वैकल्पिक राजनीतिका नाममा व्यक्तिको देवत्वकरण !

समाचार टिप्पणी

नेपाली राजनीतिमा हिउँद यामलाई आन्दोलनको मौसम मानिन्छ । इतिहास हेर्दा फागुन-चैत महिनामा व्यवस्था परिवर्तनका ठुल्ठुला आन्दोलनहरू भएका छन् । पञ्चायती व्यवस्थाविरुद्धको पहिलो जनआन्दोलन होस् या राजतन्त्र अन्त्यका लागि भएको दोस्रो जनआन्दोलन हिउँदमै शुरु भएको थियो । तर, हिउँदमा मात्र निर्णायक आन्दोलन हुँदै आएको इतिहास यसपटक बदलिएको छ । 

भदौ २३ र २४ गते जेनजी प्रदर्शनका नाममा भएको हिंसात्मक विद्रोहले केपी ओली नेतृत्वको शक्तिशाली सरकार चौविस घण्टामै ढालिदियो । जेनजी आन्दोलनले एक थान सरकार मात्र फेरेन, देशको राजनीतिलाई पनि नयाँ मोडमा पुर्याईदिएको छ । त्यसयता पुराना राजनीतिक पार्टीहरूको सान्दर्भिकतामाथि उठेका प्रश्न र फागुन २१ को निर्वाचन वरपर राष्ट्रिय राजनीति घुमिरहेको छ । यसबीच नयाँ र वैकल्पिक भनिएका शक्तिहरुबीचको ध्रुवीकरण प्रयासले पछिल्लो केही दिनयता राजनीतिक सरगर्मी एकाएक बढ्न थालेको छ । 

गत शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जेलबाट निस्किएसँगै तात्न थालेको राजनीति अस्तिदेखि मध्यपुसको कठ्यांग्रिन्दो चिसोलाई समेत बिर्साउनेगरी थप गर्माएको छ । हिजो दिनभर त तापक्रम बढेर यतिमाथि पुग्यो कि जेठको उखर्माउलो गर्मीभन्दा कम थिएन । 

र, त्यसको इपिसेन्टर बने काठमाडौँ महानगरका मेयर बालेन साह । जेनजी विध्वंसपछि प्रधानमन्त्रीको अफर हुँदासमेत बाहिर प्रकट नभएका यी पात्र एकाएक आफ्नै नेतृत्वमा पार्टी खोलेर निर्वाचनमा जाने तयारीसहित मैदानमा उत्रिएपछि राजनीतिमा नयाँ तरंग पैदा भएको छ । पुराना पार्टीका असन्तुष्ट नेता, अभियन्ता, कलाकारलगायत विभिन्न क्षेत्रका भाइरल अनुहारलाई समेटेर पार्टी बनाउन लागेका बालेनकै वरिपरी अहिले बहस केन्द्रित छ । 

बालेनले सोमबार रविसँग ६ घण्टा लामो वार्ता गरेका थिए । कमलपोखरीस्थित एक घरमा मध्यरातसम्म चलेको छलफलमा रविले बालेनलाई भावी प्रधानमन्त्री प्रस्ताव गरेको चर्चा चल्यो । त्यसमा दुवै सहमत भएको र सोहीअनुसार यौटै गाडीमा बसेको फोटो भाइरल गराइएको भनिएको थियो । तर, भोलिपल्ट चितवन पुगेका रविले त्यस्तो कुनै सहमति नभएको बताए । त्यसपछि बालेन आफ्नै नेतृत्वमा दल खोल्ने निश्कर्षमा पुगेको र त्यसैअन्तर्गत राजनीतिक भेटघाट थालेको बताइएको छ । बुधबार होटल हिमालयनबाट शुरु भएको भेटघाटले बिहीबार पनि निरन्तरता पायो  । 

बालेनले बुधबार हिमालयन होटलमा बोलाएर डा. भगवान् कोइराला, पूर्वसचिव भीम उपाध्याय, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीसँग भेटेका थिए । राप्रपा नेता ज्ञानबहादुर शाही, सरसरफाई अभियन्ता केपी खनाल, जेनजी फ्रन्टकी संयोजक रक्षा बम, शेरबहादुर देउवासँग अघिल्लो चुनाव लडेका अभियन्ता सागर ढकाल, पूर्व विवेकशील साझाका नेता मिलन पाण्डे पनि भेटघाटमा सहभागी भए ।  

होटलबाट शुरु भएको भेटघाटको यो शृंखला बालेनका सहयोगी कुमार बेनको ज्वागलस्थित घरसम्म आइपुग्दा केही अनौठा दृश्यसमेत देखिए । विभिन्न क्षेत्रका व्यक्तिलाई आफू बसेकै घरमा पालैपालो बोलाएर छलफल गरिरहेका उनलाई भेट्नेको ठूलै लर्को लाग्यो । राणाकालमा श्री ३ को हवेलीमा टाउको कन्याउनेहरूको भीड लागेजस्तै पदीय मर्यादा बिर्सिएर बालेनको अड्डामा लाइन लाग्नेहरुमा बहालावाला मन्त्रीदेखि पूर्वप्रधनमन्त्री हुँदै देशकै सबैभन्दा ठूलो पार्टीका नेतासम्म थिए । 

एउटा स्थानीय तहको प्रमुखलाई भेट्न उनले बोलाएकै ठाउँमा हस्याङफ़स्याङ गर्दै पुगेका थिए, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई । काँग्रेस नेता सुनिल शर्मा र दक्षिणको छिमेकीले रुचाएका पात्र भनी चर्चा गरिएका अमरेशकुमार सिंहले पनि पालो कुरेरै बालेनलाई भेटे । भित्र भेटवार्ता चलिरहँदा बाहिर सञ्चारकर्मीदेखि कलाकारसम्मको भीडभाड उस्तै थियो । 

त्यसो त, राजनीतिमा यस्ता भेटघाट आफैँमा अनौठो होइन । बालेन राजनीतिमा आउँछन् कि आउँदैनन् ? क-कसले उनलाई साथ दिँदैछन् ? बहस त्यो पनि होइन । संविधानले हरेक व्यक्तिलाई राजनीतिक स्वतन्त्रता दिएको छ । त्यसको उपभोग गर्न बालेनदेखि बाबुरामसम्म स्वतन्त्र छन् । सवाल केमात्र हो भने देशको प्रधानमन्त्री भैसकेको व्यक्ति कुनै पात्र विशेषलाई धुरी बनाएर तँछाडमछाड गर्दै भेट्न पुग्नु कति स्वभाविक हो ? व्यक्तिका रूपमा डाक्टर बाबुरामले जसलाई पनि भेट्न सक्छन् । तर, उनी यो देशको पूर्वप्रधानमन्त्री पनि हुन् भन्ने कुरा बर्सन हुँदैन । 

बाबुराम भट्टराई नै हुन्, जसले तीन टाउकेका कारण देश बर्बाद भयो भन्दै व्यक्ति केन्द्रित राजनीतिको विरोधमा बोल्ने गरेका छन् । तर, हिजो कुपण्डोलमा देखिएको दृश्यले भने तीन टाउकोको शक्ति एउटा टाउकामा केन्द्रित गर्न खोजेको त होइन भन्ने शंकाको सुविधा दिएको छ। 

पुराना नेताप्रतिको आक्रोशले बल्ल खाइस भन्न सकिएला, सामाजिक सञ्जालमा वहावाही पनि पाइएला । तर, लोकतन्त्रमा एक व्यक्तिलाई महाराजा बनाएर मुलुकले निकाश पाउँदैन भन्ने कुरा इतिहासले प्रमाणित गरिसकेको छ । सम्भवत: बाबुरामहरूले भनेको वैकल्पिक राजनीति पनि यस्तो होइन होला ।

टिप्पणीहरू