यो लडाइँले के गुमायो, के सिकायो ?

यो लडाइँले के गुमायो, के सिकायो ?

आततायी पहलगाम नरसंहारपछि एकाएक ‘अपरेसन सिन्दुर’ अन्तर्गत पाकिस्तानमाथि आक्रामक देखिएको छिमेकी भारत एकाएक युद्धविरामतर्फ अघि सरेको छ । 

दक्षिण एशियाको आणविक शक्ति सम्पन्न, सार्कका दुई शक्तिशाली राष्ट्र भारत र पाकिस्तानविच युद्ध हुँदा यस क्षेत्रको राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक क्षेत्र मात्र नभई पर्यावरण र वातावरणमा समेत गहिरो असर पुग्ने पक्का छ । धनजनको बेहिसाब क्षति हुँदै छ । 

यो युद्धविरामबाट एउटा कुरा स्पष्ट भएको छ, अमेरिकाको कुरा भारतले मान्दो रहेछ । भलै आफ्ना सहयोगी छिमेकी र सार्कका राष्ट्रहरू नेपाल, बंगलादेश, मित्र राष्ट्र साउदी अरबका विदेशमन्त्री आएर अनुरोध गर्दा पनि युद्ध रोक्ने पक्षमा देखिएको थिएन । तर अमेरिकन विदेश मन्त्री मार्को रुबियोसँगको कुराकानीपछि भने युद्ध रोक्न तयार भए । यसका पछि भारतसँगको व्यापार सम्बन्ध मुख्य कारण देखिन्छ । युद्ध लम्बिँदै जाँदा आणविक हतियार प्रयोग हुने सम्भावनालाई पनि नकार्न सकिँदैनथ्यो । यसले वैश्विक समुदाय नै संकटमा पर्ने खतरा थियो । जे होस् युद्ध रोकिएको छ, यो खबरले सार्क मुलुकमात्र नभएर सारा विश्वमा शान्तिको सकारात्मक सन्देश प्रवाह गरेको छ । 

अर्कोतर्फ काश्मिरको विषय कसैले भन्ने वा चाहने बित्तिकै समाधान हुने होइन । सन् १९४७ वा ४९ देखि नै यो विवाद रहँदै आएको छ । काश्मिर संयुक्त राष्ट्रसंघको मुद्दा हो, यसमा वैश्विक समुदायको प्रतिबद्धता पनि छ । युद्धलाई अघि बढाउँदै लैजाने हो भने दुवैले ठूलो क्षति व्यहोर्न तयार हुनुपर्छ । स्पष्ट छ, लाइन अफ कन्ट्रोलको ४ सय किलोमीटरभित्र छिरेर पहलगाममा पाकिस्तानी स्टेट मेसिनरीले सोझै हमला गरेको होइन, मुम्बई हमलाका प्रमुख अभियुक्त हाफिज सईद र सन् १९९९ को काठमाडौँ–दिल्ली आइसी ८१४ हवाईजहाज अपहरणजस्ता २०–२५ वर्षअघिका छिमेकीमाथि हमला गर्नु न्यायोचित हुन सक्दैन ।

हो, पहलगाममा नेपालीसहित २६ पर्यटकको ज्यान जाने गरी हमला गर्नेहरू पक्कै पनि आतंकवादी हुन् । भारतीय संसद भवन र मुम्बईको ताज होटलमा भएको आक्रमणमा पाकिस्तानीहरूको सोझैं हात देखिएको थियो । तर, पहलगाममा भारतले तिनको प्रत्यक्ष संलग्नता देखाउन सकेको छैन । पहलगाम घटनापछि पक्राउ परेका सबै भारतीय नै हुन् । इतिहासमा भारतले पहिलोपल्ट छोटो समयमा धेरै क्षति व्यहोरेको घटनाका रूपमा अपरेसन सिन्दुरलाई लिनुपर्ने अवस्था छ । वायु क्षेत्र अर्थात् आकाशमा भारतको शक्ति कमजोर र फ्रान्समा निर्मित राफेल, सोभियत संघकालीन मिग तथा सोयुजहरू पनि फेल खाए । इजोलमा निर्मित अत्याधुनिक ड्रोनले पनि मात खाए । हो, भारतलाई आतंकवादले गाँजेको छ ।

नक्सलाइटदेखि मुस्लिमलगायत पूर्वतिरका अनेकन आतंककारी घटनाको सिकार भारत भएको छ, विदेशमा बसेर पनि उत्तिकै आतंक फैलाइरहेका छन् । यी कुरा सत्य हुन्, निन्दनीय छन् । आतंकवादविरुद्ध भारतीय सरकार र जनतालाई नेपाली जनताको सदैव साथ, सहयोग र समर्थन रहँदै आएको छ र यो रहनु पनि पर्छ । तर भारत स्वयमले पनि विगतबाट केही कुरा सिक्ने तत्परता देखाउन आवश्यक छ । जस्तैः श्रीलंकामा प्रभाकरण नेतृत्वको तमिल टाइगर्स अर्थात् लिट्टेलाई कसले जन्मायो, कसले हातहतियार, गोलाबारुद र तालिम दियो ? नेपालका माओवादीलाई कसले संरक्षण दियो ? ज्वाला र गोइत कहाँ छन् ? बलुचिस्तानलाई बल दिएर पाकिस्तानलाई कसले हाराबारा खेलाउँदै छ ? 

भारतीय हुन् कि नेपाली, पाकिस्तानी हुन् कि बंगलादेशी कुनै पनि देशका नागरिक अनाहकमा मारिनु हुँदैन । निर्दोषलाई मार्नु आतंकवाद खत्तम गर्नु नभएर बढावा दिनु मात्रै हुन जान्छ । 

यो लडाइँमा भारत र पाकिस्तान प्रत्यक्ष प्रभावित भए पनि यसको असर  बंगलादेश, नेपाल र श्रीलंकालगायत छिमेकी देशमा पनि देखा पर्न थालेको थियो । नेपालले आफ्नो सीमा क्षेत्रमा कडिकडाउ गर्नु यसैको नतिजा हो । पाकिस्तानले पनि वैश्विक समुदायद्वारा आतंककारीको रूपमा पहिचान गरिएका दाउद इब्राहिम, लस्कर ए तएबा, मौलाना मसुद अजहर, जैस ए मोहम्मदजस्ता समूहलाई शरण दिनु र  समर्थन गर्नु हुँदैन ।

हो, काश्मिर संयुक्त राष्ट्र संघमा दर्ज भएको प्रकरण हो । यो प्रकरणमा विश्व समुदायको चासो देखिन्छ । पाकिस्तान त मुसलमानहरूको एकलौटी बाहुल्यता भएको देश हो । भारतको फरक अवस्था छ । उसको संवेदनशीलताप्रति अरु पनि सजग हुनै पर्छ । भारत विभिन्न जातजाति, भाषाभाषी र धार्मिक समुदाय, राष्ट्रियता अनि अलग अलग राज्यहरूको जोड भई संघको रूपमा बनेको मुलुक हो । मराठा, पञ्जावी, बिहारी, मुस्लिम, पूर्वोतर भागका नागा, खासी, बंगला, दक्षिणभारतका तामिलजस्ता करिब तीन सय हाराहारी राज्यको साझा फूलबारी हो । यस्तो देशको नेपालसँग खुला सिमाना छ । खुला सिमानाको कारण कहिले नक्कली नोट छापेर, कहिले आतंककारी हमला गरी उसलाई समस्यामा पार्ने गरिएको पनि देखिएकै छ । 

यो घटनाबाट भारतीय मिडियाले सबैभन्दा बढी शिक्षा लिनुपर्ने हो । त्यहाँका ९० प्रतिशतभन्दा बढी मिडिया जनतालाई सुसूचित गर्नबाट चुकेका छन् । देशलाई कुसुचित गरेका छन् । राष्ट्र र जनतालाई उत्तेजित बनाउँदै भिडन्तमा ओराल्ने चरित्रलाई भारतीय मिडियाले सुधार्ने कि अझै नांगिँदै जाने ? एक अर्ब ४० करोडभन्दा बढी भारतीयलाई दिग्भ्रमित बनाउने काम मिडियाले छोड्ने कि नछोड्ने ? क्षेत्रीय शान्ति स्थापनामा भारत र पाकिस्तान दुवैको महत्वपूर्ण भूमिकालाई हामीले कहिले पनि नकारेका छैनौं । हाम्रो कामना छ, यी देशले युद्धलाई होइन यस्तै शान्तिलाई सधैँ अँगालुन् । विकास र सम्वृद्धिका लागि सार्कको अस्तित्वरक्षार्थ महत्वपूर्ण भूमिका निर्वाह गरुन् ।
 

टिप्पणीहरू