घर घरमा ‘ढुकुर जोडी’ खोज्दै नगरपालिका

घर घरमा ‘ढुकुर जोडी’ खोज्दै नगरपालिका

घरेलु हिंसा र श्रीमान–श्रीमतीबीच हुने झैझगडा न्यूनीकरणका लागि मोरङको सुन्दरहरैंचा नगरपालिकाले नयाँ उपाय अवलम्बन गर्न लागेको छ । ‘ढुकुर जोडी’ प्रतियोगिताको आयोजना गरेर घर घरको पारिवारिक वातावरणलाई सहज बनाउन भूमिका खेल्ने बताइएको छ ।

न्यायिक समितिमा घरेलु हिंसाको व्यापक उजुरी परेपछि नगरपालिकाले त्यसलाई कम गर्न प्रतियोगिता आयोजना गर्न लागेको हो । उत्कृष्ट जोडीलाई पुरस्कृत गरिने नगरपालिकाले जनाएको छ । 

प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेका अनुसार नगरपालिकाको न्यायिक समितिमा पतिपत्नीबीच बेमेल भएको, खानलाउन नदिएको, अंशबाट बेदख्खल गरेको, लैङ्गिक हिंसा गर्ने गरेको उजुरी आउने क्रम बढेको छ । पंक्षी ढुकुरजस्तै एकअर्कासँग हार्दिक सम्बन्ध बनाएर बस्ने जोडीलाई उत्कृष्ट जोडी घोषित गरिने उनले जानकारी दिए । 

‘पछिल्लो समय न्यायिक समितिमा सबैभन्दा धेरै पतिपत्नीको झगडाको उजुरी आइरहेको छ । त्यसलाई कम गर्नका लागि यो योजना ल्याएका हौं । उत्कृष्टमध्येबाट छनौट गरेर पुरस्कार दिन्छौं’,उनले भने । नगरपालिकाले प्रतियोगितामा सहभागी हुन न्यूनतम शर्त पूरा गरी आवेदन दिन दाम्पत्यहरुलाई आह्वान गरेको छ । 

प्रकाशित सूचनाअनुसार भाग लिने जोडीको वैवाहिक सम्बन्ध १० वर्ष पूरा भएको हुनुपर्ने, छोराछोरीको जन्मदर्ता र उमेर पुगेको भए नागरिकता बनाएको, सन्तानलाई अनिवार्य विद्यालय भर्ना गरिएको हुनुपर्ने छ । 

त्यसैगरी, बुवाआमासँगै संयुक्त परिवारमा बसेको, बुवाआमाको राम्रोसँग हेरचाह गरेको, न्यायिक समितिमा दम्पत्तिबारे कुनै उजुरी नपरेको, नेपालमै बसेको, वैदेशिक रोजगारीमा गएकाको हकमा दुई वर्षभन्दा बढी उता नबसेको हुनुपर्ने प्रावधान छ । उत्कृष्ट ढुकुर जोडीलाई नगद र प्रमाणपत्रसहित सम्मान गरिने जनाइएको छ ।

टिप्पणीहरू