भारतबाट वन र पाकिस्तानबाट जलवायुमन्त्री नेपाल आउँदै
काठमाडौंमा आयोजना हुन लागेको ‘सगरमाथा संवाद’मा भारतीय वनमन्त्री भुपेन्द्र यादवका अलावा पाकिस्तानबाट संघीय जलवायु परिवर्तन तथा वातावरण संयोजकमन्त्री डा. मुसादिक मलिक सहभागी हुने भएका छन् । जेठ पहिलो साता हुने संवादमा विश्वका १७५ जना पाहुना सहभागी हुँदैछन् ।
उनै मन्त्रीसँग आज इस्लामाबादस्थित नेपाली राजदूत रिता धितालले भेटवार्ता गरेकी थिइन् । मन्त्रालयमा भएको भेटमा मन्त्री मलिकले आतंकवादबाट पीडित हुँदाहुँदै पनि क्षेत्रीय शान्ति र स्थायित्वका लागि पाकिस्तान दृढ रहेको उल्लेख गरेका थिए ।
पाकिस्तान र भारतबीच भएको पछिल्लो तनावबारे चर्चा गर्दै उनले यस क्षेत्रमा आधिपत्यवादी प्रभुत्व कायम गर्ने भारतको प्रयास असफल भएको बताए । भारतका कारण दुबै पक्षले ज्यान गुमाएकोमा खेद व्यक्त गरे । युद्धविरामपछि दक्षिण एसियामा शान्ति पुनर्स्थापित भएकोमा पाकिस्तान खुशी रहेको मन्त्रीले बताए ।
प्रत्युत्तरमा राजदूत धितालले पाकिस्तानले सामना गर्नुपरेको चुनौतीपूर्ण परिस्थितिलाई स्वीकार्दै दुई आणविक हतियारधारी छिमेकीबीचको तनाव कम भएकोमा नेपालले राहत महसुस गरेको उल्लेख गरिन् । त्यस्तै विश्वव्यापी जलवायु परिवर्तन, त्यसको असर तथा रोकथाममा पाकिस्तानले निर्वाह गरेको नेतृत्व एवम् वातावरण संरक्षणमा देखाएको निरन्तर प्रयासको प्रशंसा भयो ।
राजदूतले नेपालमा हुन लागेको सगरमाथा संवादको उद्घाटन सत्रमा सहभागी हुन डा. मलिकलाई औपचारिक निमन्त्रणा हस्तान्तरण गरेको जनाईएको छ । दुवै पक्षका लागि जलवायु परिवर्तन सबैभन्दा अत्यावश्यक विश्वव्यापी चुनौतिहरूमध्ये एक रहेको र यसका प्रतिकूल प्रभावहरूलाई सम्बोधन गर्नुपर्ने भएकाले संवाद सहयोगी हुने विश्वास लिइएको छ ।
टिप्पणीहरू