हितेन्द्रको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको झैँ उखान
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई नयाँ दुलहीसँग दाँजेका छन् । केही दिनयता लगातार बिजुली निभ्न थालेपछि उनले आज आकस्मिक पत्रकार सम्मेलन गर्दै आफ्ना दलिल पेश गरेका छन् ।
नयाँ दुलहीलाई सामान्य खोकी लाग्दासमेत चासो दिएझैँ आफ्ना हरेक गतिविधि निगरानीमा परेको अनुभव सुनाए । ‘नयाँ दुलही आको छ, त्यसले के गर्छे, कसो गर्छे भनेर हरेक कुरा... त्यो त सेन्सेटिभ कुरा हो नि’, शाक्यले भने, ‘त्यसले खोक्छे कि, केही गर्छे कि ...त्यो अहिले मलाई भएको छ ।’
प्राधिकरणको नाफाभन्दा पनि जनताको सेवालाई प्राथमिकतामा राखेर काम गरिरहेको पनि उनले दाबी गरेका छन् । कुलमान घिसिङ प्रमुख हुँदा उद्योगधन्दामा हुने गरेको लोडसेडिङ आफूले घटाउँदै लगेको उनको जिकिर छ ।
‘उद्योग धन्दामा हुँदै आएको लोडसेडिङ चाहिँ घटाएका छौँ, भारतबाट महंगोमा बिजुली किन्नु परे पनि त्यो हटाउँछौ, भारु १० को दरमा अधिकतम जति किन्न सकिन्छ, त्यो किन्छौँ’, उनले थपे, ‘किनकि, घाटा लाग्छ कि भनेर हामी रोकिन पाउदैनौँ । हामी संरकारी अंग हौँ, नाफा हाम्रो उद्देश्य होइन । नाफाकै पछाडि लागेर लोडसेडिङ गर्नु हुँदैन ।’
विद्युत प्रशारण सिस्टमलाई बलियो बनाउन केही नयाँ योजनासहित काम थालेको पनि शाक्यले जानकारी गराए । ‘तर त्यो के काम हो, अहिले भन्दिनँ । हामीले छलफल गरेरै काम गरिरहेका छौ । यो फेरि आजको भोलि हुने चाहीँ होइन, एक दुई वर्ष त समय लागिहाल्छ’, उनले सुनाए ।
पछिल्लो समय झ्याप्प झ्याप्प लाइन गइरहेको र हिजो साँझ झण्डै एक घण्टा विद्युत अवरुद्ध भएको पृष्ठभूमिमा शाक्यले त्यसको कारणबारे जानकारी दिन पत्रकार सम्मेलन गरेका हुन् । हिजो साँझ ढल्केवर–वसन्तपुर र नवरपुर हुँदै पश्चिम जाने प्रशारण लाइनमा अत्यधिक हावाहुरीको कारण रुख ढलेको कारण विद्युत अवरुद्ध भएको पनि उनले जानकारी गराए ।
टिप्पणीहरू