प्रहरी जवानको गालामा चड्कन लगाएका इन्सपेक्टरमाथि छानबिन

प्रहरी जवानको गालामा चड्कन लगाएका इन्सपेक्टरमाथि छानबिन

ट्राफिक प्रहरीले सर्वसाधारणलाई सडकमा मरणासन्न हुनेगरी कुटेको घटना सेलाउन नपाउँदै त्यस्तै प्रकृतिको अर्को भिडियो सार्वजनिक भएको छ । यसपटक भने प्रहरीले प्रहरीलाई नै चड्कन हानेको भिडियो बाहिरिएको छ । पछिल्लो भिडियोमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) ले प्रहरी जवानलाई कुटेको देखिन्छ । 

इन्स्पेक्टरले पहिले ती जवानलाई चड्कन लगाउँछन् । त्यसपछि पाखुरा समात्दै पिट्छन् । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ता कृष्ण थापाले कानुनको रक्षकद्वारा भएको उक्त गलत कार्यको विरोध गरेका छन् । 

लेखेका छन्,‘प्रहरी जवानलाई लगाएर पैसा उठाउने अनि थाहा पाए भनेर बर्दीमा हात हाल्ने । कानुनको रक्षकले कानुन मिच्न पाउँदैन । जवान गलत भए प्रहरी ऐन नियमावलीअनुसार कारबाही गर्नुपर्छ । हात हाल्न पाइँदैन । दुवै जना पुलिसलाई कारबाही गर ।’

त्यसैगरी, विकास खतिवडाले प्रहरीहरु अराजक बन्दै गएको बताएका छन् । ‘यति अराजक पुलिस ? यो दलालहरुले देशको सुरक्षा निकायलाई पनि माष्टर साहेबहरुलाई जस्तै झोले बनाए, कुटाई खाने साथी पाखुरा त ठूलै देखिन्छ त, लडाई देऊ न गर्दन भाँच्नेगरी’,उनले भनेका छन् । 

तल्लो दर्जाका कर्मचारीहरुमाथि जहाँ पनि हेपाहा प्रवृत्ति कायम रहेको दिलबहादुर पुनको जिकिर छ । ‘राज्यमा साना पदका मान्छेहरुलाई जहाँ नि हेलाहा छ है । करोडौंको घूस खाएको देख्दैनन्, ठूलो पदको मान्छेले’,उनको भनाइ छ । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दीपक गिरीले प्रहरी कुटिएको घटना आजैको भएको बताए । काठमाडौंको नागढुंगामा भएको सो घटनामाथि छानबिन भइरहेको जानकारी दिए । भन्छन्,‘घटना आजकै हो । ट्राफिक प्रहरीले एक प्रहरीलाई कुटेका रहेछन् । उनीहरुको पहिचान खुलिसकेको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।’

सर्वसाधारणलाई कुटेको भिडियो सार्वजनिक भएपछि केही दिनअघि मात्रै चार जना ट्राफिक प्रहरी कारबाहीमा परेका थिए ।

 

 

टिप्पणीहरू