नयाँ प्रविधिको असर टेलिकमको आम्दानीमा
नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को नाफा घटेको छ । अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासिक (चैत मसान्त) सम्म टेलिकमको नाफा ४८ दशमलब ६७ प्रतिशतले घटेको बताइन्छ ।
गत आव २०८०–८१ को तेस्रो त्रैमासिकसम्म कम्पनीले पाँच अर्ब ५३ करोड ७५ लाख ६२ हजार रुपैयाँ नाफा कमाएको थियो । यो वर्षको सोही अवधिमा दुई अर्ब ८४ करोड २२ लाख ८९ हजार रुपैयाँ मात्र नाफा भएको जनाइएको छ ।
यो गत वर्षको सोही अवधिको तुलनामा दुई अर्ब ६९ करोड ५२ लाख ७३ हजार रुपैयाँले कमी हो । कम्पनीले नाफा घट्नुको केही कारण पनि औंल्याएको छ । ओटिटि सेवाहरुको व्यापक प्रयोगका कारण विदेशबाट हुने आगमन कलको परिमाणमा असर पर्दा अन्तरआबद्धता आयमा साढे ५३ करोडले कमी आएको छ ।
यस्तै, गत वर्ष जीएसएम अनुमति पत्र नवीकरणको लागि २० अर्ब एकमुष्ठ भुक्तानी गर्नुपरेको, कर्मचारीहरुको निवृत्तिभरण व्यवस्थाको लागि चार अर्ब ९७ करोड, योगदानमा आधारिक पेन्सन योजनामा साँवा १३ अर्ब थप रकम छुट्याउनु परेकोले पनि नाफा घटेको जनाइएको छ ।
टेलिकमका अनुसार इन्टरनेट सेवाको व्यापक पहुँचले मोबाइल डाटा प्रयोगमा उल्लेख्नीय कमी ल्याउनुका साथै सेवाको दररेट निर्धारणसम्बन्धी नीति तथा नियमहरु परिवर्तन हुँदा राजस्वमा प्रतिकूल असर पर्दा मुनाफामा कमी आएको हो । नाफासँगै टेलिकमको कुल सञ्चालन आय तथा कुल आयमा पनि कमी आएको छ ।
गत वर्षको तेस्रो त्रैमासिकसम्म कुल सञ्चालन आय २५ अर्ब ४८ करोड १२ लाख ८९ हजार रुपैयाँ रहेकोमा यो वर्षको सोही अवधिमा २५ अर्ब ३१ करोड ७६ लाख १३ हजार रहँदा १६ करोड ३६ लाख ७५ हजार रुपैयाँले कमी भएको टेलिकमको भनाइ छ । यस्तै, कुल आय चैत मसान्तसम्म २८ अर्ब ४३ करोड १५ लाख ६६ हजार रुपैयाँ रहेको छ । जबकी गत वर्षको यही अवधिमा ३१ अर्ब २० करोड ४८ लाख ५८ हजार रुपैयाँ थियो ।
टिप्पणीहरू