तिमी एक्लो छैनौ...

- राहुल भट्टराई
हुआहिन, थाइल्याण्ड
मेरो मस्तिष्कबाट फुटबलको क्रेज डिलिट भएको करिब १० वर्ष नाघ्यो । फुटबलप्रति म निकै आकर्षित थिएँ । अतितको परिवेश र रुचीहरूको आकस्मिक मिलन थियो त्यो सायद ।
फुटबल प्रेमीहरू एककट्ठा हुन्थ्यौँ ठूला म्याच खेलिने रात । म्याच हेर्न कै लागि राति अनिँदो बस्थ्यौँ । कसैको कोठामा होस् वा कुनै रेस्टुराँमा, साथीभाइहरूको जमघट भइछाडथ्यो । मन मिल्ने साथीहरूको आगमन हुन्थ्यो । अनि उत्साह अझै चुलिन्थ्यो ।
बियरका बोतलहरू प्वाट्टप्वाट्ट खोलिन्थे । नशा झम्म चड्थ्यो, उता खेलाडीहरू तँछाडमछाड गर्थे । यता हामी रेफ्रीलाई रातो कार्ड देखाउन दबाव दिन्थ्यौँ । मानौँ उनीहरू हैन हामी स्वयम् मैदानमा छौँ । डेबिड बेक्हमले हैन फ्री–किक मैले लिँदैछु । ओवेनले हैन गोल मैले गर्दैछु ।
सन् २००० अर्थात् दोस्रो मिलेनियमको अन्तिम वर्ष । दुई सदीको सङ्गम भएको कालखण्ड । म भर्खरै २०औं बसन्तमा टेक्दै थिएँ । म जस्तै किशोरावस्थाका ठिटाहरूको एउटा झुण्ड थियो । सप्ताहको अन्तिम दिनहरूमा हामी प्रिमियर लिग हेथ्र्यौँ ।
म माइकल ओवेनको युगको मान्छे । फुटबलप्रतिको मेरो लगावमा उनको निकै ठूलो हात छ वा खुट्टा छ त्यो थाहा भएन । सम्झी ल्याउँदा सन् २००० बाट २००५ सम्मलाई ओवेनको स्वर्ण युग भन्न मिल्छ । सन् २००१ मा लिभरपुललाई तीन वटा उपाधिहरू जिताउन उनकै गोलहरूले प्रमुख भूमिका खेलेका थिए भन्दा गल्ती हुँदैन । रबी फौलर, एमिल हेस्की, जनआर्ने रिसे र स्टिबिन जेराड्को संगलग्नताले निकै दह्रो टीम मानिन्थ्यो लिभरपुल । त्यही समय देखी नै होला लिभरपुलको फ्यान बन्न पुगेछु ।
प्रत्येक फुटबल ऋतुमा लिभरपुलले केही न केही उपाधि जितेकै हुन्थ्यो । यसै क्रममा इस्तानबुल तुर्कियेमा एउटा यादगार उपाधि हात पारेको थ्यो ‘दि रेड्स्’ले । सन् २००५ च्याम्पियन्स लिगको अन्तिम चरण (फिनाले) गेममा चमत्कारै भाथ्यो । लिभरपुलका कुनै समर्थकले यो इतिहास चाहेर पनि भुल्न सक्ने छैनन् । ठ्याक्कै २० वर्ष बितिसकेछ ।
तर ‘तिमी एक्लो छैनौ’ ! भन्ने स्लोगन इस्तानबुलको रंगशालामा अझै चर्किन्छ होला ।
एसी मिलानले लिभरपुललाई पहिलो हाफमै ३–० ले लिड गरिरहेको अवस्था थियो । लिभरपुलका धेरै समर्थकहरू आक्रोश देखिन्थे । खेल पूरै नहेरी कति दर्शकहरू निराशाका साथ टीभी बन्द गरेर सुतिदिए। हारलाई स्वीकार गरिसकेका थिए ।
दोस्रो हाफ जब शुरु भो, लिभरपुल ‘अब हार्नका लागि केही पनि बाँकी छैन’ जस्तै मन बनाएर मैदानमा उत्रियो ।
बिन्दास र निडर भएर खेल्यो ।
अनुहारहरूमा दबावको कुनै झलक थिएन ।
दोस्रो हाफ सुरु भएको १० मिनेटमै क्याप्टेन जेराड्ले लिभरपुलका लागी पहिलो गोल फर्काए । जेराड् आफ्ना दुवै हात हल्लाउँदै, कहिले चिच्याउँदै घरीघरी दर्शकहरूको नजिक जान्थे । खेलाडीहरूको हौसला बढाउन समर्थकहरूलाई प्रेरित गरिरहन्थे ।
उनी सायद समर्थकहरूलाई याद दिलाइरहेका थिए, ‘चलचित्र अझै बाँकी छ !’
त्यसरी नै ५५ देखि ६० बीच जम्मा ५ मिनेटको अवधि भित्रै तीन गोल फर्कायो क्यापटेन जेराड्को टोलीले । र गेमलाई पुनः आफ्नो हातमा ल्याउन सफल भयो । बदलिएको मानसिकताले परिणाम पनि बदलियो ।
त्यसपछि मिलानले पनि लगातार आक्रमण गर्यो ।
बल र बुद्धि दुवै प्रयोग गरेर ९० मिनेटसम्म स्कोरलाई ३–३ मै रोक्न सफल भए लिभरपुलका डिफेन्डरहरू । ९० मिनेटको अवधिभित्र कुनै नतिजा नआउँदा खेल पेनाल्टी शुटआउटसम्म पुग्यो ।
अन्त्यमा जार्जी ढुडेकको अप्रत्याशित चातुर्यताले लिभरपुललाई बचायो । र सन् २००५ च्याम्पियन्स लिगको उपाधि जिताएरै छाड्यो ।
यो थियो लिभरपुलले च्याम्पियन्स् लिग उपाधि जितेको एउटा सुनौलो इतिहास। तर प्रिमियर लिगको उपाधि कहिल्यै जित्न सकेन ।
जतिबेला म सबमा खास समर्थक थिएँ, त्यो बाँझो खेतमा कहिल्यै यो उपाधि फल्न सकेन । मनमा त्यसको अभाव खट्की रहन्थ्यो । कोभिडको महामारीमा करिब ३०–३५ सालको बाँझोपनपछि त्यो उपाधि हासिल त गर्यो, तर मज्जा आएन । रुनु कि हाँस्नु जस्तो समय थियो । उत्सव मनाई रहने कुरै आएन ।
आज यो लामो प्रतिक्षा समाप्त भएको छ । लिभरपुल प्रिमियर लिगको विजेता बनेको छ । गत बुधवार टेबलको दोस्रो स्थानमा रहेको गान्नर्स र स्परबीचको खेल २–२ मा बराबर भएको थियो। त्यसैले लिभरपुललाई आजको गेमबाट जम्मा एक अङ्क मात्र लिनु थियो । त्यो अङ्क आजको जितले भर्पाइ गरिदिएको छ ।
पहिले जस्तो लिभरपुललाई पछ्याउन छोडिदिएको छु म आजकल। त्यैपनि धेरै हर्षोल्लास छ छातीमा । जस्तै कुनै पुरानी प्रेमिकाको शुभ समाचार अचानक सुन्न पाउँदा त्यो प्रेमी हर्षित हुन्छ ।
जब कुनै चिजमा आशक्त रहँदैन त्यो चिज आफैं पोल्टोमा पर्छ कहिलेकाहीँ । नभन्दै त्यस्तै भएको छ आज। कुनैबेला मरिहत्ते गर्दापनि प्राप्त हुन नसकेको त्यो उपाधि आज नमागी हासिल भएको छ । अन्ततः लिभरपुलले आफ्नो लक्ष्य प्राप्त गरेको छ ।
‘लम्बी जुदाई’
आज मिलनमा परिणत भएको छ । ‘उपरवालेके घरमें देर है अन्धेर नहिँ’ यो हिन्दी उक्तिले आज न्याय पाएको छ ।
‘जाने कितने दिनौँके वाद गलीमेँ आज चाँद’ साँच्चै निक्लेको छ ।
समयले निकै छिटो काँचुली फेरिसकेछ । हिजोआज जिम्मेवारीहरू काँधमा चढेर फुटबल खेल्छन् । ओवेन र बेक्खमहरू धमिला याद बनिसकेका छन् । त्यो परिवेश, किशोरावस्था र युगको वापसी अब सम्भव छैन ।
प्राथमिकताहरू बदलिँदै गए । समयले नयाँ मागहरू राख्दै गयो ।
मागहरूको परिपूर्ति गर्ने क्रममा फुटबल गेमहरू कता छोडिए कता ? जिम्मेवारीहरूले मान्छेलाई समय भन्दा चाँडो परिपक्व बनाइदिन्छ । दायित्वहरूको भार बोक्नै पर्ने हुन्छ । तर कहिलेकाहीँ आफ्ना रहर हरूका लागि पनि बाँच्नुपर्दो रहेछ ।
लिभरपुलको सामीप्यता दर्शाउने त्यो स्लोगन सारै मनपथ्र्यो । एक्लोपनमा साथ दिने स्लोगन, हौसला नहार्न प्रेरित गरिरहने स्लोगन, जीवनको यात्रा साथ दिने जस्तो स्लोगन र हमेशा हिँडिरहन उक्साउने स्लोगन !
यु विल नेभर वाक एलोन अर्थात् ‘तिमी एक्लो छैनौ !’
बधाई छ लिभरपुल र उसका सम्पूर्ण समर्थकहरूलाई । यो जितले वर्षौं पुरानो आकाङ्क्षालाई सधैंका लागी तृप्त पारिदिएको छ ।
अर्को पट्टिबाट सोच्दा । बेलायत वा युरोपमा रहेका छन् प्रायःजसो हामीले फलो गर्ने फुटबल क्लबहरू । फुटबल खेल्नु वा प्रदर्शन गर्नु उनीहरूको पेशा हो ।
क्लबको लागि अनि आफूको लागि खेलाडी दिनरात प्रशिक्षणमा खटिन्छन्। उनीहरू आफ्नो प्यासनलाई पछ्याउँछन् त्यहीँ प्यासन नै उनीहरूको आयश्रोत पनि हो। नाम कमाएका छन् र दाम पनि । उनीहरूको जीवन चम्किलो छ । उनीहरूलाई त हामी चिन्दछौँ । के उनीहरूले हामीलाई चिन्न सम्भव छ ? हामी हुनु या नहुनुले उनीहरूलाई केही फरक पर्ला ?
रत्तिभर पर्दैन ।
कट्टर समर्थकहरूको मर्मस्पर्शी भावनालाई कुनैपनि ख्यातिप्राप्त खेलाडीले प्रत्यक्षरुपमा महसुस गर्न सक्छ? एउटा गेम जित्नु वा हार्नु खेलाडीहरूकै प्रदर्शनमा भर पर्छ । समर्थकहरूले स्वयम् खेल्दैनन् ।
पछाडिबाट ताली बजाउनमा मात्र सीमित छ एउटा दर्शक । कसैले खेलेको गेममा निर्भर छ एउटा दर्शकको खुशी । दर्शक धेरै थोकले सिमित छ । कसैको नाकले श्वास फेर्न बाध्य छ दर्शक ।
यत्ति बुझ्दाबुझ्दै पनि जुवा र सट्टेबाजी खेल्ने दर्शकको संख्या दिन प्रतिदिन बढ्दो छ । यसको लतले मानसिक स्थिरता भङ्ग हुनु त स्वभाविक नै भइहाल्यो । अझै स्वास्थ्य, सम्पत्ति र पारिवारिक सम्बन्धनहरूका लागि हानिकारक त छँदैछ । सबैलाई थाहा भएकै कुरो हो । जुन खेलको लगाम हाम्रो हातमै छैन । तर त्यसको परिणामले हामी प्रभावित हुने गर्छौँ ।
नाम र दाम कमाउँछन् उनीहरू । तर टाउको फ्यान्सको बढी दुख्ने गर्छ । समय दर्शक हरूको पनि अमुल्य हुन्छ । तर कसैले खेलेको गेम हेर्नमा व्यतित भएको पत्तै पाउँदैनन् । यस्ता यावत तथ्यहरू तेर्सिन्छन यहाँ । कोषौँ टाढा रहेका खेलाडीहरूले हाम्रो ताली र गाली सुन्ने हैनन् क्यारे ।
हाम्रो हाँसो वा आँसु देख्ने पनि हैनन् । खेलहरूमा ठिकठाकको रुचि उचित छ पनि होला । तर कुनै क्लब, टिम, खेल अथवा खेलाडीको वफादार फलोवर बन्नुमा त्यो फलोवरलाई प्रत्यक्ष रुपमा हासिल केनै हुन्छ र ?
त्यसैले युवा मनहरूमा अनुरोध छ ।
दिनरात त्यो एउटा टीम, त्यो एउटा खेलाडी र त्यो एउटा गेमको नतिजाहरूमा भुल्येर आफ्नो मस्तिष्कमा हावी हुन नदिएकै जाती । खेलकुदलाई प्रोत्साहनका लागी र मनोरञ्जनका लागी हेर्नु ठिकै छ । तर सिमा तय हुनुपर्यो । त्यसको सट्टामा कुनै नयाँ इलम वा नयाँनौला कुराहरूमा समय व्यतित गरे बरु धेरै उपयोगी हुनेछ । यसो भनिरहँदा कसैको स्वतन्त्रतामा हस्तक्षेप गरेको चैँ हैन । फुटबल लगायत अन्य धेरै गेमहरूका प्रतक्ष्य प्रसारण दैनिक टिभीमा हेर्न पाइन्छ । त्यसैमा दिनरात मक्ख भएर आफ्नो ध्यान र समयलाई व्यतित गर्नु के बुद्धिमानी हो ?
फुटबल खेल्नु स्वास्थ्यका लागि लाभदायक छ । तर कसैले खेलेकोलाई मात्र हेर्नु वा सट्टेबाजी गर्नु हानिकारक हुन्छ । कुनै सिर्जनात्मक कामका लागि समयलाई खर्च गरेर लाभान्वित बन्नु छ हामी । त्यसैले खेल होस या कुनैपनि मनोरञ्जक विषय– चाहिए भन्दा बढी अम्मल नगरौँ । यो जनचेतना हैन । ज्ञानवद्र्धक छ र अम्मल गर्नैपर्छ भन्ने उद्देश्य पनि हैन । नितान्त मेरो बुझाई र निजी अनुभव हो ।
टिप्पणीहरू