सीप मेलामा तीन दर्जन तालिम

सीप मेलामा तीन दर्जन तालिम

पर्सिदेखि काठमाडौंको टुँडिखेलमा हुन लागेको सीप मेलामा विभिन्न दश क्षेत्रका तालिम सञ्चालन गर्न लागिएको छ । काठमाडौं महानगरपालिकाको आयोजनामा हुन गइरहेको उक्त सीप मेलामा १० क्षेत्रका तीन दर्जन अर्थात् ३४ पेशाका तालिम प्रदान गरिने भएको हो । 

सीप मेला कार्यान्वयन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झाका अनुसार सरकारी निकाय, गैरसरकारी संघसंस्था, निजी क्षेत्र तथा दातृ निकायसँग सहकार्य गरेर निःशुल्क रुपमा तालिम प्रदान गरिनेछ । 

यो वर्ष दुई हजार ८२ जनालाई तालिम दिने महानगरको लक्ष्य छ । महानगरभित्र स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने, ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति र यसअघि सडक पेटीमा व्यापार व्यवसाय गरिरहेका व्यक्तिहरुलाई तालिमको प्राथमिकतामा राखिने जनाइएको छ ।

यस्तै, १८ वर्षदेखि ५८ वर्ष उमेर समूहका नागरिकलाई तालिममा सहभागी गराइनेछ । महानगरका अनुसार दश वटा क्षेत्रका ३४ विधामा प्रदान गरिने तालिमको सञ्चालन अवधि ३० दिनको हुनेछ । दैनिक ६ घण्टा कक्षा सञ्चालन गरेर एक सय घण्टा तालिम दिइनेछ । 

तालिमअन्तर्गत आईसीटी क्षेत्रमा डिजिटल मार्केटिङ्ग, ड्रोन, रोवोटिक्स, फाइबर, अव्टिक्स टेक्निसियन, बौद्धिक कृतिमता (एआई) यसको प्रयोग (एआइ एण्ड इट्स एप्लिकेसन) गरी पाँच विधामा हुने महानगरले बताएको छ । 

यस्तै, स्पेसल एविलिटी सपोर्ट स्किल (साउन सिन्ड्रोम, अटिजम) मा हाउस किपिङ् (पिडब्लुडी) र केयर सर्भिस गरी दुईटा विधाका तालिम चल्नेछन् । इलेक्ट्रिक्समा ल्यापटप रिपेयर टेक्निसियन, एसी एण्ड रेफ्रिजेरेटर, सिसिटिभी रिपेयरिङ्, मोबाइल रिपेयरिङ् गरी चार विधाका तालिम हुनेछन् । 
गार्मेन्ट्समा गार्मेन्ट फेब्रिकेटर र बेसिक फेसन डिजाइनिङ् गरी दुई, कन्स्ट्रक्सनमा इलेक्ट्रिसियन, प्लम्बिङ्, मेसन, वेल्डिङ् र कार्पेन्ट्री गरी पाँच, हस्पिटालिटीमा बारिस्ता, वेटर, फास्ट फुड र वेकरी गरी चार विधामा तालिम हुने महानगरको भनाइ छ । 

अटोमोबाइल्समा इलेक्ट्रिक भेहिकल (इभी) मेन्टिनेन्स, हलुका सवारी साधन उपकरण मर्मत (लाइट भेहिकल मेसिन), विद्युतीय र इन्धनबाट चल्ने मोटरसाइकल र स्कुटर मर्मत गरी तीन विधामा तालिम सञ्चालन गरिँदैछ । आर्ट एण्ड स्कप्चरमा थाङ्का, सेरामिक्स (टेराकोटा) गरी दुई विधासँगै ज्योतिष र पुरोहितको पनि तालिम दिइनेछ । 

यस्तै, कुषिमा फूलको सजावट (फ्लावर डेकोरेसन) र सेवातर्फ सौन्दर्यकर्मी, मेकअप एण्ड हेयर, नेल टेक्निसियन, कपाल काट्ने (वार्वर) र स्टक मार्केटसम्बन्धी तालिम हुनेछ । महानगरले तालिममा सहभागी हुन चाहनेलाई आवेदन पेश गर्न आह्वान गरेको छ । पर्सिसम्म आवेदन बुझाउन सकिनेछ ।

टिप्पणीहरू