‘काँग्रेसलाई गनगन गर्ने सुविधा छैन’

‘काँग्रेसलाई गनगन गर्ने सुविधा छैन’

सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीसँग सबै हुँदाहुँदै पनि कार्यकर्ता खुशी बन्न नसकिरहेको बताएका छन् । एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले हुनेवाला प्रधानमन्त्री र गभर्नर आफ्नै पार्टीको भए पनि कार्यकर्तामा असन्तुष्टी नथामिएको उल्लेख गरे ।

सरकारमा हुँदा पनि कार्यकर्तालाई खुशी बनाउन नसकिने कस्तो काम गरिरहेका छौँ  ? आफैंलाई प्रश्न गरे । ‘अहिले हामी सबैतिरको सरकारमा छौं, पालिकामा सरकार, वडामा सरकार, प्रदेशमा सरकार, संघमा सरकार, हामी नभएको ठाउँ नै छैन’, उनले भने, ‘अहिलेको प्रधानमन्त्री पनि हामीले नै बनाएको हो, हुनेवाला प्रधानमन्त्री पनि हाम्रै हो । अब गभर्नर पनि हाम्रो । यस्तो बेला हामी त खुशी हुनुपर्ने हो नि, तर सबै भएको बेला पनि नेपाली काँग्रेस भित्रैबाट खुशी हुन सकिरहेको छैन ।’

कांग्रेसलाई अब वैज्ञानिक ढंगबाट पुनःसंरचना गरेर अघि लैजानुपर्ने उनको तर्क छ । पूर्वमन्त्रीसमेत रहेका थापाले थपे,‘समाजमा उकुसमुकुस छ । युवाहरु विदेश पलायन भइरहेका छन्, नेपाल बन्दैन भन्ने परेर बाहिर जाने परिस्थिति बनेको छ । त्यो डरलाग्दो छ । यो परिस्थितिबाट देशलाई बाहिर निकाल्ने मुख्य जिम्मेवारी हाम्रो हो, नेपाली काँग्रेसलाई गनगन मात्र गर्ने सुविधा छैन ।’

स्मरण रहोस्, मुलुकको बजेट र नीति तथा कार्यक्रम निर्माणको लागि महत्वपूर्ण मानिने संसदको बर्खे अधिवेशन धमाधम चलिरहँदा महामन्त्री थापा भने संसदमा देखिएका छैनन् ।

टिप्पणीहरू