । साथै, आज बिहान केआईआईटीका प्रतिनिधिलाई राजदूतावासमा बोलाई उक्त घटनाका बारेमा जानकारी लिएको थियो ।’ 

घटनाबारे राजदूत डा.शंकर शर्माले ओडिसाका मुख्यमन्त्री मोहनचरण माझी तथा उक्त राज्यका प्रमुख सचिवसँगको टेलिफोन सम्पर्कमा घटनाको निष्पक्ष छानबिनका लागि अनुरोध गरेको पनि जनाइएको छ । 

‘सो घटनाको स्वतन्त्र एवं निष्पक्ष तवरले अनुसन्धान हुन तथा शैक्षिक संस्थामा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीको सुरक्षाको प्रत्याभूति हुन जोड दिइएको’ दूतावासको भनाइ छ । पर्सा वीरगञ्जकी प्रिशा हिजो होस्टल कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । यसअघि गत फागुनमा बुटवलकी छात्रा प्रकृति लम्सालको पनि सोही विश्वविद्यालयमा झुण्डिएको अवस्थामा शव भेटिएको थियो ।

टिप्पणीहरू