प्रधानमन्त्रीको चरित्रहत्या गरेर र्याप गाउने युवक धरौटीमा छुटे

प्रधानमन्त्रीको चरित्रहत्या गरेर र्याप गाउने युवक धरौटीमा छुटे

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अपमानजनक शब्द प्रयोग गर्दै र्याप गाउने युवक धरौटीमा छुटेका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेको इजलासले भोजपुर स्थायी घर भई ललितपुरको पुल्चोक बस्ने ३२ वर्षीय मलुम राईलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा ४० हजार रुपैयाँ धरौटीमा छोड्न आदेश गरेपछि उनी सो रकम बुझाएर छुटेका हुन् । 

उनले प्रधानमन्त्री ओलीको तस्बिर दुरुपयोग गर्दै ‘केपी चोर,देश छोड’ शीर्षकमा र्याप गाएका थिए । उक्त र्याप युट्युबमा अपलोड गरिएको पाइएपछि नेपाल प्रहरीको साइबर ब्यूरोले अनुसन्धान अगाडि बढायो । सो क्रममा उनको अकाउण्टबाट र्याप अपलोड भएको फेला परेपछि ब्यूरोले उनलाई नियन्त्रणमा लियो । ब्यूरोले अनुसन्धान सकाएर गत वैशाख २३ गते अदालतमा मुद्दा दायर गरेको थियोे । 

वैशाख २४ गते न्यायाधीश पाण्डेको इजलासले उनलाई धरौटीमा छोड्न आदेश गरेको अदालत प्रशासनतर्फका अधिकृत हेमन्त भट्टराईले बताए । उनले जनआस्थासँग भने,‘प्रहरी प्रतिवेदनअनुसार वैशाख २३ गते मुद्दा दर्ता भएपछि वैशाख २४ गते उनलाई ४० हजार धरौटीमा छोड्ने आदेश भयो । धरौटी बुझाएर छुटिसकेका छन् ।’

पछिल्लो समय प्रधानमन्त्री ओलीमाथि जनअसन्तुष्टि बढ्दै गएको छ । उनी सहभागी जुनसुकै कार्यक्रममा ‘केपी चोर, देश छोड’ को नारा लाग्ने गरेको छ । यता, ‘केपी चोर, देश छोड’ शीर्षकमा युट्युबमा दर्जनौं गीत सार्वजनिक भएको छ । जसमाथि साइबर ब्यूरोले अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू