मृत्यु गीत

कविता

मृत्यु गीत

मृत्युका गीतहरु कति गाउनु ? 
जीवनका गीत गाउ अब 

मर्नु त छ नै एकदिन 
को अजम्बरी छ र ? 
तिमी व्यर्थै चिच्याइ रहेछौ 
मृत्युसँग पराजित भएर 
म जीवनको गीत गाइरहेछु 
मृत्युलाई पराजित गरेर । 

म मृत्युसँग जिस्कँदै बस्छु   
तिमी मृत्युदेखि भागी बस्छौ 
भागेर मृत्यु टर्दैन 
जीवनलाई फूल जस्तै फूल्न देउ
कोपिलामै लुछेर 
उजाड बनाउछाैँ फूलबारी किन ?
मलाई जीवन मन पर्छ 
म जीवनको गीत लेखी बस्छु
मलाई फूल मनपर्छ 
म फूलकै कविता कोरी बस्छु  
फूलको विशेषता काँडाबीचमा जब फूल्छ फूल 
म रोमाञ्चित भई मृत्युलाई गम्लङ्ग अँगालो हाल्छु
मृत्यु हारेर जान्छ
म जितेर फर्कन्छु । 

तिमी मृत्यु सम्झेर रुने गर्छौ 
म मृत्यु सम्झेर हाँस्ने गर्छु 
तिमी रोई बस दिनहुँ 
आफ्नो कायरता देखाउँदै  
आगोको नदी बगिरहेको छ 
म मृत्युलाई लघार्दै 
आगोको नदी तरिरहेछु 
रापिलो हिमाल उठाएर 
तातो हिउँको डल्लाले मृत्यु हिर्काइरहेछु
तिम्रो कमजोर मनस्थिति थाहा पाई
मृत्यु तिमीलाई खेदि बस्छ
तिमी चिसा पसिना बगाउँदै 
उधोमुन्टो लाएर बस्छौ किन ?  


बाँचेर पनि मरिरहेका जीवन जस्तै  
बेनाम जिन्दगी बाँचि रहेछौ किन ?
मरेर बाँच्नेहरु शहीद बने होलान्
हाँसेरै मृत्यु पचाइ दिन्छन्
जीन्दगीको अमर पाठ पढाउँदै  
हामीलाई जीवन जिउने कला सिकाई बस्छन् । 

तिमी साह्रै लाछी रहेछौ 
रोएर जुनी कटाई बस्छौ 
तिमी धैर्यशाली रहेनछौ 
तिमी चुपचाप मृत्युसँग आत्मसमर्पण गर्छौ किन ?
तिम्रो बाँच्ने आशा मरिसक्यो र ?  

आउ, मेरो हात समाउ 
म तिमीलाई बाँच्न सिकाउँछु 
म तिमीलाई हाँस्न सिकाउँछु 
उकाली ओराली काटेर
भञ्ज्याङ झरौँला
देउरालीमा ढुङ्गा थपी
नदी खोला तरौँला 
यात्रामा निस्किए पछि
पाइतालामा काँढा बिझी 
ढुङ्गामा ठेस लाग्न सक्छ
गन्तव्य पुग्न सहज पक्कै छैन   
जीवन यात्रा नथाकेरै गन्तव्य पुगौँला
युद्ध जिते सरी 
गर्वले छाति फुलाई 
मन्द मुस्कान साटौँला ।  
तिमी कति लाचारी छौ हौ ?
तिम्रो लाचारीपन देखेर 
मुस्कुराउने जीवन पनि
ठुसुक्क ठुस्कि दिन्छ 
तिमी भाग्न खोज्छौ  
भागेर जाने ठाउँ कहाँ छ ? 
मृत्यु नपुगेको ठाउँ नै छैन 
मृत्यु नपुगेको गाउँ नै छैन 
तिम्रो सुरक्षा तिमी आफैंले नगर्ने हो भने  
मृत्युले तिमीलाई पछार्न सक्छ 
तिमी मृत्युबाट हतास बन्छौ किन ?
मृत्य स्वभाविक प्रक्रिया भए पनि  
तिमीले मृत्युसँग पौँठेजोरी नखेली हुन्न
मृत्युलाई पछार्ने गरी । 

ठीक छ, जीवन जिति सकेपछि 
चौतारीमा विश्राम गराैँला 
ठूलाकान्छा र ठूलीकान्छीहरुलाई 
जीवनका गीत गाउन सिकाऔँला 
तिमीले भने जस्तै 
मृत्यु नजिकै होला
मृत्युलाई धकेली पठाऔँला 
जीवनको जिजीविषा जिवितै छ 
मृत्युसँग जिस्कँदै 
तिम्रै लागि भए पनि
एकै मिनेट
मृत्युकै गीत गाइ बसौँला ।  
   
  सुन्दहरैँचा–६, दुलारी, मोरङ ।

टिप्पणीहरू