तामझाममा अधिकांश खुशी

तामझाममा अधिकांश खुशी

हिजो दिउँसो मोरङको विराटनगर महानगरपालिका–१६, रानीस्थित बन्द जुटमिलको मैदानमा स्थानीयको भीड लाग्यो । उत्सुकता जनाउँदै उनीहरु ‘होइन यहाँ के रमिता हुन लागेको हो आज ?’, भन्दै एकअर्कालाई प्रश्न गर्दै थिए । केही क्षणपछि स्काभेटर, एम्बुलेन्स, सेना र प्रहरीको गाडी, दमकल साइरन बजाउँदै कार्यक्रमस्थल आइपुग्यो । मैदानमा ससाना ईँटा, फुसको कच्ची घर बनाएर बसिरहेकाहरुले ठूलै केही हुन लागेको अनुमान लगाए । 

दिउँसो ४ बजेसम्म पालैपालोसँग कोशी प्रदेशका मन्त्री, सचिव, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृतहरुको कार्यक्रमस्थलमा सवारी भयो । अन्त्यमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको आगमनपछि कार्यक्रम अगाडि बढाइयो । के–के न हुन लाग्यो भनेर घण्टौं कुरेर बसेका सहभागीहरु कार्यक्रमबारे जानकारी पाएपछि अचम्ममा परे । विपद् आउँदा कसरी मानिसको उद्दार गर्ने भनेर सिकाएको तालिमको ‘डेमोन्स्ट्रेसन’ का लागि गरिएको भव्य तामझाम देखेर स्थानीय आश्चर्यचकित बनेका हुन् ।

 विपदमा उद्धार कार्यलाई प्रभावकारी बनाउन प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालयले सेनाको पूर्वी पृतनासँग सहकार्य गरेर सबै निकायका सुरक्षाकर्मी, रेडक्रसकर्मी, स्काउट प्रतिनिधिहरुलाई दुई दिन तालिम दिएको थियो । स्थानीय मुनालपथस्थित होटल रुबिजमा एकीकृत कृत्रिम घटना अभ्यास (सेमुलेसन) तालिम दिइएको थियो । मुख्यमन्त्री कार्कीले उद्घाटन गरेको डेमो हेर्न आन्तरिक मामिलामन्त्री रेवतीरमण भण्डारी, सचिव, सुरक्षा निकाय र राष्ट्रिय अनुसन्धान विभागका जिल्ला र प्रदेश तहका अधिकारीहरु हिजो दिउँसो त्यहाँ पुगेका थिए । 

कार्यक्रममा विपद् उद्धारका निम्ति उल्लेखनीय योगदान पुर्याउने अधिकृतहरुलाई उनले प्रशंसा पत्र वितरण गरे । सामान्य कार्यक्रमका लागि अनावश्यक खर्च गरिएको भन्दै स्थानीयले भने आपत्ति जनाइरहेका थिए । ‘यति कामका लागि यत्रो खर्च गरेको पो रहेछ ! तालिम त सुरक्षाकर्मीले आफ्नै क्याम्पमा पनि गरिरहेका हुन्छन् । यत्रा गाडी र कार्यक्रमको खर्च हामी जनताले तिरेकै करबाट भरपाई गर्ने त होला नि’,एक स्थानीयले भने ।

टिप्पणीहरू