महानगरको केन्द्रीय कार्यालयमा ‘ट्रिटमेन्ट प्लान्ट’

महानगरको केन्द्रीय कार्यालयमा ‘ट्रिटमेन्ट प्लान्ट’

काठमाडौं महानगरपालिकाले ‘ट्रिटमेन्ट प्लान्ट’ स्थापना गरेको छ । काठमाडौं प्लाजास्थित महानगरको केन्द्रीय कार्यालय परिसरमा शौचालयबाट उत्पादन हुने फोहोर पानी प्रशोधन गर्न दैनिक पाँच हजार लिटर प्रशोधन क्षमताको ट्रिटमेन्ट प्लान्ट स्थापना गरिएको हो । 

महानगरका अनुसार बिजुलीबाट चल्ने यो प्रणालीमा एरोबिक र एनएरोबिक दुवै विधिबाट फोहोर पानी प्रशोधन हुन्छ । यसको लागत करिब २० लाख रुपैयाँ रहेको जनाइएको छ । 

‘यो नमूना योजना हो । यसको नतिजा हेरेर विस्तार गर्ने छौँ, ’ महानगरकी वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले भनिन्, ‘काठमाडौँको स्वच्छताका लागि घरेलु फोहर व्यवस्थापनसँगै तरल फोहर व्यवस्थापन आवश्यक छ । सानातिना एकाइमा यसको प्रयोगलाई अहिले हामीले परीक्षण गरेका हौँ ।’

३ दशमलव ६० मिटर लम्बाइ, १ दशमलव २० मिटर चौंडाइ र १ दशमलव ९८ मिटर उचाइ भएको प्लान्टभित्र ४ वटा च्याम्वर रहेको महानगरकी वरिष्ठ इन्जिनियर निशा कोइरालाले जानकारी दिइन् । उनका अनुसार शौचालयबाट केही ठोससहितको फोहोर पानी प्लान्टमा पुगेपछि पहिले सेडिमेन्टेसनबाट तरल र ठोस छुट्टिन्छ । त्यसपछि एनएरोविक विधि (अक्सिजन दिनु नपर्ने विधि) बाट प्रशोधन शुरु हुन्छ । 

तेस्रो चरणमा एरोविक (अक्सिजन दिनुपर्ने विधि), चौथो चरणमा फिल्ट्रेसन र डिस्इन्फेक्सन गरिने र यसबाट उत्पादन हुने पानी दुर्गन्धरहित भएपछि बोटविरुवामा हाल्न मिल्ने उनको भनाइ छ । महानगरका अनुसार प्लाजा परिसरमा ७२ वटा शौचालय छन् । अहिले ४४ वटा शौचालयबाट आउने तरल पानीलाई नमूनाका रुपमा प्रशोधन गरिएको छ । यसबाट प्राप्त भएको नतिजाका आधारमा प्लान्टको क्षमता बढाएर थप शौचालयको तरल पानी मिसाइने महानगरले जनाएको छ ।

टिप्पणीहरू