अपाङ्गता भएका व्यक्तिलाई अब एनसेलको डेटामा आधा छुट
अपाङ्गता भएका व्यक्तिहरुले अब एनसेलको डेटामा आधा प्रतिशतले छुट पाउने भएका छन् । अपाङ्गता भएका व्यक्तिको डिजिटल समावेशीकरणलाई प्रवर्द्धन गर्ने प्रतिबद्धताबमोजिम एनसेलले जीएसएमएसँग सहकार्य गरेसँगै उक्त सुविधा उपलब्ध हुन लागेको हो ।
जीएसएमए विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन हो । अपाङ्गता भएका व्यक्तिको लागि डिजिटल समावेशीकरण प्रवर्द्धन गर्न जीएसएमएले जारी गरेका सिद्धान्तमा एनसेल हस्ताक्षर गरेको जनाएको छ । ती सिद्धान्तले मोबाइल सेवामा अपाङ्गता भएका व्यक्तिको पहुँच खाडल हटाउन विश्वभरका सेवा प्रदायकलाई प्रेरणा र मार्गनिर्देशन प्रदान गर्दछ ।
जीएसएमएसँगको यो सहकार्यले सबैमाझ मोबाइल प्रविधि र डिजिटल सेवाको पहुँच र यसका अवसरबाट पाइने लाभ समान रुपमा सुनिश्चित हुने एनसेलको विश्वास छ । यी सिद्धान्तमा हस्ताक्षर गर्ने एनसेल पहिलो नेपाली मोबाइल सेवा प्रदायक कम्पनीसमेत हो ।
सिद्धान्तअन्तर्गत अपाङ्गता भएका व्यक्तिका लागि सधैं अन योजनामार्फत डेटामा ५० प्रतिशत छुट, ग्राहकमैत्री सेवा केन्द्र, पूर्ण रूपमा अपाङ्गतामैत्री कार्यालय संरचना, नेपालका पारा खेलाडीहरूलाई सशक्त बनाउने सहकार्यलगायत पहल समावेश रहेको एनसेलले जनाएको छ । एनसेल फान्डेसन एण्ड स्पेशल प्रोजेक्ट डाइरेक्टर विशाखा लक्ष्मी खड्काले जीएसएमएसँग भएको सहकार्यले नेपालको डिजिटल भविष्यमा कोही पनि पछि नपर्ने बताइन् ।
उनले भनिन्, ‘हामीले केबल सम्पर्क स्थापित गर्ने कनेक्टिभिटी सेवा मात्र उपलब्ध गराइरहेका छैनौं, हामी मानिसहरुलाई सशक्त बनाइरहेका छौं । जीएसएमएसँग अपाङ्गता भएका व्यक्तिको डिजिटल समावेशीकरण प्रवद्र्धन गर्ने यी सिद्धान्तहरूमार्फत हामी नेपालको डिजिटल भविष्यमा कोही पनि पछि नपरोस् भन्ने सुनिश्चित गर्न महत्वपूर्ण कदम अगाडि बढिइरहेका छौं ।’ हातेमालो गर्दै डिजिटल दुनियाँमा सफलसँगै समावेशी र सशक्त समाज निर्माण गर्ने एनसेलको लक्ष्य रहेको उनको भनाइ छ ।
टिप्पणीहरू