हाकिमको राजीनामा माग्दै खानेपानीका कर्मचारी आन्दोलित
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कर्मचारीहरु आन्दोलित भएका छन् । लिमिटेडमा क्रियाशील ट्रेड युनियनहरु कार्यकारी निर्देशक अशोककुमार पौडेलको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका हुन् ।
केयुकेएलसम्बध्द पाँच आधिकारिक ट्रेड युनियन कर्मचारी संघ,लोकतान्त्रिक कर्मचारी संघ,एकीकृत स्वतन्त्र कर्मचारी युनियन,कर्मचारी संगठन र कर्मचारी कल्याण परिषद आन्दोलिन भएका हुन् । उनीहरुले प्रमुख कार्यकारी अधिकृत पौडेलको कार्यकक्ष घेराउ गरेको जनाइएको छ ।
खानेपानी वितरण व्यवस्थापन क्षेत्रको ज्ञान र अनुभव नभएका उनको पछिल्लो १४ महिने कार्यकाल निकै निराशाजनक देखिएकोले राजीनामा दिनुपर्ने उनीहरुको माग छ । कार्यकारी निर्देशक पौडेल यसअघि भएका सहमति कार्यान्वयन, कर्मचारीको पेशागत सुरक्षा र वृत्ति विकास,गत वर्ष बाढीका कारण क्षतिग्रस्त भएको खानेपानी संरचना पुनःनिर्माणजस्ता काममा असफल भएकोसमेत कर्मचारीहरुको आरोप छ ।
यसअघि वैशाख ३१ गतेसम्म पदत्याग गर्न माग गर्दै उनीहरुले गत वैशाख १५ गते ज्ञापनपत्रसमेत बुझाएका थिए । तर, पौडेलले राजीनामा नदिएपछि आन्दोलनमा उत्रिनुपरेको उनीहरुको भनाइ छ ।
टिप्पणीहरू