जिल्ला र विदेशमा साविककै हिसाबमा पासपोर्ट

जिल्ला र विदेशमा साविककै हिसाबमा पासपोर्ट

जिल्ला प्रशासन कार्यालय वा विदेशस्थित नेपाली नियोगलाई राहदानी विभागले साविककै हिसाबमा पासपोर्ट उपलब्ध गराउने भएको छ । 

केही समययता राहदानी पुस्तिका अभावका कारण पासपोर्ट छपाई हुन नसक्दा ढिलाई हुँदै आएकोमा अब भने विभागले साविककै हिसाबमा दुई कार्य दिनभित्र पासपोर्ट उपलब्ध गराउने बताएको छ । 

विभागका अनुसार अन्तरिम अवधिका लागि थप सात लाख राहदानी पुस्तिका तथा वैयक्तिकरणलगायत सेवा आपूर्तिको सम्झौताअनुरुप तीन लाख ९६ हजार राहदानी आपूर्ति भइसकेको छ । 

योसँगै पूर्ण क्षमतामा राहदानी वैयक्तिकरण गरी जिल्ला वा इलाका प्रशासन कार्यालय, विदेशस्थित नेपाली नियोगबाट आवेदन दिने आवेदकहरुको राहदानी साविककै हिसाबमा दुई दिनभित्र उपलब्ध गराउने व्यवस्था मिलाइएको हो । 

‘राहदानी विभागबाट आवेदन दिन चाहने सेवाग्राहीका लागि मागअनुसार पर्याप्त राहदानी आवेदन स्लोट उपलब्ध गराउने व्यवस्था मिलाइएको र साविककै हिसाबमा सामान्यतः दुई कार्य दिनभित्र राहदानी वितरण गर्ने व्यवस्था मिलाइएको छ,’ विभागले भनेको छ । 

विभागले मंसिर १५ गतेसम्म आवेदन दिनेहरुको राहदानी छपाई गरी यही पुस १५ गतेभित्र पठाउने र त्यसपछि आवेदन दिएकाहरुको पुस १५ गतेपछि क्रमशः छपाई गर्दै पठाउने पनि जानकारी दिएको छ । 

साथै, विदेशस्थित नेपाली नियोगमा राहदानीका लागि आवेदन दिएकाहरुको राहदाबी साविककै हिसाबमा छपाई गरी पठाउने व्यवस्था मिलाएको विभागले बताएको छ ।

टिप्पणीहरू