गोलन्जोरमा गोलमाल, बगरमा बन्ला त ताल ?
-फणीन्द्र ज्वाला
सिन्धुलीको गोलन्जोर गाउँपालिकाले नदीजन्य पदार्थ ढुङ्गा,बालुवा,गिट्टी आदि प्रयोग गरेबापत कसैलाई काखा र कसैलाई पाखा गरेको आरोप छ । पालिकाले स्थानीयसँग प्रति ट्याक्टर ५०० रुपैयाँ कर लिने गरेको छ । तर ठेकेदारलाई ठूलो परिमाणमा नदीजन्य पदार्थ प्रयोग गर्दा कर नलिइएको तथ्य फेला परेको छ । ‘स्थानीय नागरिकले व्यक्तिगत उपभोगका लागि एक ट्रक बालुवा–झिक्दा ५०० रुपैयाँको रसिद काट्नुपर्छ,नत्र प्रहरीले गाडी नियन्त्रणमा लिन्छ’, एक स्थानीयले भने, ‘तर गत असोजमा क्षति पुगेको मध्यपहाडी राजमार्ग पुनर्निर्माणका लागि ठेकेदारले निःशुल्क ठूलो मात्रामा गिट्टी–बालुवा उत्खनन गरिरहेका छन्,उनीहरुलाई राजनीतिक संरक्षण छ ।’

यहाँको सुनकोशी नदीमा दैनिक दर्जनौँ ब्रेकर,एक्साभेटर र ट्रक नदीजन्य पदार्थ उत्खननमा खटिएको देखिन्छ । जसका कारण कोशी नदीमा ठूला र गहिरा खाडल बनेका छन् । एकातिर स्थानीयसँग कर असुल्ने पालिका, अर्कोतिर ठेकेदारलाई भने छुट दिने गरिएको छ । नियम कानुन सबैलाई उही लागु भएको छैन । गोलन्जोर गाउँपालिकाले नदीजन्य पदार्थको ठेक्का लगाएको छैन । ठेक्का नलगाई मेसिन प्रयोग गरेर उत्खनन गर्न मिल्दैन । स्थानीय प्रयोजनमा मेसिन प्रयोग गरेर उत्खनन गर्न रोक लगाइए पनि जनप्रतिनिधि र प्रहरी दिनहुँ ओहोरदोहोर गर्ने कोशी किनारमा खुलेआम अवैध उत्खनन हुँदा पनि सरोकारवाला निकायहरु आँखा चिम्लिएर,कानमा तेल हालेर मौन बस्नु झन रहस्यमय बनेको छ । करको रसिद नहुँदा एक ट्याक्टर बालुवा समात्ने प्रहरी सयौँ टिप अवैध उत्खननमा बेखबरजस्तो देखिएको छ । गोलन्जोरमा स्थानीयलाई करले कसेको छ भने ठेकेदारलाई छुटको रजाइँ छ ।
स्थानीयहरुका अनुसार, ठेकेदारको उत्खननले नदीमा ठूला खाडल बनेका छन् । जसका कारण गाईवस्तु,गोठाला र बालबालिका दुर्घटनाको उच्च जोखिममा परेका छन् । अबैध रुपमा गिट्टी–बालुवा निकालेर ठूला दह बनेको देखिँदा नागरिकले सर्लाहीको भरत तालजस्तै, गोलान्जोरमा पनि पालिका अध्यक्ष शंकरराज बराल र उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने (पुकार) को नाममा ताल कहिले बनाउने भन्ने व्यंग्यात्मक प्रश्न सोध्न थालेका छन् ।
टिप्पणीहरू