गृहमन्त्रीलाई बर्खास्त गर्न माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकलाई बर्खास्त गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीकहाँ उजुरी पुगेको छ । जनसरोकार र सार्वजनिक चासोका विषयमा मुद्दा-मामिला गर्दै आएका सिन्धुलीका युवराज सफलले आज उजुरी दर्ता गराएका हुन् ।
अध्यागमनका कर्मचारीले दलालसँगको मिलेमत्तोमा भिजिट भिसामा जानेहरुसँग मोटो रकम उठाएको यो प्रकरणमा गृहमन्त्री लेखक, गृहसचिव गोकर्णमणि दुवाडीलगायतको नाम जोडिएकाले तत्काल निलम्बन गरी कानुनी कारबाही प्रक्रिया अघि बढाउन उजुरकर्ताले प्रमको ध्यानाकर्षण गराएका छन् ।
प्रधानमन्त्रीको निजी सचिवालयमा दर्ता भएको (८४३६ दर्ता नम्बर) उजुरीमा लेखिएको छ, ......अत: प्रकाशित समाचारप्रति गृहमन्त्री, गृहसचिवलगायतले कुनै प्रतिक्रिया नदिनु भनेको आरोप स्वीकार गर्नु हो ।'
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीहरूले घुस लिएर भिजिट भिसामा खाडी र युरोपका विभिन्न देशमा पठाउने गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत अनुसन्धान थालेसँगै यस प्रकरणमा नयाँ नयाँ तथ्य सार्वजनिक भैरहेको छ । प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईको प्रत्यक्ष संलग्नतामा मानव तस्करी भएको भन्दै उनको मोबाइल नियन्त्रणमा लिएर अख्तियारले छानविन गरिरहँदा गृहमन्त्री र गृह सचिव शंकाको घेरामा परेका हुन् ।
त्यस्तै, अध्यागमन अधिकृत खगेन्द्र सुवेदी, बालकृष्ण पौडेल, विमल पौडेल, गृहमन्त्री लेखकका स्वकीय सचिव जनक भट्ट, सचिवालयमा रहेका गणेश ओझालगायतको प्रत्यक्ष संलग्नता रहेको दावी गरिएको छ । उनीहरुले आपसी मिलेमतोमा भिजिट भिसामा खाडी मुलुक जाने नेपालीसँग जनही ५० हजार र युरोपलगायतका अन्य देश जानेसँग ३ लाखसम्म असुली गर्ने गरेको अख्तियारको दाबी छ ।
उठेको रकमबाट दैनिक २ लाख गृहमन्त्री र अन्य पदाधिकारीलाई समेत भाग लगाउने गरेको समाचार सार्वजनिक भैरहेका छन् । आफ्नै क्याविनेटका शक्तिशाली सदस्यमाथि यस्तो गम्भीर आरोप लागेपछि 'भ्रष्टाचारीको अनुहार पनि हेर्दिन' भन्ने प्रधानमन्त्री ओलीले युवराजको उजुरीलाई के गर्लान् ? उनलाई बर्खास्त गरेर कानुनी प्रक्रियालाई सहज बनाइदेलान् कि मिलेमतोमा छोपछाप पार्लान् ? भन्ने प्रश्न अब खडा भएको छ ।
टिप्पणीहरू